गृहपृष्ठ सरकारले काट्यो अतिअशक्त अपांगको सामाजिक सुरक्षा भत्ता

सरकारले काट्यो अतिअशक्त अपांगको सामाजिक सुरक्षा भत्ता

Disability फाइल तस्बिर

सरकारले हठात् रुपमा अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका एकल/विधवा भत्ता रोकेको छ । सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यी वर्गको भत्ता रोक्न भनेको हो ।

विभागअन्तर्गतको ‘व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा– व्यवस्थापन सूचना प्रणाली (भीइआरएसपी– एमआईएस सर्भिस) ले फेसबुक पेजमा सूचना हालेर ती वर्गले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रोकेको हो ।

फेसबुक पेजको सूचनामा भनिएको छ,–


नेपाल सरकारले न्यून आयको मापदण्ड नतोकुञ्जेल ६० वर्ष मुनिका विधवा महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने, निलो कार्ड भएका अति अशक्त अपांगले सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने, त्यस्ता लाभग्राहीको विवरण विभागले नै लगत कट्टा र अभिलेख व्यवस्थापन गर्ने भएकाले स्थानिय तहले लगत कट्टा/update लगायतका कार्य गरि नहाल्ने । ६० वर्षभन्दा कम उमेर भएका विधवा महिला तथा अति अशक्त अपांगको नयाँ निवेदन नलिने, बालबालिका सुरक्षा भत्ताको हकमा मन्त्रिपरिषदबाट अर्को निर्णय हुन सक्ने, विभागबाट sytem update नहुन्जेल तेस्रो चौमासिक भत्ता वितरण नगर्ने ।

विभाग आफैले तयार पारेको सामाजिक सुरक्षा ऐन २०७५ तथा सामाजिक सुरक्षा नियमावली २०७६ मा भएको सामाजिक सुरक्षा नियमावलीमा भएको सामाजिक सुरक्षासम्बन्धी नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुटाइएको छ ।

परिपत्रमा भनिएको छ- अति अशक्त अपांगता ख वर्गको अपांगता परिचयपत्र भएका व्यक्तिका लागि ऐनमा व्यवस्था नभएको ।

यो निर्णयका कारण अब ६० वर्ष नपुगेका विधवा/एकल महिलाले पनि सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् ।

अतिअशक्त अपांगता भएका व्यक्तिहरूले आर्थिक वर्ष २०६५/६६ देखि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा यो वर्गका अपांगता भएका व्यक्तिहरू, जसले नीलो कार्ड पाउँदै आएका छन्, उनीहरूका लागि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरिएको थियो ।

सुरुमा मासिक ३०० रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिइने गरिएकोमा डा. रामशरण महत अर्थमन्त्री भएका समयमा यसमा वृद्धि गरी ६०० रुपैयाँ पुर्‍याइएको थियो भने हाल १६०० रुपैयाँ पाउँदै आएका छन् ।

यसबाहेक क वर्गको रातो परिचयपत्र पाउने पूर्ण अपांगता भएका व्यक्तिले मासिक रुपमा ३००० हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

नीलो कार्ड पाउने वर्गमा कम्मरदेखि मुनि आधा शरीर नचल्ने स्पाइनल इन्जरी भएकादेखि पूर्ण दृष्टिविहीनसहित जीवनका क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रुपमा अरुको सहयोग लिनुपर्ने अवस्थाको व्यक्तिहरू पर्छन् ।

सरकारकै तथ्यांकअनुसार हाल देशभरि २ लाख व्यक्तिहरुले अपांगता परिचयपत्र लिएकोमा ५१ हजार ९०४ जनाले पूर्ण अपांगता भएका व्यक्तिले, ९७ हजार अतिअशक्त अपांगता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

अपांगता अधिकारकर्मी भोजराज श्रेष्ठ यसरी संकटका समयमा अतिअशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय भएको भन्दै अब अपांगता भएका व्यक्तिहरू आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउँछन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पाैडेल यो सामाजिक सुरक्षा ऐन २०७५ जारी हुँदा छुट हुँदा यस किसिमको अन्योल भएको स्वीकार्छन । निलो परिचयपत्र बाहकहरूले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्थाका लागि ऐन तथा नियमावली संसोधन हुनुपर्ने भएकाले यस विषयमा अन्याेल बढेको उनले बताए ।

 

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु