fbpx
corona information

गृहपृष्ठ लकडाउनले अरू स्वास्थ्य समस्या निम्त्यायो ? उपचार पद्धतिबारे जान्नुहोस्

लकडाउनले अरू स्वास्थ्य समस्या निम्त्यायो ? उपचार पद्धतिबारे जान्नुहोस्

नोवेल कोरोनाभाइरसबाट हुने कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसमा अन्य धेरै किसिमका स्वास्थ्य समस्या देखिएका छन् । लकडाउन अवधिमा अर्थतन्त्र, श्रम तथा रोजगारी, आम्दानी, यातायातलगायतका क्षेत्रमा परेको प्रभावका विषयमा निकै चर्चा भइरहे पनि स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे भने खासै चर्चा भएको छैन ।

लकडाउनका कारण मानिसहरूमा ढाड तथा कम्मर दुख्ने, अनिद्रा हुने, एकोहोरो हुने, डिप्रेसन, डाइबेटिज, मुटुरोग तथा माइग्रेनजस्ता दीर्घरोगीहरूले फलोअप जान नसक्ने जस्ता कारण स्वास्थ्य समस्या थपिएको छ । काठमाडौँको सुस्वास्थ्य अस्पतालको फेसबुक पेजमार्फत दैनिक ३ सयभन्दा बढीले कम्मर र गर्धन दुख्यो भनेर प्रश्न गर्ने गरेका छन् । ‘यो संख्या विगतको तुलनामा एकदमै धेरै हो,’ अस्पतालका अध्यक्ष अकु. सुदर्शन बस्नेत भन्छन्, ‘यस्तो समस्या १५ देखि २१ वर्ष उमेर समूहका धेरै छन् ।’ उनी अस्पताल सञ्चालकहरूको संस्था प्राकृतिक चिकित्सा तथा योग अस्पताल संघका अध्यक्ष पनि हुन् ।

लकडाउनको अवधिमा स्कुल, कलेज बन्द भएकाले जतिबेलै मोबाइल चलाएर बस्ने, टिभी हेर्ने युवामा कम्मर तथा गर्धनको समस्या बढी देखिएको उनले बताए । ‘दैनिक २ सयजति त कम्मर र गर्धनको उपचारका लागि अस्पताल आउने गरेका छन्,’ बस्नेत भन्छन्, ‘विगतमा उपचार गराएर ठिक भएका र नयाँ बिरामीको फ्लो पनि एकदमै बढेको छ ।’ मीनभवन क्षेत्रमा अस्पताल भएकाले मानिसहरू हिँडेर भए पनि उपचारका लागि आउन सहज भएको उनको बुझाइ छ ।

काठमाडौँ बाँसबारीमा रहेको वेलनेस हस्पिटलका अध्यक्ष डा. जनकबहादुर बस्नेत पनि लकडाउनका कारण धेरै मानिसमा स्वास्थ्य समस्या देखिएको बताउँछन् । ‘युवायुवतीमा बढी कम्मर र गर्धनको समस्या देखिएको छ,’ उनी भन्छन्, ‘दैनिक फोन गरेर जानकारी लिनेको संख्या ठूलो हुन्छ तर सवारी साधनको एक्सेस नभएकाहरू उपचारका लागि आउन सकेका छैनन् ।’ उनी प्राकृतिक चिकित्सा तथा योग अस्पताल संघका वरिष्ठ उपाध्यक्ष हुन् ।

डा. बस्नेतका अनुसार घाँटी तथा कम्मरका पुराना बिरामीमा पनि थप समस्या बढेर गएको छ भने नयाँ बिरामी पनि धेरै थपिएका छन् । अनिद्रा, आत्तिने जस्ता समस्या, हाड तथा नसाको समस्या, मधुमेह, माइग्रेनजस्ता समस्याको समयमा उपचार हुन सकेन भने जटिल हुँदै जाने उनले बताए । ‘यस्ता रोगहरूको प्रभाव देखिन थालिसकेको छ,’ डा. बस्नेत भन्छन्, ‘समयमा उपचार भएन भने समस्या विकराल हुने देखिन्छ ।’

उपत्यकामा मात्र नभएर बाहिरका जिल्लामा पनि कम्मर तथा गर्धनका बिरामी बढेका छन् । ‘दैनिक ठूलो संख्यामा कम्मर र गर्धनको समस्याबारे बुझ्न फोन आउँछ तर सवारी साधन नखुलेका कारण मानिसहरू उपचारका लागि आउन सकेका छैनन्,’ बुटवलमा रहेको गुराँस हस्पटलका सञ्चालक सरस्वती पन्थी भुसाल भन्छिन्, ‘नयाँ बिरामी पनि थपिएका छन्, पुराना बिरामीले पनि समस्या थपियो भनेर फोन गरेका छन् ।’

कस्ता‑कस्ता समस्या देखिए ?

लकडाउनमा खासगरी मानिसहरू घरमै बसेका कारण मसल स्पाजमको समस्या बढेको छ । नियमित व्यायाम नहुँदा मसलहरू पम्म हुन नपाउने र स्पाजमको समस्या बढ्दै जाने संघका अध्यक्ष सुदर्शन बस्नेत बताउँछन् । ‘लकडाउनका कारण विद्यार्थी विद्यालय कलेज जान पाएनन्, उनीहरू दिनभर कुनै न कुनै हिसाबले व्यायाम गर्थे,’ उनी भन्छन्, ‘अरुबेला पनि नियमित व्यायाम नगर्ने यो वर्ग लकडाउनका बेला पनि चुपचाप बस्यो, यसैले उनीहरू बढी प्रभावित भएका छन् ।’

त्यस्तै वृद्धवृद्धा र अरु मानिसहरू मर्निङ तथा इभिनिङ वाक गएनन् । युवा वर्गमा मनोवैज्ञानिक असर थपिनुको मूल कारण पनि साथीभाइ भेटघाट पातलिएर हो । ‘रेस्टुरेन्ट जाने, फिल्म हेर्न जाने, साथीभाइ भेट्ने, घुम्न जानेलगायतका काम ठप्प छन्,’ अध्यक्ष बस्नेत भन्छन्, ‘यी कुनै गतिविधिमा सहभागी हुन नपाउँदा युवाहरु निकै आत्तिएका छन्, यसले मानसिक समस्या बढाएको छ ।’

उनका अनुसार एउटा मात्र कोठामा बस्नेहरूलाई भिटामिन डी अभावको समस्या बढेर गएको छ । ‘यसै पनि सहरी क्षेत्रका मानिसमा भिटामिन डी अभावको समस्या थियो, अहिले झन् बढेको छ,’ अध्यक्ष बस्नेत भन्छन्, ‘अहिले यससँगै पोषण तत्वको कमी पनि भएको छ ।’ देशको पूरा शक्ति कोरोनाका पछि लाग्दा अरु धेरै स्वास्थ्य समस्याबारे ध्यान गएको छैन । ‘यसले झन् ठूलो दुष्परिणाम त निम्त्याउने होइन ?’ उनले प्रश्न गरे ।

वेलनेस अस्पतालका अध्यक्ष डा. जनकबहादुर बस्नेत लकडाउनका कारण दीर्घरोगीहरू बढी पीडित भएको बताउँछन् । ‘डाइबेटिज, मुटुरोग, माइग्रेनलगायतका बिरामीले नियमित स्वास्थ्य परीक्षणमा जानुपर्ने, औषधी थपघट गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘तर लकडाउनका कारण घरमै खुम्चिनुपर्दा उनीहरूको समस्या थप जटिल बन्दै गएको छ ।’

काठमाडौँबाहिरबाट नियमित स्वास्थ्य परीक्षणमा आउनुपर्ने मानिस चार महिनादेखि घरैमा बस्न बाध्य छन् । जिल्लाका धेरै अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएका कारण सबै प्रकारका बिरामीले सहज उपचार पाउन सकेका छैनन् । सामान्य रुघाखोकी लागेका बिरामीलाई समेत अस्पतालहरूले कोरोनाका नाममा पन्छाउने गरेकाले समस्या गिहरिँदै गएको छ ।

समाधानको उपाय के ?

अहिले लकडाउन खुला भए पनि सार्वजनिक यातायातका साधनको पहुँच छैन । सरकारले निजी सवारी साधनमा पनि जोर‑विजोर प्रणाली लागू गरेको छ । साउन ७ गतेसम्म यसैगरी अघि बढ्नेबारे सरकारले औपचारिक जानकारी गराइसकेको छ ।

यसबीचमा अझ धेरै कोरोनाभाइरस संक्रमित फेला परिसकेका छन् । प्रतिरोधी क्षमता राम्रो भएकाहरूका लागि कोभिड १९ सामान्यझैँ देखिए पनि प्रतिरोधी क्षमता र मनोबल कमजोर भएकाहरूका लागि यो रोग घातक सिद्ध भइसकेको छ ।

सरकारले बनाएको व्यवस्थाविरुद्ध हामी जान सक्दैनौँ तर कोरोनाभाइरसका बीच अन्य स्वास्थ्य समस्या थपिन नदिन हामीले गर्न सक्ने धेरै कामहरू छन् । प्राकृतिक चिकित्सा तथा योग अस्पताल संघका अध्यक्ष सुदर्शन बस्नेत र योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतका सुझाव :

१. मोबाइल तथा टेलिभिजनमा धेरै समय नदिने ।

२. कम्मर तथा गर्धनको नियमित व्यायाम गर्ने ।

३. पारिवारिक मनोरञ्जनात्मक गतिविधि बढाउने ।

४. बिहान र बेलुकाको समयमा घरबाहिर खुला हावामा निस्किने ।

५. मनपर्ने गीत संगीत सुन्ने, परिवारका सदस्यबीच नाच्ने र रमाउने ।

६. नकारात्मक समाचार नहेर्ने, नसुन्ने र नपढ्ने ।

७. योग तथा ध्यान गर्ने ।

८. मन पर्ने पाठ्यसामग्री (उपन्यास, कथा, कविता) पढ्ने ।

९. मोटिभेसनल स्पिच सुन्ने ।

१०. कमेडी सो हरु हेर्ने ।

११. बसेका बेला बसाइको पोजिसनमा ध्यान दिने ।

१२. सन्तुलित भोजनमा गर्ने ।

१३. मोबाइलमा लामो समय कुरा नगर्ने ।

१४. माइग्रेन तथा मुटुरोगीहरू राति अवेरसम्म जागा नबस्ने ।

१५. समस्या कम नभए डाक्टरसँग परामर्श गर्ने ।

प्रकाशित समय १८:०७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु