fbpx
corona information

गृहपृष्ठ अब १० करोडभन्दा बढी घुस लिए ‘जन्म कैद’

अब १० करोडभन्दा बढी घुस लिए ‘जन्म कैद’

jail- newskarobar

अब १० करोड रुपैयाँभन्दा बढी घुस लिए ‘जन्म कैदजत्तिकै’ सजाय हुने भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा शुक्रबार भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सांसदहरूबीच सहमति जुटेको हो ।

यो व्यवस्थासँगै १० करोड रुपैयाँभन्दा बढी घुस (रिसवत) लिएको प्रमाणित भएमा भ्रष्टाचारीबाट घुस रकम त जफत हुन्छ नै सोही बराबरको बिगो पनि असुलउपर हुनेछ । ‘यसको अर्थ भ्रष्टाचारीले कम्तीमा १० करोड रुपैयाँ बिगो तिर्नुपर्ने अवस्था आउँछ,’ विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले भने, ‘थप १० करोड बिगो बराबरको रकम तिर्न नसकेपछि उसलाई जन्म कैद नै हुनेछ ।’ विद्यमान व्यवस्थाअनुसार २० वर्षको जेल सजायलाई जन्मकैद भनिएको छ ।

विश्वमा अस्थिर राजनीति र भ्रष्टाचारको दलदलमा फसेकै कारण विकसित हुन नसकेका धेरै देश रहेको तथ्यलाई हृदयंगम गर्दै सरकारले भ्रष्टाचार निवारण ऐनलाई संशोधन गरी सजाय बढाउन लागेको सभापति गुरुङले बताए । ‘राजनीतिक स्थिरता मात्र भएर मुलुक विकास नहुने रहेछ,’ उनी भन्छन्, ‘यसकारण भ्रष्टाचारको समूल अन्त्यका लागि सजायका विद्यमान प्रावधानहरूलाई बढाउन लागिएको हो ।’

समितिका सदस्यहरूबीच एक करोडदेखि १० करोडसम्म घुस लिएको प्रमाणित भएमा आठदेखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ । ‘यो सजाय पनि करिब करिब जन्म कैद बराबरकै हुन्छ,’ समितिका सभापति गुरुङ भन्छन्, ‘घुस रकम र सोही बराबरको जरिवाना तिर्नुपर्ने भएपछि स्रोत देखाउन समस्या पर्छ, यस्ता प्रावधानले भ्रष्टाचार निरुत्साहित हुने हाम्रो बुझाइ छ ।’ यसअघि एक करोडभन्दा बढी जतिसुकै रकम घुस लिए पनि आठदेखि १० वर्षसम्म कैद र बिगोबराबर जरिवाना हुने व्यवस्था थियो ।

विधायन समितिमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म घुस लिने व्यक्तिलाई चारदेखि आठ वर्षसम्म कैद हुने प्रावधानमा सहमति जुटेको छ । त्यस्तै, २५ लाखदेखि ५० लाखसम्म घुस लिनेलाई चार वर्षदेखि ६ वर्ष कैद, पाँच लाखदेखि २५ लाखसम्म घुस लिएमा दुई वर्षदेखि चार वर्षसम्म कैद, एक लाखदेखि ५ लाखसम्म घुस लिएमा एक वर्षदेखि दुई वर्ष कैद, ५० हजारदेखि एक लाखसम्म घुस लिएमा ६ महिनादेखि एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म घुस लिएमा एकदेखि ६ महिना कैद र विगोबराबर जरिवाना गर्नुपर्नेमा पनि सांसदहरु सहमत भएका छन् ।

यसबाहेक राष्ट्रसेवकको जागिर जाने, पेन्सन रद्द हुने, राजनीतिक करियर सकिनेलगायतका कारण पनि भ्रष्टाचार निरुत्साहित हुने सभापति मेघीको विश्वास छ ।

प्रकाशित समय १४:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु