fbpx
corona information

गृहपृष्ठ नवनिर्वाचित सांसद सिटौलाले लिइन् पद तथा गोपनीयताको सपथ

नवनिर्वाचित सांसद सिटौलाले लिइन् पद तथा गोपनीयताको सपथ

जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार आयोजित समारोहमा उनलाई सभामुख अग्नि सापकोटाले सपथ दिलाए ।

तत्कालीन प्रतिनिधिसभा सदस्यमा सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उनको ठाउँमा सिटाैला खसआर्य समावेशी समूहबाट निर्वाचित भएकी हुन् । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियताविपरीत भएको ठहर गर्दै पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सपथ समाराेहकाे अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीकचिह्न अंकित लकेट प्रदान गरेका थिए । तत्कालीन नेकपा (माले)को विद्यार्थी संगठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गरेकी सांसद सिटौला जसपाका संस्थापक सदस्य पनि हुन् ।

झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मिएकी सिटौलाले नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले सक्दाे आवाज उठाउने बताएकी छन् ।

प्रकाशित समय १६:२२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु