fbpx
corona information

गृहपृष्ठ टौदह अर्थात् कर्कोटक नागराजको दरबार (फोटो फिचरसहित)

टौदह अर्थात् कर्कोटक नागराजको दरबार (फोटो फिचरसहित)

काठमाडौँको कीर्तिपुर नगरपालिका १५ मा पर्ने प्राकृतिक ताल टौदह । काठमाडौँबाट चोभार हुँदै दक्षिणकाली जाने बाटोमा पर्ने टौदह उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो । यो ताल करिब ९९ रोपनीमा फैलिएको छ । टौदहसँग जोडिएका केही रोचक किंम्बदन्ती छन् :

सोली आकारको टौदहमा कर्कोटक नागराजको दरबार छ । मञ्जुश्रीले चोभारको डाँडो काट्न लगाएर पानी बाहिर पठाउँदा नागराज रिसाएर अनिष्ट हुने भय सिर्जना गरिदिन्छन् । त्यसपछि बोधिसत्व मञ्जुश्रीले आह्वान गरी नागराजलाई टौदहमा विराजमान गराउँछन् ।

एकताका नागरानी आँखा दुख्ने रोगबाट पीडित हुन्छिन् । ललितपुर निवासी एक ज्यापूले रानी पीडित भएको थाहा पाएर दहसम्म गई रानीको आँखा दुख्ने रोग निको बनाइदिन्छन् । त्यसबाट खुसी भएका नागराजले उपहार स्वरूप नवरत्नजडित भोटो ज्यापू जातिको भित्री पोसाक उपहार पठाइदिन्छन् ।

एक दिन ती ज्यापू खेतमा काम गर्दै हुन्छन् । असाध्यै गर्मी हुन्छ र भोटो फुकालेर राख्छन् । त्यसैबेला एक व्यक्ति नवरत्नजडित आकर्षक भोटो चोरेर भाग्छ । केही दिनपछि त्यो भोटो चोर र ज्यापूबीच जम्काभेट हुन्छ । ज्यापूले आफ्नो भोटो माग्छन् तर उसले दिँदैन । उनीहरू लड्न थाल्छन् ।

दुई व्यक्ति लडिरहेको देखेर रातो मच्छिन्द्रनाथले छुट्याउँछन् । लड्नुको कारण  थाहा पाएपछि भन्छन्– भोटो लिन प्रमाणसहित आउनू, प्रमाण जसले ल्याउँछ भोटो उसैले पाउँछ । तबसम्म नवरत्नजडित यो भोटो मसँगै रहनेछ । भोटो चोरसँग कुनै प्रमाण हुने सम्भावना थिएन । ज्यापूले पनि टौदहमुनि नागराजको दरबारसम्म पुग्ने बाटो फेला पार्दैनन् ।

त्यसै बेलादेखि प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको जात्रामा जावलाखेलको च्वासका नर्नीमा ‘भोटो सुरक्षित छ’ भनी देखाउने परम्परा छ । राष्ट्रप्रमुख र जीवित देवी कुमारीको उपस्थितिमा भोटो देखाइन्छ ।

नागपञ्चमीका दिन प्रत्येक वर्ष टौदहमा ठूलो मेला लाग्ने गर्छ । यो दह जैविक विविधताको अनुपम संयोग मानिन्छ । विगतमा विभिन्न जातका बोटबिरुवा, कीरा र सयौँ प्रकारका पन्छी यहाँ हुन्थे । टौदह जैविक अनुसन्धानका लागि वरदान नै मानिन्थ्यो । टाढा-टाढाबाट पन्छीहरू आउने, अण्डा पार्ने, चल्ला कोरल्ने र जाने गर्थे । तर, अहिले टौदहको वरिपरि बाक्लो बस्ती विकास हुँदै गयो । स्वरुप नै परिवर्तन हुने गरी वरिपरि सिमेन्ट, बालुवा र ढुंगाको पर्खाल लगाइएको छ । यस्ता गतिविधिले टौदहको प्राकृतिक सुन्दरतामात्र हरण गरेन, जैविक अनुसन्धान स्थलसमेत ध्वस्त बनाएको वातावरणविदहरू बताउँछन् ।

तस्बिर : न्युज कारोबार

प्रकाशित समय ११:०९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु