गृहपृष्ठ नेकपाले सभामुख र उपसभामुखमध्ये एउटा छाड्नुपर्छ : विज्ञ

नेकपाले सभामुख र उपसभामुखमध्ये एउटा छाड्नुपर्छ : विज्ञ

रघुनाथ बजगाईं
काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगबाट दल दर्ताको औपचारिक प्रमाणपत्र पाइसकेकाले संविधानअनुसार अब सभामुख र उपसभामुखमध्ये एक छोड्नुपर्ने विज्ञहरुले बताएका छन् ।
सभामुख–उपसभामुख दुबै पदमा एउटै दलको हुन नमिल्ने संवैधानिक व्यवस्था छ । तर, अहिले नेकपाले दुबै पद छाड्ने अवस्था देखिएको छैन । संविधानले सदनमा सरकार चलाउने र विपक्षी वा अर्को दलको उपस्थितिलाई अनिवार्य गराउने बाध्यात्मक व्यवस्था गरेको राजनीतिक विश्लेषक एवं प्राध्यापक विष्णु दाहाल बताउँछन् । ‘विपक्षी दल वा अर्को दलका पनि कुरा सुन्नका लागि सभामुख र उपसभामुख एकै पार्टीका हुनुहुन्न भन्ने मान्यताअनुसार गरिएको यो व्यवस्था अहिले भने कार्यान्वयन हुने म देख्दिनँ,’ उनले भने, ‘दलहरुले आफूले पाएको पद छाड्ने परिपाटी विगतमा पनि देखिएको छैन । संविधानतः आजबाट तत्कालीन एमाले र माओवादी केन्द्र एक भइसकेकाले दुईमध्ये एक छोड्नुपर्ने हो ।’ संविधानको धारा ९१ (२) मा सभामुख र उपसभामुख फरक राजनीतिक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ ।
नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाका सभामुख र उपसभामुख दुबैले राजीनामा दिनु नपर्ने बताए । दुबै जनाले पार्टीबाट राजीनामा दिइसकेकाले उनीहरू पार्टीको मान्छे नरहेको नेम्वाङको तर्क छ । ‘सभामुख र उपसभामुख दुबै अहिले दलको सदस्य नरहेकाले कसले छोड्ने भन्ने प्रश्न नै उठ्दैन,’ उनले भने, ‘उहाँहरूले मनोनयन दर्ता गर्नुअघि नै पार्टीबाट राजीनामा दिनुभएको छ, उहाँहरु हाम्रो पार्टीसँग सम्बन्धित हुनुहुन्न ।’
संविधानले संसदमा एकभन्दा धेरै दलको प्रतिनिधित्व नभएको अवस्थामा वा उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा नहुने व्यवस्था गरेको छ । कांग्रेस सांसद मिनेन्द्र रिजालले भने सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने संविधानको स्पष्ट व्यवस्था भएकाले कुन पद छाड्ने निर्णय अब नेकपाले लिनुपर्ने बताए । ‘संविधान र राजनीतिक दलसम्बन्धी ऐन हेरेर उहाँहरुले प्रस्ताव अगाडि सार्नुपर्छ,’ उनले भने, ‘एउटै पार्टीका प्रतिनिधि दुबै पदमा रहन सक्दैनन् भन्ने कुरा स्पष्ट छ ।’
राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको हकमा भने संविधानले फरक दलको हुनुपर्ने व्यवस्था गरेको छैन । संविधानको धारा १८२ को उपधारा (२) को (१) ले प्रदेश सभामुख र उपसभामुख पनि फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था गरेको छ ।
प्रदेशसभा १ मा तत्कालीन एमालेका प्रदीप भण्डारी सभामुख छन् । माओवादी केन्द्रकी सरस्वती पोखरेल उपसभामुख छिन् । प्रदेश ३ मा तत्कालीन एमालेका सानु श्रेष्ठ सभामुख छन् भने माओवादीकी राधिका तामाङ उपसभामुख छिन् । प्रदेश ४ मा तत्कालीन माओवादीका नेत्रनाथ अधिकारी सभामुख र एमालेकी सिर्जना शर्मा उपसभामुख छिन् । प्रदेश ५ मा तत्कालीन माओवादीका पूर्णकुमार घर्ती सभामुख र एमालेकी कृष्णा थारू उपसभामुख छिन् । प्रदेश ६ मा तत्कालीन एमालेका राजबहादुर शाही सभामुख र माओवादीकी पुष्पा घर्तीमगर उपसभामुख छिन् । प्रदेश ७ म पनि तत्कालीन एमालेका अर्जुनबहादुर थापा सभामुख र तत्कालीन माओवादी केन्द्रकी निर्मला बडाल जोशी उपसभामुख छिन् ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु