गृहपृष्ठ कर्णाली प्रदेशसभा बैठक प्रतिपक्षीविनै सञ्चालन

कर्णाली प्रदेशसभा बैठक प्रतिपक्षीविनै सञ्चालन

फाइल तस्बिर ।

कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २३औं बैठक प्रतिपक्षीविनै सञ्चालन भएको छ । पूर्वनिर्धारित समयअनुसार कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरी २० गते संसद सुचारु हुने भनिए पनि प्रतिपक्ष उपस्थित नभएको हो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद शोसीला शाहीले प्रतिपक्ष उपस्थित नहुनुको कारण बैठकमा सभामुखलाई सोधेकी थिइन् । सभामुख राजबहादुर शाहीले प्रतिपक्षले जानकारी नगराएको कारण केही थाहा नभएको भन्दै बैठक सञ्चालन हुने जानकारी गराएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत असार १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । असार १० गतेको संसद बैठकमा प्रतिपक्षीले सुरुमै उठेर बजेटमाथि विरोध जनाएपछि सभामुख शाहीले आधा घण्टाका लागि स्थगित गरेको प्रदेशसभाको बैठक सहमति हुन नसकेपछि असार ११ गते दिउँसो ३ बजेका लागि बोलाइएको थियो । ११ गते पनि बैठक बस्न नसकेपछि असार १५ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि फेरि असार १८ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठकमा समेत सरकारले प्रतिपक्षको माग पूरा गर्न नसक्ने देखेपछि कार्यव्यवस्था समितिको बैठक बसी २० गतेका लागि संसद बैठक सारिएको हो । तर पूर्वनिर्धारित समयअनुसार प्रतिपक्ष भने प्रदेश सभामा उपस्थित भएनन् ।

कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले कतिपय मन्त्रालयहरुका किताबहरु आइनसकेकाले बैठकमा भाग नलिएको बताए । उनले भोलि हुने बैठकमा किताबहरुका स्थिति हेरी भाग लिनसक्ने जानकारी दिए । ‘आज खासै हामीले उठाउनुपर्ने विषयगत मन्त्रालयको छलफल पनि थिएन । सबै मन्त्रालयको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेका कारण हामी बैठकमा सहभागी नभएका हौं,’ उनले भने । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका ६ र राप्रपाको तर्फबाट १ जना सांसद रहेका छन् । बाँकी ३३ जना सांसद नेकपाका हुन् ।

प्रकाशित समय १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु