fbpx
Nepal Mediciti

गृहपृष्ठ मिडिया विधेयक परिमार्जन हुन्छ : प्रचण्ड

मिडिया विधेयक परिमार्जन हुन्छ : प्रचण्ड

prachanda_newskarobar फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस संगठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए ।

दाहालले भने, ‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।’ सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले थपे, ‘जति गृहकार्य भएर विधेयक आउनुपथ्र्यो, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।’ आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने दाहालले बताए ।

सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिक्रिया उनले दिए । दाहालले भने, ‘मिडियामा नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौं त्यहीअनुसार अघि बढ्छौँ ।’

अध्यक्ष दाहालले चितवनमा बन्न लागेको रंगशालामा सरकारले सहयोग गर्ने बताए । आफैँले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरी यस्ता रंगशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए । उनले भने, ‘मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसायचाहिँ चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ भनेर हो ।’ रंगशालालाई सहयोग गर्ने सरकारको आधार तयार गरिएको उनले प्रस्ट पारे । धुर्मुस सुन्तली फाउन्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ ।

अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुंगो लाग्न बाँकी रहेका इन्चार्ज, सहइन्चार्ज, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुंगो लाग्ने बताए । अर्को एक प्रश्नमा उनले प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई कमसेकम पाँच वर्षका लागि त्यहीँ राख्ने कि भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित समय १३:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु