गृहपृष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

संगीतकार चन्द्रराज शर्माको निधन

पुस ६, २०७४– लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी ७९ वर्षिय वरिष्ठ संगीतकार चन्द्रराज शर्मा राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको छ । झण्डै ९ सय गीतमा संगीत दिएका शर्मा संगीत शिरोमणी २०२२ सालमा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गरेका थिए ।

२०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गरेका छन् । नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत निर्देशन गरेका शर्माले श्रीस्वस्थानी र महाकवि देवकोटासहित चलचित्रमा पनि संगीत दिएका छन् ।

यस्तै गीतिनाटक मुनामदन, क्रसमा टाँगिएको जिन्दगीमा पनि संगीत निर्देशन गरेका छन् । शर्माले संगित गरेका मेरो देशको माया, चपला अबला एक सूरमा, हामी नदीका दुई किनार लगायत कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् । गीति नाटक, ब्यालेड र ओपेरामा समेत काम गर्नुभएका उनलाई वि सं २०६७ सालमा रेडियो कान्तिपुरले १२ औँ म्युजिक अनरमा लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म पशुपति आर्यघाटमा राखिने छ । उनकोआजै आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन्

प्रकाशित समय ०५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु