fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ चीनसँग मित्रता अभिवृद्धिको कुरा हुन्छ, लाभहानीको हिसाबकिताब हुँदैन : प्रधानमन्त्री

चीनसँग मित्रता अभिवृद्धिको कुरा हुन्छ, लाभहानीको हिसाबकिताब हुँदैन : प्रधानमन्त्री

kpm-kp-oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानीको हिसाबकिताब नहुने बताएका छन् । प्रधानमन्त्री निवासमा सञ्चारमाध्यमसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङको नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गरे ।

‘उच्चस्तरीय भेटघाटमा लाभहानीको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ,’ उनले भने, ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसिलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।’

प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिए । दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने उनको विश्वास छ । ‘महामहिम राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण एकदम सफल हुन्छ,’ उनले भने ।

सी पथमा गयो भन्नु संकीर्णता

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास भएको बताए । बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लागेको उनको तर्क छ । ‘हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौँ, सी पथमा नेपाल गयो भन्नु संकीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो,’ भारतीय स्वतन्त्रता संग्रामममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागू गरिनेछ ।’

अन्तर्राष्ट्रिय सम्बन्धमा सचेत

प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचितता र अन्तर्राष्ट्रिय उत्तरदायित्वका साथ अन्तर्राष्ट्रिय सम्बन्धमा ध्यान दिएको बताए । नेपाल स्वाधीन मुलुकका रुपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्चाएर र चाउर्‍याएर आफैँ प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको तर्क गरे । ‘नेपालले आन्तरिक र बाह्य रुपमा स्वतन्त्र ढंगले स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ । त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ । हामी कतै झुक्दैनौँ । कतै ढल्कँदैनौँ । नेपाललाई भूपरिवेष्टितबाट भूडित, जलजडित, हवाईजडित र सञ्चारजडित बनाउन लागेका छौँ,’ प्रधानमन्त्रीले भने ।

नेपालको छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको तथा अन्तर्राष्ट्रिय सम्बन्ध पनि माथि उठेको उनले बताए । ‘नेपाल अन्तर्राष्ट्रिय मञ्चमा सुनिन थालेको वास्तविक हो,’ नेपालको राष्ट्रिय छवि वृद्धि भएकोमा ढुक्क हुँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल नेपालको रुपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ । हामी क्षणिक लाभमा बहकिएर हामी हिँड्दैनौँ । राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छौं । हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्वव्यवस्थाका नीति, संयुक्त राष्ट्रसंघका बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौँ ।’

उनले गत वर्षको राष्ट्र संघको महासभामा आफूले गरेको सम्बोधनमा उठाइएका विषयलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले समापनमा अवसरमा महत्व दिई स्मरण गर्नु एवं उल्लेख गर्नुलाई पनि महत्वपूर्ण मान्नुपर्ने उनको तर्क छ ।

चाडपर्वला विशेष प्राथमिकता

प्रधानमन्त्री ओलीले चाडवर्वलाई विशेष प्राथमिकता दिइएको बताएका छन् । अघिपछिभन्दा यस बेला व्यापार र भीडभाडजस्ता चाडको स्वभाव र चाडले उत्पन्न गरेका परिस्थति हुने भए पनि यस्तो अवस्थामा जनतालाई बढीभन्दा बढी सुविधा कसरी दिन सकिन्छ भन्नेतर्फ सरकारको ध्यान गएको उनले बताए । बडादसैंमा यातायात, सुरक्षा र बजार नियन्त्रणका बारेमा ध्यान दिन सम्बन्धित निकायलाई ध्यान निर्देशन दिइसकेको बताउँदै उनले बढी गतिमा सवारी साधन चलाएर दुर्घटना हुन नदिन र बजाउ भाउ बढी हुन नदिन सरकारले सचेतना अपनाएको र सुपथ मूल्यका पसलहरु सञ्चालन गरेको उल्लेख गर्नुभयो । (गोरखापत्रबाट)

प्रकाशित समय ०९:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु