गृहपृष्ठ कांग्रेसको विवाद मिलाउन छलफल जारी

कांग्रेसको विवाद मिलाउन छलफल जारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् ।

यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुंगो लगाउने बताइएको छ ।

बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको एक नेताले जानकारी दिए । विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए ।

साथै यसअघि बुधबार साँझ पार्टीका शीर्ष नेताबीच आज टुंगो लगाउने गरी सकारात्मक छलफल भएको थियो । आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु सिंह र सिटौलालगायत उपस्थित छन् ।

कांग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।

सो बैठकमा आफ्नो माग सुनुवाइ नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य भने अनुपस्थित छन् । (रासस)

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु