fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कहिले घरबेटी, कहिले डेरावाल

कहिले घरबेटी, कहिले डेरावाल

असोज पहिलो साता । सुकेधारा क्षेत्रमा पसलका लागि सटर खोज्दै गर्नुभएका एक जना दाइले दिउँसोतिर फोन गर्नुभयो, ‘कोठानजिकै सटर भेटियो है भाइ, सजिलो भयो ।’

‘ल गज्जब भएछ दाइ । कति पर्ने भयो भाडा ?’

‘अरुलाई भए सात हजार, तपाईंलाई पाँच हजारमै दिएँ भने घरबेटीले । मैले त दुई हजार रुपैयाँ दिएर कन्फर्म पनि पो गरेँ ।’ उहाँ उत्साहित देखिनुभयो ।

आत्मलाप गरेँ, ‘सटरको भाडा सधैँ बढाएको मात्र सुनिन्थ्यो, एकैपटक दुई हजार घटाइदिने कति राम्रा घरबेटी परेछन् ।’

र, उहाँले सुन्ने गरी भनेँ, ‘कोठानजिकै भेटेर राम्रो भयो । अहिले अलि व्यस्त छु, पछि कल गर्छु है ।’

फोन राखेँ ।

सटर भाडा वर्षैपिच्छे भए ५ प्रतिशत र दुई वर्षमा भए १० प्रतिशतका दरले बढाउने गरी घरबेटीले सम्झौता गरेका हुन्छन् । बढाइएकै मात्र सुनिन्थ्यो । एक जनाले छाडेर अर्काले लिए भने त २५‑३० प्रतिशतसम्म बढाएको पाइन्थ्यो । आजसम्म सटर भाडा घटेको सुनेको थिएन, त्यो पनि २८ प्रतिशतभन्दा धेरै ।

सात‑आठ वर्षअघिको एउटा घटना सम्झिएँ । नरेफाँट बस्थेँ । शनिबार बिहानै कपाल काट्न निस्किएको थिएँ । सलुनमा मानिस भरिभराउ थिए । कपाल काट्नेहरूको भीड हो कि भनेर झस्किएँ पनि । तुरुन्तै थाहा भइहाल्यो, होइन र’छ । दुईवटा घरका चारवटा सटरमा किराना पसल, कपडा पसल, कफी सप र सलुन सञ्चालन गरेका चार जना व्यवसायी तनाव बिसाउँदै रहेछन् ।

सब चिनेकै थिए । ‘साहूजीहरू बिहानै तनावमा देखिनुहुन्छ नि ! के भयो र ?’ मैले आशंकामिश्रित प्रश्न गरेँ ।

‘बर्बाद भयो नि पत्रकारज्यू !’ खुइया गर्दै किराना पसलका साहूजीले भने ।

‘के भयो त भन्नुस् !’ मैले मेसो पाउन सकेको थिइनँ ।

‘घरबेटीले एकैपटक दोब्बरभन्दा धेरै भाडा बढाइदियो,’ उनले टाउकाको छोटो‑छोटो कपाल पन्छाएझैँ गरे, दुवै हातका औँलामा औँला घुसाए र घुच्चुकमा बलियो गरी समाएर भने, ‘छाडौँ भने पनि ग्राहक यतै बनाइयो, चोकमै छ पसल, नछाडौँ भने यस्तो मनपरी छ, त्यही पनि अग्रिम भाडा बुझाउनुपर्छ, एक दिन ढिला भयो भने दिनभर तनाव दिन्छ, पोहोर एक हजार बढाएर पाँच हजार पुर्‍या’को थियो । यो वर्ष ११ हजार पुर्‍यायो ।’

उनका कुरा सकिन नपाउँदै सलुनवालाले भने, ‘पानी पनि भनेको बेला दिने होइन, भाडाचाहिँ मनपरी बढाएको‑बढायै गर्छ । बसिरहेको ठाउँ, छोराछोरी यहीँ नजिकैको स्कुलमा पढ्छन्, भन्नेबित्तिकै अर्को सटर पनि त भेटिँदैन । धेरै गाह्रो बनायो ।’ उनको सटर भाडा पनि चार हजारबाट बढाएर सात हजार पुर्‍याएको र’छ । अरु दुई जना चुप लागिरहे ।

मन बटारियो । राज्यको लथालिंग पारा सम्झिएँ । दुःखका साथ टाउको हल्लाएँमात्र । मसँग विकल्प पनि थिएन ।

‘समाचार लेख्नौँ न त ! केही भई पो हाल्छ कि !’ मैले जानेको यही थियो । तर, उनीहरू ‘कोट’ दिन तयार भएनन् ।

‘होस्, छाडिदिनुस्, घरबेटीसँगै झगडा गरेर यही घरमा कसरी बस्ने !’ उनीहरूले एकै स्वर गरे ।

त्यस्तै माहोलमा कपाल काटेर म हिडेँ ।

नरेफाँट क्षेत्रका घरबेटीलाई अमत्याइँ लाग्नुको कारण थियो । २०६०‑६१ सालसम्म नरेफाँट निकै असुरक्षित मानिन्थ्यो । साँझ परेपछि मान्छे हिँड्न डराउँथे । मनोहरा खोला पारि अहिले मनोहरा सहरी विकास आयोजनाले प्लानिङ गरेको ठाउँमा धेरैजसो दलदल थियो । बाक्लै बयरका बोट थिए । नरेफाँटमा घर छाप्रा टाइपका धेरै थिए । फोहोर उस्तै । विस्तारै बाहिरका मानिसले जग्गा किन्दै गए । नरेफाँट फेरिँदै गयो । कोटेश्वरनजिक भएर पनि ओझेलमा परेको नरेफाँट कोटेश्वर‑सूर्यविनायक आठ लेन सडक बनेसँगै चम्किन थाल्यो ।

जडिबुटी चोकको नक्सा हेरिनसक्नु भए पनि नरेफाँटमा गतिला घरहरु बन्न थाले । नयाँ बनेका घरको सटर भाडा निकै बढाएर राखियो । सबै खालका पसल व्यवसाय खुल्दै गए । यही मौकामा ५० वर्षअघि बनेका कक्रक्क परेका घरका साना‑साना सटरका भाडा पनि दोब्बर बढाइयो ।

०००

सोमबार बिहान अफिस उक्लिनै लाग्दा एक जना भाइसँग भेट भयो ।

उनको अनुहारमा बेग्लै चमक थियो । ‘दाइ ! सञ्चै हुनुन्छ ?’ पहिला उनैले सोधे ।

हुरुक्क हुनेगरी टाउको दुखिरहेको थियो तर सहजै भनिदिएँ, ‘गज्जब छ भाइ । तिम्रो के छ ?’

‘मेरो पनि ठिक छ ।’

‘कोठा भेट्यौ त ?’

उनले कोठा खोजिरहेको मलाई थाहा थियो । एक्लै बस्ने मान्छे । भनेजस्तै भेटिएको थिएन । कतै फ्ल्याट, कतै असुविधा, कतै असहज ।

‘साह्रै धेरै भेटियो दाजु कोठा त ! फ्ल्याट पनि सस्तै भेटेको थिएँ तर यतैका घरबेटीले नै भाडा घटाइदिए । अब सर्दिन ।’

‘लौ ! अचम्मै भएछ ।’ मैले साँच्चै अचम्म मानेँ ।

‘हो त दाजु, मैले पनि पत्याइरा’छैन,’ उनले हाँस्तै भने, ‘सर्ने तरखरमा थिएँ, घरबेटीले मेरै घरमा बस्नुस् भाडा घटाइदिन्छु भनेपछि मलाई पनि अचम्मै लाग्यो ।’

‘कति घट्यो ?’

‘२५ सय ।’

‘१० हजारबाट ७५ सयमा झर्‍यो ?’

‘हजुर !’

‘ल गजबै भएछ ।’

म माथि उक्लिएँ ।

दुई जना भाइहरु पनि साथै थिए । उनले आफ्नो अफिस र भाइहरुको कलेजलाई पायक पर्ने गरी बानेश्वरमा तीन वर्षअघि ७ हजारमा एउटा कोठा थिएका थिए । दुई वर्षमै १० हजार पुर्‍याइएको थियो ।

तिनै घरबेटी जो अग्रिम भाडा लिन्थे । हरेक महिना २ गते भाडा बुझाउनुपर्नेमा ३ गतेमात्र भयो भने झुल्केघामसँगै ढोक ढक्ढक्याउन आइपुग्थे । जतिबेला जहाँ देखे-भेटे पनि ‘पैसा खै ?’ भनेर हैरान पार्थे । नजिकै नभए टाढाबाट औँलाले ‘पैसा’ संकेत गर्थे । उनले कोठा सर्न खोज्नुको अर्को कारण घरबेटीको रुखो व्यवहार पनि थियो । तर, हिजो एकाएक तिनै घरबेटी ‘सजिला’ भएर निस्किए ।

०००

कोरोनाभाइरस महामारीका कारण चैत ११ गतेदेखि लागेको लकडाउनले मुलुक चार महिना ठप्प भयो । त्यसपछि केही खुकुलो गर्न खोजिए पनि जिल्ला प्रशासन र स्थानीय तहहरूले आवश्यकताअनुसार निषेधाज्ञा जारी गरिरहेका छन् । लकडाउन खुलेपछि पुनः कोरोना संक्रमण दर उच्च बढेपछि काठमाडौँ उपत्यका पनि केही साता बन्द रह्यो ।

समग्रमा, साढे ६ महिनादेखि काठमाडौँले खुलेर बन्दव्यापार गर्न पाएको छैन । साना पसल व्यवसाय अधिकांश विस्थापित भएका छन् । होटल चलेका छैनन् । काठमाडौँमा दुःखजिलो गरेर बसेकाहरू गाउँ फर्किएका छन् । कोरोना कहर कहिले सामान्य हुन्छ भन्ने टुंगो नलागेपछि गाउँ पुगेकाहरू उतै कुटोकोदालो समाउन थालेका छन् । परिणामतः काठमाडौँमा धेरै कोठा र सटर खाली भएका छन् । फोटोकपी पेपरमा टु-लेट लेखेर टाँसेका कोठा, फ्ल्याट र सटर बाक्लै भेटिन्छन् । समयले घर, सटर खाली गरायो । पहिले कोठा नपाउँदा डेरावाल रन्थनिन्थे, अहिले भाडा नलागेर घरबेटी रन्थनिन थालेका छन् । घरबेटीले डेरावाल खोज्नुपर्ने स्थिति आएको छ ।

प्रणाली बसाउने अवसर

कोरोना महामारीले धेरै घरबेटीलाई सबक पनि सिकाएको छ । यहाँ विद्यार्थी तथा निम्न आयस्तर भएका र मधेसी समुदायका मानिसलाई तल्लो स्तरको व्यवहार गर्ने घरबेटीहरूको कमी छैन । सुविधाअनुसारको भाडा लिनेभन्दा पनि राज्यको निरीहताको फाइदा उठाएर लुट मच्चाउनेहरूकै कारण डेरावाल संघर्ष समिति र डेरावाल सरोकार समाजहरू गठन भएका छन् । भाडावाल आयोग गठनको माग हुने गरेको छ ।

अहिले धेरै घरबेटी सोच्न बाध्य भएका छन् । ‘दिन सधैँ एकैनासको त हुँदो रहेनछ है’ भन्ने बुझ्न थालेका छन् । सटर र कोठा खाली भएपछि आम्दानी स्वाट्टै घटेको छ । आर्थिक अभाव बढ्दै जाँदा आत्मबल पनि कमजोर हुन्छ । यतिबेला उनीहरूलाई राज्यको आवश्यकता महसुस भइरहेको छ । स्थानीय तहहरूले यही समयको सही सदुपयोग गर्नुपर्छ ।

राजधानीकै स्थानीय तह अहिले सन् २००१ को तथ्यांक वेबसाइटमा राखेर बसेका छन् । आफ्नो स्थानीय तहमा कति घर छन् उनीहरूलाई थाहा छैन । आफ्नो स्थानीय तहमा कति घर छन् ? कति घर भाडामा छन् ? कति घरका सटर र कोठा भाडामा छन् ? उनीहरूले कति कति भाडा उठाइरहेका छन् ? स्थानीय तहले यसको यकिन तथ्यांक संकलन गर्नुपर्छ । सुविधाअनुसार घरहरूको वर्गीकरण गर्नुपर्छ र भाडा तोक्नुपर्छ । अहिले स्थानीय तहहरूले घरबेटीले तोकेअनुसार घरबहाल कर उठाइरहेका छन् । मासिक ५० हजार भाडा बुझ्ने घरबेटीले ५ हजार बताउँदै ५ सय बहाल कर तिरिरहेका छन् । काठमाडौँको कुन घरमा को बस्छ र के गर्छ भन्ने न घरबेटीलाई थाहा छ न राज्यलाई । यो थाहा हुनैपर्छ ।

घरहरूको यकिन तथ्यांक लिएर सुविधाअनुसार वर्गीकरण गरी बहाल तोक्ने र बहाल वृद्धि गर्ने प्रणाली बसाउने हो भने राज्यको आम्दानीमात्र बढ्दैन, डेरावाल र घरबेटी दुवैलाई सधैँ सहज हुन्छ । अहिलेको जस्तो पाइलैपिच्छे घर र सटर खाली हुने स्थिति नआउन सक्छ । देशभरका घरधनी र भाडामा बस्नेहरूको यकिन तथ्यांक स्थानीय सरकारसँग रहने भएकाले प्राकृतिक विपत्तिको समयमा स्थानीय सरकारलाई राहत वितरण गर्न, स्थानीय तहहरू बीच समन्वय गर्न र केन्द्र सरकारसँग राहतका लागि आग्रह गर्न सहज हुनेछ ।

प्रकाशित समय १५:२५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु