fbpx
corona information

गृहपृष्ठ स्वदेशमा रोजगारी नपाएपछि एक महिनायता १८ हजार नेपाली फेरि भारत फर्किए

स्वदेशमा रोजगारी नपाएपछि एक महिनायता १८ हजार नेपाली फेरि भारत फर्किए

भारतमा कोरोनाको त्रास बढेपछि फर्किएका नेपाली । अहिले भोकले मर्ने अवस्था आएपछि उनीहरू फेरि भारत जाँदैछन् । फाइल तस्बिर

कोरोनाका कारण गरिएको लकडाउन र स्थानीय स्तरमा रोजगारी नभएपछि भारतबाट आएका नेपाली पुनः भारत जान थालेका छन् । महामारीमा छाक टार्नसमेत समस्या भएपछि पेट पाल्नकै लागि पुनः भारत फर्किनुपरेको उनीहरुले बताएका छन् ।

कञ्चनपुरको त्रिनगर नाका हुँदै एक महिनाको अवधीमा १८ हजार सुदूरपश्चिमेली रोजगारीका लागि भारत गएका छन् । त्रिनगर नाका हेल्थ डेस्क प्रमुख दिनेश ठकुल्लाका अनुसार केही दिनयता दैनिक चार सयभन्दा बढी नेपाली भारत गइरहेका छन् ।

भोकै मर्नुभन्दा महामारीसँग लड्दै काम गर्न भारत जानु बाध्यता भएको उनीहरुको गुनासो छ । बर्दियाका गोपालसिंह दमाई तीन महिनाअघि भारतमा कोरोना कहरका कारण स्वदेश फर्केका थिए । ‘अर्काको देशमा मर्नुभन्दा आफ्नै घरमा मर्छु’ भन्ने सोचेर दमाई घर आएका हुन् । भारतमा रोजगार गुमेर स्वदेश फर्केका उनी तीन महिनापछि भारत फर्किए । तीन महिनासम्म घरमा बस्दा कमाएको पैसा सकियो, भोकका कारण परिवार नै संकटमा परेपछि फर्किनुपरेको उनले बताए ।

भारतमा सामान्य कोरोना संक्रमणको अवस्थामा घर फर्केका उनी भारतमा भयाभह अवस्था सिर्जना हुँदा फर्किएका छन् । कैलालीको त्रिनगर नाका हुँदै भारत पसिरहेका दमाइ भन्छन्, ‘कोरोनाले स्वदेश आएको थिएँ, यहाँ कोरोनाले भन्दा भोकले मरिने चिन्ता लाग्यो अनि भारत जान बाध्य भएँ ।’ सरकारले रोजगारीका लागि कुनै पहल नगर्दा बाध्यतावश भारत फर्किनुपरेको उनको गुनासो छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका पंकज शर्माले पनि नेपालमा गतिलो रोजगारीको माध्यम नभएको र सरकारले रोजगारीको आश्वासनमात्रै दिने भएकाले भारत फर्किनुको विकल्प नभएको बताए । ‘भोकमरी लागिसक्यो भारत नगई सुखै छैन,’ उनले भने ।

केही महिनाअघि भारतबाट आउने नेपालीको संख्या बढी हुने गरे पनि अहिले भारत फर्किनेको संख्या बढी छ । स्वदेशमा बेरोजगारी समस्या झेल्दै महामारीमै भारत जानुपर्ने अवस्थाको अन्त्य प्रदेश सरकारले गर्न नसकेकोमा उनीहरु आक्रोशित छन् ।

भारत कोरोना संक्रमण जोखिममा विश्वमै दोस्रो नम्बरमा छ । तर, खानलाउनको समेत समस्या भएपछि सुदूरपश्चिमेलीहरु महामारीको जोखिमकै बीच कामका लागि भारततर्फको यात्रा गर्दै छन् । भारतबाट आएका नेपालीलाई प्रदेशमै रोजगारीको ग्यारेन्टी गर्ने प्रदेशका मुख्य मन्त्रीको भाषण भाषणमै सीमित छ ।

भारत जान त्रिनगर नाकामा पुगेका २९ वर्षीय टेकराज ओझा पनि देशमा रोजगारी नहुँदा भारत फर्किनुपरेको बताउँछन् । ‘यहाँ पहिला पनि रोजगारी थिएन, अहिले पनि छैन, अभावैले भारत गएको हुँ,’ भावुक हुँदै उनले भने, ‘कोरोना त्रासले स्वदेश त आएँ तर घरमा बसीबसी खान लाउन नपुग्ने भयो, के गर्नु भारत जानैपर्‍यो ।’ घरमा उनका दुई छोराछोरी, श्रीमती छन् । उनीहरू भोकाएको हेर्न सकेनन् । परिवारप्रतिको जिम्मेवारी पूरा गर्नकै लागि कोरोना कहरकै बीच भारत पस्न बाध्य भएको उनले बताए ।

कोरोना महामारीपछि स्वदेश फर्किएकाहरू रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आएको भन्दै फेरि भारत जान थालेका हुन् । भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीलाई सीमा नाकाबाट प्रवेश दिइरहेको छ । कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर पनि भारत जाने गरेका छन् ।

भारतमा यतिखेर उच्च दरमा कोरोना संक्रमण फैलिरहेको छ । बितेका २४ घण्टामा मात्रै ७५ हजार संक्रमित थपिएका छन् भने १ हजार १२९ जनाको ज्यान गइसकेको छ । भारतमा हालसम्म ४२ लाख ७७ हजार मानिस संक्रमित भएकोमा ७२ हजार ८१६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित समय ०७:३१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु