गृहपृष्ठ पूर्व भारतीय सैनिकका परिवारको आहारा, श्रीमानको पेन्सन नै बुढेसकालको साहारा

पूर्व भारतीय सैनिकका परिवारको आहारा, श्रीमानको पेन्सन नै बुढेसकालको साहारा


तिलक गाउँले । बाँके । बर्दिया ठाकुरबाबा नगरपालिका ४ की बिष्णुकुमारी शाही एकल महिला हुन् । उनका पति नन्दबहादुर शाही पूर्व भारतीय सैनिक हुन् । तर उनी यो संसारमा छैनन् । उनी यो संसारमा नभए पनि उनले भारतीय सैनिकमा पाएको पदवीले उनलाई जिउँदो मात्रै होइन, उनकी पत्नी बिष्णुकुमारीको साहारा बनेको छ । १९४७ जुन १२ मा सिक्स आसाम राइफलमा भर्ती भएका शाही भारतका लागि थुप्रै लडाईको अग्रपक्तिमा हुने गर्दथे ।
भारतको मोकोटचुकीड भिलेज मनिपुर नागालाइनमा सन १९६० मा बर्मासँगको लडाईमा अदम्य साहासका साथ लडेका उनले आफ्ना दुस्मनहरुलाई परास्त गर्न सकेकै कारण उनलाई भारतीय सेनाले साहसीक योद्धा घोषणा गर्दै अशोकचक्र प्रदान गरेको थियो । त्यही अशोकचक्र अहिले बिष्णु कुमारीलाई मन बुझाउने अस्त्र बनेको छ । उनका श्रीमानले पाएको अशोकचक्र उनले आफुबाट छुटाउदैनिन् । उनका स्वर्गीय श्रीमानको मासीक नेपाली २५ हजार रुपैयाँ पेन्सन आउने गरेको छ भने अशोकचक्र पदवीबापत भारतीय ६ हजार रुपैयाँ अर्थात नेपाली झण्डै १० हजार रुपैयाँ गरी मासीक ३५ हजार रुपैयाँका दरले उनले आफनो श्रीमानको पेन्सन बुझ्दै आएकी छिन् ।
शाहीका ४ छोरा र २ छोरी छन् । ४ छोरामध्ये ३ छोरा नेपाल आर्मीमा कार्यरत छन् भने १ लेक्चर छन् । भारतीय सैनिक जिवनमा अशोकचक्र प्राप्त गर्नेहरु निकै बिरलै मात्र हुने गरेका छन् । अशोकचक्र भारतीय सैनिकका लागि निकै महत्वपूर्ण पदवीका रुपमा हुने गर्दछ । अशोकचक्र भारतको राष्ट्रिय झण्डामा समेत अकिंत छ । ‘अशोकचक्र प्राप्त गर्ने सैनिक भारतमै भैदिएको भए उनका नाममा बिद्यालय बन्थे, बाटो पुलपुलेसा उनकै नाममा बन्थे । तर नेपालमा भएका कारण अशोक चक्रको कुनै मर्यादा हुन सकेन,’ नेपाल भूतपूर्व सैनिक विकास समिति बाँकेका अध्यक्ष भीम रानाले भने ।
‘भारत सरकार र नेपाल सरकारले खोजी नगरेका नेपाली बीर पूर्खाहरुको इतिहास अब हामी खोज्दैछौं,’ उनले थपे । भारतलाई अंग्रेजबाट मुक्त गराउने क्रममा महाबिरचक्र, परमबिरचक्र, अशोकचक्र, सेनामेडल पाउने बीर गोर्खालीहरु अझै पनि नेपालमै रहेको बताउँदै रानाले त्यस्ता महाबिरहरुलाई कतैबाट पनि सम्मान नमिलेको बताए । आफ्नो जवानी भारत सरकारका लागि लडेर सिध्याएका गोर्खालीहरुका पिडा धेरै रहेको रानाले बताए । पेन्सनका लागि सैनिकहरुलाई धेरै समस्या नभए पनि मृत्युपछि श्रीमतीका नाममा आउने पेन्सन पाउनबाट धेरै सैनिक परिवारहरु बञ्चित रहेको रानाले बताए ।
श्रीमानको नामबाट श्रीमतीका नाममा पेन्सन पाउने पक्रिया निकै झन्झटिलो भएका कारण श्रीमानको मृत्युपछि श्रीमतीहरुलाई झन पिडाबोध हुने गरेको उनले बताए । कतिपय अवस्थामा कागजी प्रक्रिया नमिलेका कारण धेरै सैनिक परिवारहरु श्रीमानको पेन्सन पाउनका लागि कहिले भारतको ईलाहाबाद, कहिले काठमाडौं त कहिले बिभिन्न पेन्सन क्याम्पहरुमा धाउनुपर्ने बाध्यता रहेको उनले बताए । भूतपूर्व सैनिकहरुका समस्याका समाधानका लागि अब आफुहरु संगठन बिस्तारमा लागेको बताउँदै रानाले सो बिषयमा नेपाल सरकार र भारतीय राजदुतावाससँग छिट्टै कुरा राखिने जानकारी दिए ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु