fbpx
corona information

गृहपृष्ठ यस्तो पनि क्वारेन्टिन !

यस्तो पनि क्वारेन्टिन !

स्थानीय भन्छन्- राहत पनि पाएनौँ, गाउँपालिका भन्छ- पर्याप्त दिइरहेका छौँ

तस्बिर : हेमराज जोशीको फेसबुकबाट ।

मंगलबार साँझतिर फेसबुकमा एउटा पोस्ट देखियो । हेमराज जोशीले आफ्नो टाइमलाइनमा गाउँले दाजुभाइको सहयोगमा सामान्य टहरा बनाएर बाहिरबाट आएकाहरुलाई त्यहीँ राख्ने व्यवस्था गरेको स्ट्याटस र तस्बिर पोस्ट गरेका रहेछन् । तस्बिर देख्नेबित्तिकै लाग्यो‑ मानिसहरु आफैँ यति संयमित छन् भने त्यसमा सरकारले थोरै मात्र सहजीकरण गरिदिए सबैको जीवन सुरक्षित हुन्थ्यो होला ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ बाट आफू पनि बाँचौँ र अरुलाई पनि बचाऔँ भन्ने मनसायले उनीहरु गाउँनजिकै टहरा बनाएर बसेका रहेछन् । सुरक्षित तरिकाले बस्नका लागि व्यवस्थित नभए पनि हेमराजलगायतले सानो टहरा बनाइदिएका रहेछन् । खप्तड छान्ना गाउँपालिका ५ पिठातोलाका हेमराजले छिमेकी काकाभाइ गाउँमा आउन लागेको खबर पाउनेबित्तिकै कोरोना महामारीका बेलामा सबै सुरक्षित रहनुपर्छ भनेर तत्कालका लागि वल्लोपल्लो घरबाट सामान जुटाउँदै टहरा बनाएको बताए ।

हेमराजले भने, ‘गाउँ पुग्नुभन्दा अगाडि काकाले हामी आउँदै छौं भनेर फोन गर्नुभएको थियो । बाटोमा भने कतै क्वारेन्टिन रहेनछ, एक ठाउँमा ज्वरो नाप्यो र पठाइदियो भन्नुभयो । त्यसपछि हामीले पनि यता सामान्य भए पनि टहरा बनायौं, वल्लोपल्लो घरबाट खानेकुराको जोहो गर्‍यौँ । उहाँहरु आउनुभयो र बस्नुभयो ।’

अहिले विश्व नै लकडाउनको अवस्थामा छ । निर्विकल्प रुपमा लकडाउन र परीक्षणको दायरा बढाउनेबाहेक कोरोनाभाइरस नियन्त्रणको कुनै उपाय छैन । तर, सरकारले हेमराजका काकाजस्तैका लागि भने कुनै प्रबन्ध नगर्दा जटिल समस्या उत्पन्न भइरहेको छ । हेमराजका काका चन्द्रप्रकाशले भने, ‘कोरोनाले लकडाउन अनिश्चितकाल देखिएको हुँदा कैलालीमा बस्न सकिएन । गाउँमा बाली लगाउने र भित्र्याउने चटारो भएपछि क्वारेन्टिनमा बसे पनि दिउँसोतिर खेतीपातीको काम गरौंला भनेर दाजु लीलाराम, भतिजो करुणसहित घर (पिठातोला) आएको हुँ ।’

तस्बिर : हेमराज जोशीको फेसबुकबाट ।

‘कैलाली जिल्ला प्रशासनको पास बनाएर एउटा सानो गाडी रिजर्भ गर्दै हामीसहित तीन जना तल्लो क्षेत्र (अर्को गाउँपालिका) बझाङ आयौं,’ उनले भने, ‘उहाँहरु तल नै झर्नुभयो, हामी तमैलसम्म आयौं । बाटोमा सबै ठाउँमा बन्द भएका कारण अघिल्लो दिनदेखिका भोकै थियौं । तमैलबाट फेरि खप्तड छान्नाका लागि हिड्यौँ । क्वारेन्टिनमै बस्नुपर्ला र केही खानुपर्ला भनेर सोच बनाएका थियौँ तर कहीँकतै केही व्यवस्था नभएको हुँदा गाउँमै केही दिन टहरो बनाएर बसौंला भनेर सोच्यौं र घर आयौं । यता, भतिजाहरुले बस्ने झुप्रो बनाएका रहेछन् ।’

गाउँपालिकाले बाहिरबाट आएका नागरिकलाई कुनै चासो नदिएको हेमराजको आरोप छ । ‘अघिल्लो हप्ता म पनि काठमाडौं, धनगढी हुँदै बझाङ आएको हुँ । घाँटखोलामा गाउँपालिकासँग क्वारेन्टिनको व्यवस्थाबारे बुझ्दा गाउँपालिका अध्यक्षले ‘आफ्नै घरमा जाने, उतै बस्ने’ भनेपछि सिधै घर आउनुपरेको हो । एक‑डेढ हप्ता चैनपुर बसेको हुँदा सजिलो भयो, गाउँपालिकाको भर परेको भए बर्बाद हुने रहेछ ।’

कोरोनाभाइरस आइहालेमा गाउँ नै सखाप हुनसक्छ भन्दै काकाहरुलाई पनि सुरक्षित बस्ने व्यवस्था गरेको उनले बताए । ‘अहिले उहाँहरु आफैंले थर्मोमिटर ल्याएर बेलाबेलामा ज्वरो नापिरहनुभएको छ । स्वास्थ्यकर्मीको पहुँचबाट टाढा भएको हुँदा ज्वरो बढी आएमा र स्वास्थ्यमा अन्य समस्या आएमा स्वास्थ्य चौकी जाने सोच बनाएका छौं,’ उनले भने ।

गाउँपालिका र स्थानीयको आ‑आफ्नै दाबी

कोरोनाभाइरस नियन्त्रणका लागि गाउँपालिका र स्थानीयका आ‑आफ्नै दाबी छन् । सम्पूर्ण व्यवस्था गरेको दाबी गर्ने गाउँपालिकाको कुरालाई स्थानीय भने ठाडै अस्वीकार गर्छन् । खप्तड छन्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले गर्वका साथ बाहिरबाट आएकालाई गाउँपालिकाकै खर्चमा सम्पूर्ण व्यवस्था गरेको बताउँछन् । तर, बाहिरबाट घर गएकाहरु भने बेलाबेलामा सिधै गाउँमा जाने गरेको स्थानीय बताउँछन् । अध्यक्ष रोकाया भने बाहिरबाट आउनेलाई अनिवार्य १४ दिनदेखि २१ दिनसम्म क्वारेन्टिनमा राख्ने गरेको बताउँछन् । गाउँगाउँमा पनि पर्याप्त राहत र स्वास्थ्य सामग्री वितरण गरिरहेको उनले दाबी गरे ।

स्थानीयले भने गाउँपालिका अध्यक्षको कुरामा रत्ति पनि विश्वास गरेका छैनन् । खप्तड छान्ना गाउँपालिका ४ का स्थानीय गोकर्ण जोशी भन्छन्, ‘गाउँपालिका अध्यक्षले के भन्नुभयो हामीलाई थाहा छैन । हाम्रो गाउँमा भने कसै‑कसैलाई राहत वितरण गरिएको छ । सुरुमा गरिब भनेर नाम छनौट गरेर कसै‑कसैलाई १५ किलो चामल, एक किलो दाल, तेल दिएको थियो । फेरि थप नाम संकलन गरेर विवाद भएपछि कसैले पाए, कसैले पाएका छैनन् ।’

स्वास्थ्य सामग्रीको नाममा भने एक घरमा एक मास्क वितरण गरेको जोशीले बताए । ‘हाम्रै गाउँबाट वडासदस्यको प्रतिनिधित्व गरिरहनुभएका धनराज जोशीले घर‑घरमा एउटा‑एउटा मास्क वितरण गर्नुभएको छ । मेरो घरमा त बुवाले बच्चाहरु झगडा गर्न थाले भनेर सदस्यज्यूलाई कि दुईवटा मास्क दिनुस् कि नदिनुस् भन्नुभएको रहेछ । त्यसैले दुईटा मास्क दिएको रहेछ । राहत भन्ने कुरा त त्यस्तै हो ।’

गाउँपालिका अध्यक्ष रोकायाका अनुसार कोरोना नियन्त्रणका लागि ४० लाखबराबर विनियोजन गरिएको छ । ‘खप्तड छान्ना गाउँपालिकामा १३ लाख प्रदेश सरकारबाट आएको र बाँकी २६‑२७ लाख गाउँपालिकाले छुट्याएका छौं । यसै बजेटबाट गाउँपालिकाका सबै वडा टोलहरुमा पर्याप्त राहत र स्वास्थ्य सामग्री वितरण गरेका छौं । नपाएको कुनै वडा पनि छैन । वडाध्यक्ष, वडासदस्यको नेतृत्वमा अहिले पनि हामीहरु गाउँघरमै खटिएका छौं । अहिले पनि २६ जना जति क्वारेन्टिनमा राखेका छौँ, ११ जना योभन्दा अगाडि पनि राखेका थियौं,’ उनले भने ।

दुई हप्ताअघि काठमाडौं बस्ने खप्तड छान्ना गाउँपालिका स्थायी घर भएका केशव जोशी फोन गरेको अडियो रेकर्ड पनि भाइरल भएको थियो । गाउँपालिका अध्यक्षसँग केशवले गरेको कुराकानीमा पनि अध्यक्ष रोकायाले भनेका थिए, ‘लकडाउनको बेलामा कसैले यहाँ आउने होइन । हामी केही गर्ने छैनौं । यहाँ आए भने पनि आफ्नै घर जालान्, हामीलाई कुनै मतलव छैन । क्वारेन्टिन बनाऊ भन्नेहरुले पनि भ्रष्टाचार गर्नका लागि होलान् । हामीलाई भने केही मतलब छैन ।’

प्रकाशित समय १२:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु