गृहपृष्ठ भारतबाट फर्किएका नेपाली भन्छन्‑ साह्रै दुःख पाइयो, अब गइन्न

भारतबाट फर्किएका नेपाली भन्छन्‑ साह्रै दुःख पाइयो, अब गइन्न

महामारीका बेला भारतीय क्वारेन्टिनमा लामो समय बसेर फर्किएका नेपालीहरूले अब भारत नजाने बताएका छन् । क्वारेन्टिनमा बस्दाको अनुभव सुनाउँदै नेपालीहरुले अब भारत नफर्किने निर्णय गरेका हुन् ।

भारतको सितारगन्जबाट फर्किएका कैलालीको गौरीगंगा नगरपालिकाका हिमाल चौधरीले निकै पीडा खेप्नुपरेको बताए । ‘भारतको क्वारेन्टिनमा बस्दा कति समस्या भोगियो भनेर साध्य छैन,’ चौधरीले भने, ‘कहिले पेट भरी खाना पाइन्थ्यो त कहिले एक छाक मात्रै पाइन्थ्यो ।’ खानाको स्वाद त परै जाओस् नियमित खान नै नपाएको उनले बताए । ‘क्वारेन्टिनमा बस्दा भारतीयले गरेको व्यवहारकै कारण अब नफर्किने सोचमा पुगेको हुँ,’ उनले भने, ‘नेपालमै केही गर्छु, मरे पनि यतै मरुँला ।’

कैलालीको धनगढी उपमहानगरपालिका १७ का बुधराम डँगौरा पनि मंगलबार नेपाल प्रवेश गरेका हुन् । हिउँदको काम सकेर भारतको बरेलीमा उखु मिलमा काम गर्न गएका डँगौरा एक महिना काम गर्नेबित्तिकै लकडाउनमा फसे । श्रीमतीसहित मिलमा कामका लागि गएका उनलाई रोजगारी गुमेपछि भारतीय क्वारेन्टिनमा राखियो । ‘घरमा साना छोराछोरी छन्,’ उनले भने, ‘श्रीमतीसहित काममा हिँड्दा निकै पीर परेको थियो, आज बल्ल जन्मभूमि टेक्न पायौँ, निकै खुसी छु ।’

हुलका हुल नेपाल भित्रिँदै

कैलालीको त्रिनगर नाकाबाट हुलका हुल नेपाली भित्रिरहेका छन् । लकडाउनका कारण मजदुरी खोसिएपछि उनीहरू स्वदेश फर्किरहेका हुन् । कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण लकडाउनभएसँगै देशभरका सीमा नाका बन्द छन् । कैलाली, कञ्चनपुरका सीमा नाकाबाट भने स्वदेश फर्किने नेपालीको भीड नै लागेको छ । सुदूरपश्चिम प्रदेशका मात्रै करिब १० लाख नागरिक भारतमा रोजगारीमा जाने गरेको अनुमान छ ।

४५ दिन भारतीय क्वारेन्टिनमा बसेपछि कैलालीको त्रिनगर नाकाबाट वैशाख ३१ गते करिब एक हजार नेपालीको उद्धार गरेको थियो ।

४५ दिन भारतीय क्वारेन्टिनमा बसेपछि कैलालीको त्रिनगर नाकाबाट वैशाख ३१ गते करिब एक हजार नेपालीको उद्धार गरेको थियो । त्यसपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको हो ।

भारतले पास उपलब्ध गराएपछि उनीहरु सीमासम्म आइपुगेका थिए । मंगलबार र बुधबार मात्रै त्रिनगर नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिएका छन् । भारतबाट फर्किएका धनी टमाटाले रोजगारी गुमेपछि अन्तिम स्वदेश फर्किनुको विकल्प नरहेको बताए । ‘दुई महिनादेखि न नोकरी छ न त घर फर्किने बाटो नै,’ उनले भने, ‘बल्ल भारतमा रेल र बस खुलेपछि घर फर्किन पायौँ । भारतमै बस्यौँ भने खान नपाएर मरिने डर भयो, त्यसैले जोखिम मोलेरै नेपाल फर्केका हौँ ।’

रामबहादुर साउदले पनि भोकभोकै मरिने हो कि भन्ने चिन्ताले घर फर्किएको बताए । उनले भने, ‘भारतमा कोरोनाका कारण रोजगारी गुमेर समस्यामा पर्नुका साथै लिपुलेक, कालापानी मुद्दाका कारण पनि नेपालीहरु हेपिन थालेका छन् ।’

धेरै भित्रिएपछि र्‍यापिड टेस्ट किट अभाव

वैशाख ३१ गते सीमाबाट उद्धार गरिएका सबै नेपाली नागरिकको सिमामै र्‍यापिड टेस्ट गरेर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिए पनि मंगलबारदेखि भित्रिरहेका नागरिकमध्ये सबैको र्‍यापिड टेस्ट गर्न सकिएको छैन । दैनिक हजारौँ नेपाली स्वदेश भित्रिन थालेपछि टेस्ट किट अभाव हुन थालेको कैलाली प्रशासनले जनाएको छ । मंगलबार भित्रिएका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण नभए पनि बुधबार भने ८ सय जनाको र्‍यापिड टेस्ट गरिएको थियो । हुलका हुल नेपालीहरु भित्रिन थालेपछि व्यवस्थापनमा समस्या आउनुका साथै सबैको स्वास्थ्य जाँच गर्नसमेत समस्या भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

सरकारले सीमा बन्द गरे पनि भारतबाट नेपालीहरु धमाधम सीमामा पुग्न थालेपछि दुबै देशका प्रशासनको समन्वयमा उनीहरुलाई भित्र्याउने काम भइरहेको छ । सीमा पूर्ण रुपमा बन्द भए पनि अलपत्र परेकाहरुलाई उद्धार गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । शंका लागेको खण्डमा उनीहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने कार्य भइरहेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । साथै स्थानीय तहहरुले क्वारेन्टिनको संख्या बढाइरहेकाले तत्काललाई व्यवस्थापनमा समस्या नहुने उनले जानकारी दिए ।

रोजगारीलाई प्राथमिकता दिन माग

कोरोना संक्रमणसँगै निरन्तरको लकडाउनले काम नै बन्द हुँदा लाखौँ सुदूरपश्चिमेली बेरोजगार बन्दै स्वदेश फर्किरहेका छन् । लकडाउनका कारण रोजगारी नै ठप्प भएपछि स्वदेश भित्रिएका र भित्रिँदै गरेका नेपाली अब के होला ? भन्ने चिन्तामा छन् ।

रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै देशमा काम गर्ने इच्छा उनीहरूमा छ । कामको सिलसिलामा भारत गएका डडेल्धुराका सागर रावल स्वदेशमै रोजगारीको व्यवस्था भए विदेश नजाने पक्षमा छन । लाखौँ युवा स्वदेश भित्रिएकाले सरकारले विभिन्न आयआर्जन तथा सीपमूलक कामका साथै कृषिमा व्यावसायिकताका कार्यक्रम ल्याई रोजगारी सिर्जना गनुपर्ने उनी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले विदेशबाट फर्किएको जनशक्तिलाई रोजगारी दिन कृषिलाई प्राथमिकता दिइएको बताइन् । कोभिड १९ को संकटका कारण बेरोजगार बनेका युवा तथा कृषकलाई आगामी आर्थिक वर्षको बजेटमार्फत विशेष कार्यक्रम ल्याइने उनले जानकारी दिइन् ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु