गृहपृष्ठ उपत्यकाका अधिकांश खुला स्थान अतिक्रमित

उपत्यकाका अधिकांश खुला स्थान अतिक्रमित

Golf Club_NewsKarobar

२०७२ सालको भूकम्पका बेला अधिकांस मानिस घरबाट बाहिर निस्के, कोही नजिकको खुला चौरमा, कोही सडक पेटीमा, त कोही नदी किनारका खुला स्थानमा बसे । त्यसपछि सुरु भयो- खुला स्थानको बहस ।

२०७३ सालमा सरकारले उपत्यकका ८३ स्थानलाई खुला स्थानसमेत घोषणा गर्‍यो, तर रात बितेपछि बिर्सने नेपाली प्रवृत्तिको अनुशरण गर्दै उपत्यका अधिकांश खुला स्थान अतिक्रमणको सिकार भएका छन् ।

संयुक्त राष्ट्र संघीय आप्रवसान संगठन (आईओएम)का लागि गरिएको काठमाडौं उपत्यकामा मानवीय उद्देश्यका लागि पहिचान गरिएका ८३ खुला स्थानसम्बन्धि अद्यावधिक प्रतिवेदनले ४५ भन्दा अधिक खुला स्थान अतिक्रमण भएको देखाएको हो । खुला स्थानका रूपमा यसअघि सूचिकृत १० स्थानलाई त सूचीबाटै हटाइएको छ ।

२०७३ सालमा खुला स्थानका रूपमा पहिचान गरिएको समाज कल्याण परिषद्को लैनचौरस्थित कार्यालयलाई अहिले उपराष्ट्र निवास बनाएर सर्वसाधारणको पहुँचविहीन बनाइएको छ भने गौरचणस्थित गल्फ क्लबमा नेपाली सेनाले भवनसहितका अन्य पूर्वाधार बनाएर सर्वसाधारणका लागि पहुँचविहीन तुल्याइएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, यसअघि खुला स्थानका रूपमा पहिचान गरिएको चोभारस्थित हिमाल सिमेन्ट कारखानामा अहिले सुक्खा बन्दरगाह बनाउन थालिएको कारण त्यहाँ विपदका बेला उपयोग गर्न नसकिने अवस्था आएको छ ।

यस्तै, टुँडिखेलको खुला स्थलमा नेपाली सेनाले भवनसहितका अन्य पूर्वाधार बनाएका कारण खुला स्थान खुम्चिएको छ भने रत्नपार्क-खुलामञ्चमा अस्थायी र स्थायी दुवै किसिमका संरचनाले खुला स्थान खुम्च्याएको छ ।

प्रतिवेदनअनुसार चक्रपथ विस्तार भएर त्यसका ग्रिनबेल्ट, पेटीलगायतका क्षेत्रमा पूर्वाधार बनेका कारण यसअघि खुला स्थानका रूपमा पहिचान गरिएका चक्रपथका चारै स्थानलाई अब खुला स्थानबाट हटाइएको छ ।

यसरी नै पशुपतिस्थित खुला स्थानमा २० वटा जति स्थायी र अस्थायी भवन, संरचना, शवदाह गृह, पार्कजन्य संरचनालगायतका पूर्वाधार बनाएका कारण खुला स्थान खुम्चिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, दशरथ रंगशाला, एन्फा परिसर, प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय सभागृह, भृकुटीमण्डपलगायतका खुला स्थान पनि भवनसहितका अन्य संरचना बनाएका कारण खुम्चिएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार वितेको ५ वर्षभित्रमा अधिकांस खुला स्थान धेरै वा आंशिक रूपमा अतिक्रमणमा परेका छन् ।

स्कुल, क्याम्पस, विश्वविद्यालयलगायतका निकायले आफ्नो खुला स्थानमा नयाँ भवन र अन्य संरचना बनाएको पाइएको छ भने बागमती नदी किनार (करिडोर), पार्क (शंखपार्क, रत्नपार्क, नारायण चौर आदि)मा पनि स्थायी/अस्थायी भवनलगायतका संरचना बनाइ खुला स्थान कम गर्दै लगेका छन् ।  यसले आगामी दिनमा कुनै पनि विपदका घटना आइलागेमा आश्रय लिने खुला स्थानको संकट पर्ने देखिन्छ ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु