fbpx
Rashifal Ad

गृहपृष्ठ धनुषामा महिला हिंसाको कहालीलाग्दो स्थिति

धनुषामा महिला हिंसाको कहालीलाग्दो स्थिति

जनचेतना बढ्यो : एनजीओ, दण्डहीनता बढ्यो : मानव अधिकारकर्मी

women-exploitition-newskarobar

महिला हिंसाविरुद्धको १६ दिने अभियान देशभरि चलिरहेको अवस्थामा धनुषामा भने महिला हिंसाको घटना बढ्दो अवस्थामा रहेको पाइएको छ । महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था ओरेक नेपालको गत २ वर्षको तथ्यांक हेर्दा महिलामाथि हुने घरेलु हिंसाको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

ओरेक नेपालको धनुषा शाखाका अनुसार सन् २०१७ मा धनुषामा मात्र महिलामाथि कुल एक सय १२ घरेलु हिंसाका घटना घटेका थिए । जसमा दाइजोका कारण २१ जना महिलालाई कुटपिट तथा घरबाट निकाला गरिएको ओरेकको तथ्यांकले देखाउँछ । त्यस्तै नाबालिका उपर जवरजस्ती करणी, यौनहिंसा,  मानसिक यातना, बेचविखन, विवाह दर्ता नबनाइ दिएको जस्ता घटनाहरु बढी जसो आउने गरेको ओरेक नेपाल धनुषाका कार्यवाहक जिल्ला संयोजक रोजलिन सिंह बछारले जानकारी दिइन् ।

 

कहालीलाग्दो स्थिति

ओरेक धनुषाकै तथ्यांक हेर्दा घरेलु हिंसामा परी घरमा बस्नै नसक्ने ५३ जना महिलालाई ओरेक नेपालले संचालन गरेको सेफ हाउसमै राखेर न्यायका लागि सम्बन्धित निकायमा पहल गरिएको छ । घर निकाला गरिएको, बालप्रेम विवाह गरेको, यौनहिंसाको सिकार भएको, जबरजस्ती करणी जस्ता जघन्य अपराधका सिकार भएकाहरुलाई मनोविमर्श सेवा दिँदै ओरेकले सेफ हाउसमै बढीमा ३ महिनाका लागि राखेर न्यायका दिलाउने पहल गर्ने भनिए पनि समयमै न्याय नपाएकाहरु वर्षौंसम्म पनि सेफ हाउसमा बस्ने गरेको ओरेकका धनुषाधामस्थित कार्यालयका मनोविमर्शकर्ता मन्जु देवी महतोले बताइन् ।

ओरेककै तथ्यांक हेर्दा २०१८ जुन देखि नोभेम्बर २८ सम्म एक सय ७७ यस्ता घटना भएका छन् । जसमा ८५ वटा घरेलु हिंसाका घटनामात्र छन् । त्यस्तै ४१ वटा सामाजिक हिंसा, १९ वटा जबर्जस्ती करणीका घटना,  ७ वटा बालप्रेम विवाहको घटना यही अवधीमा भएको देखिन्छ । धनुषामा घरेलु हिंसामा पर्ने उमेर समूह ३० वर्षमुनिकै महिला रहने गरेको तथ्यांकले देखाएको छ ।

 

जनचेतना बढेको छ : रेक

धनुषामा महिला हिंसा न्यूनीकरणका लागि सरकारी कार्यालयदेखि विभिन्न गैरसरकारी कार्यालयहरु काम गरिरहेको भए पनि ओरेककै तथ्यांकलार्इ आधार मान्ने हो भने पनि त्यसको प्रभाव परेको देखिँदैन । सरकार, आर्इएनजीओ तथा एनजीओलगायतले महिला हिंसा न्यूनीकरणका लागि गरेको खर्च ‘बालुवामा पानी’को अवस्थामा पुगेको छ ।

एकातर्फ महिला हिंसा न्यूनीकरणका लागि ठूलो धनराशि खर्च भइरहने अर्कोतर्फ वास्तविक रूपमा त्यसको प्रभाव नपर्ने स्थितिले सोच्नुपर्ने अवस्थामा पुर्याएको छ । बर्सेनि महिला हिंसाका घटनाको तथ्यांक बढिरहेको छ ।

तर, ओरेक नेपालका कार्यवाहक संयोजक रोजलिन सिंह बछारले घटनामा वृद्धि भएको भन्दा पनि जनचेतनाको स्तर बढेर समस्या समाधान हुने निकायमा उजुरी गर्ने महिलाहरुको संख्यामा बढोत्तरी भएको बताउँछिन् । यद्यपि, उनको जवाफ धेरैलार्इ चित्त बुझेको छैन । एनजीओ तथा आर्इएनजीओले दाताले दिएको रकम सेमिनारमा खर्च गर्ने तर वास्तविक लाभग्राहीसम्म नपुग्ने स्थितिको सम्भवतः गतिलो उदाहरण धनुषामा बढ्दै गएको महिला हिंसाले देखाउँछ ।

‘पहिले पनि महिला हिंसाका घटना घट्ने गरेका थिए,’ सिंहले भनिन्, ‘नजानेर वा पिडकको दबाबमा गाउँघरमै दबाएर राखिन्थ्यो तर अहिले संचारकर्मी र सामाजिक संघसंस्थाहरुको स्थानीय तहसम्म पहुँच बढेकाले पनि न्यायका लागि आउनेहरुको संख्यामा मात्रै वृद्धि भएको छ ।’

घरेलु हिंसाका घटनामध्ये दाइजो, जन्मदर्ता, विवाहदर्ता, नागरिकता, बालप्रेम विवाह, वैवाहिक बलात्कार जस्ता घटना अहिले आफूहरुले स्थानीय तहकै न्यायिक समितिमा पठाउने गरेको र अन्य घटनालाई जिल्ला प्रहरी कार्यालय र अदालतबाट न्याय दिलाउने काम भइरहेको सिंहले बताइन् । अहिलेसम्म सेफ हाउसमा बस्ने सम्पूर्ण महिलाहरुलाई न्याय दिलाउन सफल भएको संयोजक सिंहको दाबी छ ।

 

दण्डहीनता बढ्यो : मानव अधिकारकर्मी

महिला हिंसाका घटना बढ्दै जानुलार्इ जनचेतना बढेका कारणमात्र भएको स्वीकार्न मानवअधिकारकर्मी तयार छैनन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरधामकी महिला तथा बालबालिका फोकल अधिकृत रेवा रेग्मीले समाजले महिलामाथि हेर्ने दृष्टिकोण नै फरक रहेको बताइन् ।

घरपरिवारका दाजु, भाइ, काका, संरक्षकर्ताहरुबाटै पनि छोरीचेली यौनहिंसादेखि विभिन्न हिंसामा परिरहेकाले सुरक्षा अवस्था कमजोर भएको देखिएको उनले बताइन् । ‘देशमा दण्डहिनता बढेको छ,’ रेग्मीले भनिन्, ‘यसलाई निगरानी गर्ने र न्यायपालिकासमेत निरीह भएको देखिन्छ ।’

 

वैदेशिक रोजगारीको प्रभाव

केही वर्षयता वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या बढ्दो छ । जसका कारण समाजले आधुनिक पुस्ताको प्रभावशाली मानवीय शक्तिको अभाव महसुस गर्दैछ । त्यसको प्रभाव महिला हिंसाको घटनामा पनि देखिएको कतिपयको टिप्पणी छ ।

धनुषालगायत प्रदेश–२ मा वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या बढ्दो रहेकाले घरमा एक्लो विवाहित युवती रहनुपर्ने बाध्यता सिर्जना भएको छ । जसका कारण उनीहरू बाहिरी पक्षबाट त असुरक्षित हुने सम्भावना त छँदैछ सँगै घरपरिवारबाटै समेत यौनहिंसा घटना घट्न थालेका छन् । कुटपिट, अपहेलना जस्ता घरेलु हिंसा बढनुमा वैदेशिक रोजगारी मुख्य कारक रहेको देखिन्छ ।

पिडकले समयमै सजाय पाउन नसक्नु पनि महिला हिंसाका घटना वृद्धिको कारक तत्व भएको रेग्मीले बताइन् । अहिले पनि गाउँघरमा भएको घटना चेतना अभावले घरपरिवार र समाजले मिलोमतोमा मिलाउँदै आएकाले महिला हिंसाका घटना वृद्धि भइरहेको रेग्मीको भनाइ छ ।

 

पढेलेखेका पनि कम छैनन् : अधिवक्ता कार्की

महिला हिंसाका घटनामा निःशुल्क परामर्श र अदालतमा पैरवी गर्दै आएका अधिवता बालकृष्ण कार्की अहिले नपढेकाभन्दा पनि पढेलेखेका परिवारहरुबाट पनि महिला हिंसाका घटना भइरहेकाले नियतमै परिर्वतन अवश्यक रहेको बताउँछन् । ‘घरका छोरीचेली, श्रीमतीमाथि हिंसा गर्नु हुँदैन भन्ने थाहा भएका डाक्टर, इन्जिनियर, जागिरेहरुको घटनामा समेत पीडितको तर्फबाट दर्जनौं घटनामा पैरवी गरेको छु,’ अधिवता कार्कीले भने, ‘महिलालाई घरमा निःशुल्क काम गरिदिने नोकरको रुपमा लिनेहरुको लागि कडा कानुन आउनु अवश्यक छ ।’

‘घरेलु हिंसाका घटना अदालतमा दर्ता गराएपछि अदालतले सर्वप्रथम मेलमिलाप गराउनेतर्फ जान्छ,’ उनले भने, ‘मेलमिलाप नभएको खण्डमा मुद्दामा जाने भएकाले ६ महिनादेखि १ वर्षसम्मको समय लाग्छ ।’ घरेलु हिंसा, दहेज प्रथा, कुटपिट घटनामा ३ महिनादेखि ६ महिनासम्मको न्यून सजाय गर्ने कानुनी व्यवस्था रहेकाले समेत पिडक पक्षको मनोबल बढ्ने गरेकाले कडाभन्दा कडा सजाय र सजायको दायरा बढाउनुपर्ने अधिवक्ता कार्कीले बताए ।

प्रकाशित समय ०६:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु