fbpx
corona information

गृहपृष्ठ ग्राहकलाई दिइएका सेवा स्वतः नवीकरण गरी एनसेलद्वारा १ अर्ब ठगी, नियामकले सोध्यो स्पष्टीकरण

ग्राहकलाई दिइएका सेवा स्वतः नवीकरण गरी एनसेलद्वारा १ अर्ब ठगी, नियामकले सोध्यो स्पष्टीकरण

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल आजियटा लिमिटेड (पहिलेको एनसेल)ले ग्राहकको स्वीकृतिबिना नै विभिन्न सेवा र प्याक स्वतः नवीकरण गरी १ अर्ब रुपैयाँ ठगेको पाइएको छ । एकपटक विभिन्न सेवा र प्याक खरिद गरेका सेवाग्राहीको पटक-पटक स्वतः सेवा नवीकरण गरी ठगी गरेको पाइएपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणको निर्देशनविपरीतका शब्दावली प्रयोग गरी ग्राहकले प्रयोग गरिरहेका सेवाको स्वतः नवीकरण गरी एनसेलले ठगी गरेको पाइएपछि ग्राहकलाई क्षतिपूर्ति गराउने उद्देश्यले स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्ने गरी भदौ १९ गते एनसेललाई पत्र काटेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

‘अनुगमनका क्रममा ग्राहकले प्रयोग गरिरहेका सेवा स्वतः नवीकरण गरी एनसेलले ठगी गरेको पाइएको सत्य हो,’ उनले भने, ‘स्पष्टीकरण सोधेका छौँ, प्रक्रियामै छ ।’

प्राधिकरणले विगतमा पनि एनसेललाई ग्राहकलाई प्रदान गरेका सेवा स्वतः नवीकरण नगर्न सचेत गराइसकेको थियो । ‘तर अनुगमनका क्रममा निर्देशन अटेर गरी ग्राहकबाट गैरकानुनी शुल्क लिएको पाइएको छ,’ प्रवक्ता अर्यालले भने, ‘०७५ असोज १४ को निर्णयअनुसार असोज १५ गते एनसेललाई भ्यालु एडेड सेवा (भ्यास) को स्वतः नवीकरण नगर्न निर्देशन दिएका थियौँ ।’

तर, प्राधिकरणको निर्देशन बेवास्त गर्दै एनसेलले ०७५ जेठदेखि ०७७ वैशाखसम्ममा दैनिक, तीनदिने, साप्ताहिक र मासिक नवीकरणका नाममा ग्राहकको स्वीकृतिबिना १ अर्ब २ करोड २ लाख ८९ हजार रुपैयाँ रकम ठगी रहेको अनुगमनका क्रममा पाइएको प्रवक्ता अर्यालले बताए । ग्राहकले सेवा बन्द गर्दासमेत स्वतः नवीकरण गरेर शुल्क लिएको उजुरी परेपछि प्राधिकरणले अध्ययन थालेको थियो ।

त्यस्तै एनसेलले गेमलोफ्टका विभिन्न प्याक पनि स्वतः नवीकरण गरेर ०७६ जेठदेखि ०७७ वैशाखसम्ममा करबाहेक १२ करोड १ लाख २७ हजार ठगी गरेको पाइएको छ । दूरसञ्चार ऐनमा रहेको थोरै जरिवाना व्यवस्थाको लाभ उठाउँदै एनसेल पटक-पटक यस्तो काममा संलग्न हुँदै आएको छ । यसअघि पनि शुल्क स्वीकृत नगराई सेवाग्राहीबाट साढे ४ अर्ब रुपैयाँभन्दा बढी रकम असुलेको भेटिएपछि प्राधिकरण सञ्चालक समितिले एनसेलले १० लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो ।

ऐनमा अनुमति पत्रको सर्त उल्लंघन गरे वा प्राधिकरणको निर्देशन पालना नगरे बढीमा ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ । कम जरिमाना रकमको फाइदा उठाउँदै एनसेलले नियमित ग्राहक ठग्न थालेपछि जरिवानाका साथै ग्राहकलाई क्षतिपूर्तिसमेत दिलाउने गरी प्राधिकरण अघि बढेको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रकाशित समय १०:१९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु