fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ अर्थमन्त्री डा. खतिवडाको बहिर्गमन निश्चित, प्रधानमन्त्री बनाउने सर्तमा भित्रिँदै बामदेव

अर्थमन्त्री डा. खतिवडाको बहिर्गमन निश्चित, प्रधानमन्त्री बनाउने सर्तमा भित्रिँदै बामदेव

नेपाली राजनीतिमा बेला‑बेला नसोचेका गतिविधि हुने गर्छन् । पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको बहिर्गमन पनि अप्रत्यासित थिए । क्षणभरमै विकसित भएका घटनाले दुवैलाई ‘झिटिगुन्टी’सहित सरकारी थातथलो छाड्नुपर्ने स्थिति निर्माण भयो ।

त्यस प्रकारको अप्रत्यासित त होइन तर प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्र मानिएका अर्थमन्त्री डा. युवराज खतिवडा पनि अब धेरै समय सरकारमा नरहने भने निश्चित भएको छ । पहिलो दुई वर्षे कार्यकाल छिनोफानोका क्रममा गोलाप्रथामा नपरेपछि नै डा. खतिवडा शंकाको घेरामा परी नै सकेका थिए ।

राष्ट्रपतिबाट एकजना महिलासहित मनोनीत हुनुपर्ने तीनजना राष्ट्रियसभा सदस्यमध्ये डा. विमला राई पौडेल र रामनारायण विडारीको सिट सुरक्षित भएसँगै डा. खतिवडाको दिनगन्ती करिब सुरु भइसकेको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको शनिबार बसेको सचिवालय बैठकमा भएको छलफलसँगै सचिवालय सदस्य बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्न तयार भएपछि खतिवडाको बहिर्गमन सुनिश्चित भएको छ ।

टिप्प्णी

राष्ट्रियसभामा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली गरी १९ जनाको पहिलो दुई वर्षे कार्यकाल पूरा भएको छ । यीमध्ये डा. खतिवडा राष्ट्रपतिबाट मनोनीत भएका हुन् ।

रिक्त पदका लागि माघ ९ गते भएको निर्वाचनमा गोपीबहादुर सार्की (अछामी), इन्दु गौतम, देवेन्द्र दाहाल, तुलसा दाहाल, राधेश्याम पासवान, मृगेन्द्रसिंह यादव, शेखरप्रसाद सिंह, बेदुराम भुसाल, गंगाकुमारी बेलबासे, नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने, जगप्रसाद शर्मा, विमला घिमिरे, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, सुमित्रा विसी, तारामान स्वाँर र शारदा भट्ट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन् । अब एकजनामा बामदेव गौतम भित्रिने निश्चित भएसँगै डा. खतिवडाको सत्ता बहिर्गमन निश्चित भएको हो ।

 

कसरी बन्यो सहमति ?

बामदेव गौतम डेढ वर्षको कसरतपछि माथिल्लो सदनको सदस्य बन्न सफल भएका हुन् । यसअघि उनी प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन भएमात्र सांसद बन्ने सर्त अघि सारिरहेका थिए । संविधानतः प्रधानमन्त्री बन्न प्रतिनिधि सभा सदस्य हुनैपर्छ । अनुकूल समयमा संविधान संशोधन गर्ने भन्दै शनिबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबैले कन्भिन्स गरेपछि उनी तयार भएको उच्च स्रोतले जानकारी दियो । यससँगै मन्त्रिपरिषद बैठकको सिफारिसमा फागुन २० गतेभित्र राष्ट्रपतिबाट मनोनीत गरी गौतमलाई राष्ट्रिय सभामा लगिनेछ । र, राष्ट्रिय सभा सदस्य भए पनि प्रधानमन्त्री बन्न सकिने बाटो खुला गरिनेछ ।

प्रधानमन्त्री बनाउने तयारी

नेकपा उच्च स्रोतका अनुसार संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो खुला गर्न लागिएको छ । तत्कालीन नेकपा एमालेमा रहँदै प्रचण्डको नजिक मानिने गौतमलाई प्रधानमन्त्री बनाउन भइरहेको प्रयास हो यो । पार्टी एकता प्रयास हुन थालेदेखि नै गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन प्रचण्डले दिइरहेका थिए । ‘नेकपाका तीन नेता (माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली)लाई प्रधानमन्त्री बनाइसकेँ, तपाईंलाई बनाउन के गाह्रो छ र !’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले न्युज कारोबारसँग भने, ‘राजनीतिक योगदान धेरै गरिसक्नुभयो, अब पालो तपाईंकै हो ।’

 

आखिर के  पाक्दै छ त !

‘तपाईंहरूलाई थाहै छ, नेपाली राजनीतिमा भित्रभित्रै धेरै थोक पाकिरहेको हुन्छ । ठूलै दलका धेरै नेताले पनि फल झरिसकेपछि मात्र थाहा पाउँछन् । अहिले पनि त्यस्तै भइरहेको छ,’ अनौपचारिक कुराकानीका क्रममा नेकपाको एक नेताले आइतबार न्युज कारोबारसँग भने, ‘केही दिनभित्रै नतिजा आउँछ ।’

बामदेव राष्ट्रिय सभा सदस्य बन्न तयार भएको जानकारी प्रधानमन्त्री ओली र प्रचण्डले शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराइसकेका छन् । राष्ट्रिय सभा सदस्य बन्नमात्र गौतम तयार थिएनन् । उनलाई ‘जसरी पनि’ प्रधानमन्त्री बन्नु छ । र, त्यही कन्फर्म भएपछि मात्र शनिबार उनी सांसद बन्न तयार भएका हुन् । यसमा ओली विगतमा तयार थिएनन् । तर, अहिले भइरहेको चौतर्फी प्रहार, दाहिने हात मानिने ‘बाँस्कोटा’को अप्रत्यासित बहिर्गमन र खस्किँदो स्वास्थ्यका कारण ओली राम्रो बजेट ल्याएर बाहिरिने सोचमा छन् ।

त्यही भएर उनले जनताको मन जित्ने खालको बजेटको तयारी थाल्न डा. खतिवडालाई भनिसकेका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेको, वित्तीय अनुसाशन कायम गरेको, पूर्वाधार निर्माणको कामले गति लिएको, राजस्व चुहावट नियन्त्रण र वित्तीय पारदर्शिता स्थापनामा खतिवडाले राम्रो काम गरेको प्रधामनन्त्रीको मूल्यांकन छ ।

राष्ट्रपतिबाट मनोनीत हुने कोटामा बामदेवको आगमन भए पनि संविधानको धारा ७८ अनुसार थप ६ महिना अर्थात् भदौ २० गतेसम्म खतिवडा मन्त्री बन्न सक्छन् । धारा ७६ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री बन्न पाउने तर ६ महिनाभित्र संसदको सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था छ । तर, उनी सांसद बन्न सक्ने कुनै आधार र ठाउँ नरहने भएकाले त्यसपछि बाहिरिनुको विकल्प रहँदैन ।

त्यसबीचमा बजेट पनि आइसक्ने र संविधान संशोधन पनि गरिसक्ने र बामदेवलाई प्रधानमन्त्री बनाउन मार्गप्रशस्त गर्ने भित्री तयारी रहेको प्रचण्डनिकट एक नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

संविधान संशोधनका लागि कार्यदल

प्रकाशित समय १६:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु