fbpx
corona information

गृहपृष्ठ भारतीय मिडिया-चरित्रविरुद्ध उभिऔं

भारतीय मिडिया-चरित्रविरुद्ध उभिऔं

नेपाल सरकारले विगतमा छुटेका भूमिसहितलाई समेटेर बुधबार नेपालको नक्सा जारी गरेपछि भारतीय मिडिया गति छाडेर उत्रिएका छन् । विश्व मिडियाजगतमा भारतीय मिडियाको शैली र समाचार प्रस्तुति सधैँ आपत्तिजनक हुनेमा जोकोही स्पष्ट छन् । यसपटक पनि नेपालले सार्वजनिक गरेको नक्सा, नक्सा जारी गर्नका लागि टेकिएका आधार र त्यसविरुद्धका भारतीय मिडियाको प्रस्तुतिमा कुनै पत्रकारिता नभएर कुण्ठामात्र छाइरहेका छन् । भारतीय मिडियाका निकृष्ट समाचारशैलीका कारण तिनीहरू आन्तरिक रूपमै पनि आलोचित छन् । टीआरपीका लागि आक्रामक शैलीमा प्रस्तुत हुने, छिमेकीहरूसँगका सम्बन्धमा भड्काउ अभिव्यक्ति दिने त्यहाँमा मिडियाका चरित्र नै बन्न पुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम जारी गर्दै ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो र सरकारले चाँडै यी भूमिलाई समेटेर पूर्ण नक्सा सार्वजनिक गर्ने’ घोषणा गरेकी थिइन् । भारतले त्यसपछि सेना प्रमुखबाट नेपालको घोषणाको विरोध गर्न लगायो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा ‘सरकारले छिट्टै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने’ प्रतिबद्धता जनाए । त्यसको भोलिपल्ट नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा विशेष कार्यक्रम गरी नेपालको नयाँ नक्सा जारी गरेसँगै भारतीय मिडियाले ‘कलम छाडेर विद्वेषका राग अलाप्न’ थालेका छन् ।

नेपालले तत्कालीन ब्रिटिस इन्डियासँग सन् १८१६ मा भएको सुगौली सन्धी, वि. सं. २०१८ सालसम्म लिम्पियाधुरामा रहेका नेपालीले तिरो तिरेको रसिद, भारतीय राजपत्रमै उल्लेख भएका तथ्यलगायतका आधारमा नेपालले आफ्नो पूर्ण सीमासहितको नक्सा जारी गरेको हो । भारतीय सेना २००८ साल फागुन १५ गते काठमाडौं विमानस्थलमा उत्रिएको थियो । त्यसको १८ वर्षसम्म नेपालका विभिन्न भूभागमा निर्वाध बुट बजार्‍यो । २०२६ साल पुस १७ गतेसम्म नेपालमा रहेको भारतीय सेनाका १६ वटा पोस्ट १८ वर्षपछि फर्किए तर २०१९ सालमा कालापानी आएको सेना अहिलेसम्म नफर्किएको विषयमा भारतसमेत पूर्ण जानकार छ ।

भारतीय मिडिया र तिनले उचालेका केही कथित रक्षाविज्ञले नेपालसँग जोडेर चीनलाई समेत गाली गर्नु अत्यन्तै अमर्यादित, गैरजिम्मेवार र जवाफदेहीविहीन छ । यो कुटनीतिक आचरणविरुद्ध पनि हो । सदीयौँदेखि स्वतन्त्र राष्ट्र नेपाललाई चीनको गुलाम आरोप लगाउनु अत्यन्तै अमर्यादित र अशोभनीय हो । नेपालका सबै सञ्चार माध्यमले यतिखेर राष्ट्र र राष्ट्रियताका पक्षमा एकै ठाउँमा उभिएर नेपाल र नेपालीप्रति भइरहेको अपमानको दह्रो प्रतिकार जनाउनु आवश्यक भइसकेको छ । लिम्पियाधुरा-लिपुलेक-कालापानी नेपाली भूमि हो भन्ने कुरामा कुनै द्विविधा छैन । मुलुकले आफ्नो भूमि, आफ्नै हो भनेर दाबी प्रस्तुत गर्दा यसरी एक सार्वभाैमसत्ता सम्पन्न स्वाधीन मुलुकमाथि अशोभनीय प्रहार सह्य हुँदैन ।

मिडिया खास सिद्धान्तको जगमा उभिएको हुन्छ, मिडियाका आचारसंहिता हुन्छन्, मिडिया सामग्री सन्तुलित हुनुपर्छ भन्ने मूल्यमान्यता रहन्छ । नेपालभन्दा लामो पत्रकारिताका इतिहास रहेको भारतमा छापा माध्यमभन्दा टेलिभिजन पत्रकारिता पिपली लाइभ सिनेमाका चरित्रभन्दा माथि उठ्न सकेको छैन । नेपाली सिने अभिनेत्री मनीषा कोइरालामाथिको व्यक्तिगत आक्रमण त अलिकतिमात्रै विवेक भएका भारतीय नागरिकले समेत पचाउन नसक्ने खालको छ । एउटा स्वाधीन राष्ट्रकी नागरिकका रूपमा मनीषाले आफ्नो मुलुकमा पक्षमा बोल्ने, लेख्ने अधिकार राख्दछिन् । भारतमा उनी केबल काम गर्न, कला देखाउन गएकी हुन् ।

व्यापारको प्रसंगमा पनि भारतीय संस्थापन पक्षधरले ‘भारतले नेपाललाई भाँडामा भात हालिदिएको’ जस्तै शैली देखाएका छन् । हामीले भारतसँग पैसा तिरेर सामान किनेका छौँ । भारतको १०‑११ खर्बको व्यापार हो नेपालसँग, निःशुल्क पठाइदिएको सामग्री होइन । उसको मुख्य निर्यात बजारमध्ये एक हो नेपाल । भारतले जिम्मेवार छिमेकी बनेर समुद्रसँग जोडिने सबैभन्दा छोटो मार्ग नदिएकै कारण नेपालीले महँगोमा सामान किन्नुपरेको छ, भारतमा बढी भर पर्नुपरेको छ । यो कुरा संयुक्त राष्ट्र संघीय महासन्धिहरूले समेत प्रत्याभूत गरेको विषय हो,  कुनै पनि भूपरिवेष्टित मुलुकलाई समुद्रसँगको सहज पहुँच दिनुपर्ने अन्तर्राष्ट्रिय विधानलाई हेर्ने हो भने यो कसैका निगाह हैन, स्वाधीन र स्वतन्त्र मुलुकको अधिकारभित्र पर्छ ।

रोजगारीका सवालमा पनि भारतमा लाखौँ नेपाली रोजगारीका लागि जान्छन् र नेपालमा पनि रोजगारीका लागि लाखौँ भारतीय आउँछन् । विश्वका विभिन्न देशमा यस्ता कूटनीतिक क्रियाकलाप निर्वाध हुन्छन् । नेपालका सीमा क्षेत्रमा मात्र दैनिक लाखौँ भारतीय ज्यालादारीका लागि आउँछन् र बिहान‑बेलुकाको छाक टार्छन् । उनीहरूलाई नेपालले कहिल्यै अपमानजनक व्यवहार गरेको छैन । तर सीमा क्षेत्रका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट समय-समयमा ज्यादति भइरहन्छन् । विश्व बैंकको तथ्यांकअनुसार नेपालबाट भारतमा सवा ३ खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स जाने गरेको छ भने भारतबाट १ खर्ब रूपैयाँजतिमात्र रेमिट्यान आउने गरेको छ ।  अनौपचारिक रेमिट्यान्स त्योभन्दा बढी जाने गरेको आकलन गरिन्छ । खुला सीमा, समान धार्मिक आस्था र सीमावारपार  रोटीबेटीको सम्बन्धका लागि नेपाल सधैँ भारतका अगाडि ‘सहज’ बनिदिएको हो, निरीह होइन । तर, भारत सरकारले डकुमेन्टमात्र देखेको (सम्झौता नगरेको) ब्रिटिस इन्डियासँगको हाम्रो सम्झौताअनुसारको भूमिमा वर्षौंदेखि सेना राख्नु अशोभनीय मात्र होइन, प्रधानमन्त्री ओलीले भनेझैँ सिंह प्रवृत्ति नै हो भन्नेमा भारतीय पक्ष स्पष्ट हुनुपर्छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा भारत र चीन दुवै जानकार छन् । मानसरोवर जान सहज हुन्छ भन्दै अर्काको भूमिमा सडक बनाउनु दादागिरि चरित्र नै हो । भारतीय मिडियाले पनि कुनै विषयमा समाचार सामग्री तयार पार्नुअघि अध्ययन गरुन्, अध्ययन सामग्री छैनन् भने नेपालसँग छन्, तर भारत सरकारको अर्घेल्याइँविरुद्ध खबरदारी गरुन्, सीमा समस्या समाधान गर्न वार्ताका लागि दबाब दिउन् ताकि गलत प्रवृत्तिलाई प्रश्रय दिइएका कारण नेपाल र भारतको वर्षौंवर्षदेखिको प्रिय सम्बन्धमा चिसोपना नआओस् ।

प्रकाशित समय १२:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु