fbpx
corona information

गृहपृष्ठ विप्लव समूहका कैलाली प्रमुखसहित ६ जना पक्राउ

विप्लव समूहका कैलाली प्रमुखसहित ६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर विकसमेत रहेका छन् ।

विभिन्न मितिमा कैलालीका विभिन्न क्षेत्रमा अपराधिक क्रियाकलाप, राज्यद्रोह, कर्तव्य ज्यान, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ तथा संगठित अपराधमा संलग्न रही फरार रहेको भन्दै प्रहरीले उनीहरूको खोजी कार्य अघि बढाएको थियो । कैलालीमै रहेको भन्ने विशेष सूचनाको आधारमा विकलाई प्रहरी गस्ती टोलीले शनिबार साँझ धनगढी उपमहानगरपालिका- १२, जुगेडाबाट पक्राउ गरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विकले प्रहरीमाथि अभद्र व्यवहार गर्नुका साथै आफूसँग रहेका अरुलाई भगाउन खोजेपछि प्रहरीले विकसहित अरु पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी इन्स्पेक्टर हिक्मत बहादुर थापाले बताए ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ९ का ४८ वर्षीय विकसँगै वडा नम्बर ३ का लक्की शाह, वडा नम्बर २ ठेगाना भएका जिल्ला कमिटी सदस्यसमेत रहेका ४० वर्षीय डम्बर सुनार, वडा नम्बर ७ ठेगाना भएका अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष २५ वर्षीय सुवास जोशी रहेका छन् ।

त्यसैगरी त्रिवेणी- ८ बाजुरा ठेगाना भएका धनगढी उपमहानगरपालिकाका ईन्चार्ज ३० वर्षीय प्रकाश रावल, खप्तड छान्ना गाउँपालिका ५ बझाङ ठेगाना भएका पूर्व क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष एवं जिल्ला कमिटी सदस्य ३० वर्षीय बवर जंग सिंह रहेको प्रहरीले बताएको छ ।

प्रकाशित समय १६:०१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु