fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ संविधान दिवस भव्य बनाउने प्रदेश २ सरकारको निर्णय

संविधान दिवस भव्य बनाउने प्रदेश २ सरकारको निर्णय

सत्तारुढ दलमा भने किचलो

प्रदेश २ सरकारले तीन दिवसीय कार्यक्रम आयोजना गरी संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । प्रदेश २ का सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असोज ३ गते देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरिरहेका बेला मन्त्रिपरिषद् बैठकले भने तीन दिने कार्यक्रम तय गरी धुमधामका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णयअनुसार कार्यक्रमको पहिलो दिन असोज २ गते डेंगु रोगबाट बच्न र ड्रग्स नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, दोस्रो दिन असोज ३ गते सरकारी कार्यालयमा दिपावली गर्ने र अन्तिम दिन असोज ४ गते सरसफाइ तथा वृक्षरोपण कार्यक्रम आयोजना गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । ‘नेपालको संविधानसँग पूर्णरुपले सन्तुष्ट नभए पनि संविधानले केही हक अधिकार दिएकाले भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरिएको हो,’ मन्त्री यादवले भने । अघिल्लो वर्ष प्रदेश २ सरकारले संविधान दिवस मनाएको थिएन ।

सत्तारुढ दलमै किचलो
असोज ३ गते नजिकिँदै गर्दा प्रदेश २ का सत्तारुढ दल संविधान दिवस मनाउने वा नमनाउनेमा दुई कित्तामा विभाजित भएका छन् । सरकारले मन्त्रिपरिषदबाटै संविधान दिवस मनाउने निर्णय गरेपछि सत्तारुढ दलहरुभित्र मतभेद बढेको हो ।

संविधानसभाबाट संविधान जारी भएपछि आन्दोलनरत मधेसवादी दलले विरोधस्वरुप संविधान जलाएका थिए । देशका बाँकी भागमा दिपावली भइरहँदा तराई÷मधेसमा भने ‘ब्ल्याक आउट’ गरिएको थियो ।

त्यसयता मधेसवादी दलहरुले असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै आइरहेका छन् । मधेस आन्दोलनले उठाएका माग सम्बोधन नभएको भन्दै उनीहरुले संविधान संशोधनको माग पनि सँगै अघि सारिरहेका छन् । यसपटक भने मुख्यमन्त्री लालबाबु राउत नै संविधान दिवस मनाउन अघि सरेपछि सत्तारुढ दल दुई कित्तामा विभाजित भएका हुन् ।

सरकारले संविधान दिवस भव्यताका साथ मनाउने औपचारिक तयारी गरेपछि सत्ता सहयात्री राजपा नेपालले भने संविधान दिवसको विरोधमा उत्रिसकेको छ । प्रदेश २ सरकारका मन्त्रीहरु पनि संविधान दिवस मनाउने कि नमनाउने भन्ने विषयलाई लिएर धु्रवीकृत भएका छन् ।

मुख्यमन्त्री राउतलगायत समाजवादी पार्टीबाट मन्त्री बनेकाहरु संविधान दिवस मनाउने पक्षमा छन् भने सत्ता सहयात्री राजपा नेपालका मन्त्री संविधान दिवसका दिन विरोध दिवस मनाउने अडानमा छन् । राजपा नेपालले संविधान दिवसलाई विरोध दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश २ सरकारमा सहभागी राजपा नेपालका मन्त्रीसमेत पार्टीकै लाइनमा उभिएका हुन् ।

राजपा नेपालबाट सरकारको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस औपचारिक रुपमा मनाउनेबारे आफूलगायत राजपा नेपालका कुनै पनि मन्त्रीलाई जानकारी नभएको बताए । सरकारले मन्त्रिपरिषदबाट संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको दिन राजपा नेपालबाट मन्त्री बनेकाहरुको उपस्थिति नरहेको उनको भनाइ छ ।

प्रकाशित समय १६:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु