fbpx
corona information

गृहपृष्ठ वाह ! मेरो वडा कार्यालय !!

वाह ! मेरो वडा कार्यालय !!

फोन किरर बज्छ । चिनेको नम्बर त होइन तर विवेक फोन उठाउँछन् ।

महिला बोल्छिन् ।

‘नमस्कार ! म शलिना बोलेकी वडा कार्यालयबाट ।’

‘वडा कार्यालयबाट !’

विवेक अचम्ममा पर्छन् । यसअघि कहिले पनि फोन आएको थिएन ।

‘यो फोन विवेक दाइको हो नि ?’ शलिना प्रश्न गर्छिन् ।

‘हो । केही थियो कि !’

साँझको ५ बजेको छ । कार्यालय बन्द हुने बेला भइसकेको छ । ५ बझ्नुअघि नै धेरै कर्मचारी घर हिँडिसकेका हुन्छन् । कति त ५ बज्दा घरै पुगिसकेका हुन्छन् । तर ५ बजे वडा कार्यालयबाट फोन आएकोले उनलाई अचम्म लागिरहेको छ ।

‘भोलि वडा कार्यालयसम्म आउने समय निकाल्न सक्नुहुन्छ कि भनेर फोन गरेको,’ शलिनाले भनिन् ।

‘काममा जानुपर्छ । ९ बजेदेखि ५ बजेसम्म त भ्याउँदिन, ५ बजेपछि भए आउन सक्छु,’ उनी जवाफ फर्काउँछन् ।

‘हुन्छ, हुन्छ । हाम्रो वडा कार्यालय सरकारी कार्यालय खुल्ने समयभन्दा एक घन्टाअघि र सरकारी कार्यालय बन्द हुनुभन्दा एक घन्टापछि मात्र बन्द हुन्छ ।’

‘ए ! कि न नि बहिनी !’

‘दाइ ! यहाँहरु जस्तै धेरै वडाबासी काममा व्यस्त हुनुहुन्छ । काममा पनि जानुपर्छ, व्यापार व्यवसाय पनि गर्नुपर्छ । वडाबासीहरुले काममा जानुअघि वा काम सकेर फर्किंदा भए पनि सेवा प्राप्त गर्न सकुन् भनेर नि !’

‘त्यसो भए म भोलि साँझको सवा ५ बजेतिर आउँछु । हुन्छ ?’

‘हुन्छ दाइ । भोलि त्यो समय कसैले लिएको छैन ।’

‘अरु कसैले समय लिएको छैन ? के अरु पनि आउँदै हुनुहुन्छ ?’ विवेक प्रश्न गर्छन् । उनलाई अचम्म लागिरहेको छ ।

‘अँ दाइ ! हामी सबै वडाबासीलाई सम्पर्क गरिरहेका छौँ । एक महिनाभित्र वडाका सबै धरधनीसँग हामी अलग अलग भेट गर्दै छौँ । अर्को ६ महिनापछि पुनः वडाबासीसँग अलग‑अलग भेट गर्ने योजनामा छौँ ।’

‘ए ओके !’

के गर्न लागेछ त वडा कार्यालयले ? विवेकमा खुल्दुली बढिरहेको छ ।

उनले फेरि भनिन्, ‘हुन त हामी तपाईंको घरमै आउनुपर्ने हो । तर कम खर्चमा बढी सेवा दिनुपर्ने भएकाले तपाईंहरुको उपयुक्त समयमा वडा कार्यालयमै बोलाएका हौँ । आशा छ, यसले तपाईंलाई वडा कार्यालय र नयाँ सेवासँग सामीप्य बढाउनेछ ।’

‘अँ साँची वडा कार्यालय आउँदा भाउजूलाई पनि सँगै लिएर आउन सक्नुहुन्छ ?’

‘किन र ? म मात्रै आए हुन्न ?’

‘हुन त हुन्छ तर दुवै जना आउनुभयो भने अझ राम्रो दाइ । हाम्रो परिचय हुने अवसर पनि मिल्छ । भाउजूले पनि वडा कार्यालय देख्ने मौका पाउनुहुन्छ । अनि कहिलेकाहीँ वडामा काम पर्दा भाउजू आफैंले पनि गर्न सक्नुहुन्छ ।’

‘राम्रो कुरा गर्नुभयो बहिनी । उनको काम के छ, सल्लाह गरेर सम्भव भए दुवै जना आउँछौं ।’

कुरा लम्बिँदै जाँदा शलिनालाई अलिक अफ्ठ्यारो लागिरहेको छ । मेरो समय बढी लिएको जस्तो लागेर उनी भन्दै छिन्, ‘दाइ माफ गर्नु होला है । मैले तपाईंको समय धेरै लिए जस्तो लाग्दै छ । तपाईंको व्यस्त समयका लागि धन्यवाद ।’

‘राम्रो कुरा गर्नुभयो बहिनी । उनको काम के छ, सल्लाह गरेर सम्भव भए दुवै जना आउँछौं ।’

अहिले वडा कार्यालयका कर्मचारीको कुरा गर्ने तरिकामा व्यापक परिवर्तन आएको छ । कुरा गर्दै जाँदा वा काम गर्दा समय लाग्ने भए वा समय लम्बिने भए बीच‑बीचमा माफ पनि मागिरहेका हुन्छन्, जसले गर्दा सेवाग्राहीको गुनासो सुन्न नपरोस् वा उनीहरुलाई केही उत्प्रेरणा मिलोस् । शलिनाको व्यवहार पनि त्यस्तै थियो ।

अहिले वडा कार्यालयसँग वडाबासी सबै घरधनीको नाम र फोन नम्बर रेकर्ड छ । हुनेको इमेल पनि छ । कार्यालयले यो रेकर्ड राखेको पाँच महिनाजति मात्र भयो ।

‘अनि दाइ, तपाईंहरु दुवैको नागरिकता पनि लिएर आउनुस् है !’

‘भै हाल्छ नि बहिनी ! ‘

‘अँ साँचि ! फोटोकपी ल्याउँदा हुन्छ ?’ विवेक सोध्छन् ।

‘फोटोकपी गर्नु पर्दैन । सक्कल नै लिएर आउनुहोस् न !’

‘हरेक कार्यालयमा फोटोकपी माग्छन् ? म सँग फोटोकपी होला त्यही ल्याए हुन्न ?’

‘त्यो पनि हुन्थ्यो तर हाम्रो वडाले सिफारिस गर्ने र बनाउने प्रमाणपत्रहरु जस्तो नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ताको प्रतिलिपि चाहिए हामी आफैँले फोटोकपी गरिदिने व्यवस्था गरेका छौँ । सबै ठाउँमा फोटोकपीको सुविधा पनि छैन । एक पेजका लागि नागरिकले चर्को शुल्क तिर्न नपरोस् र त्यही कारण काममा बाधा नहोस् भनेर पनि वडाले यो निर्णय गरेको हो । गाउँपालिका अहिले विद्युतीय डेटा व्यवस्थापनमा गइसकेको छ । पालिले कागजी फाइल राख्न विस्तारै कम गर्दै गएको छ । हरेक कागजातहरु स्क्यान गरेर कम्प्युटरमा राख्ने गरेको छ ताकि खोजेको समयमा सजिलै पाइयोस् । ठाउँको पनि बचत होस्, समयको बचत होस् र ग्राहकलाई छिटो सेवा दिन सकियोस्,’ उनी सविस्तार भन्छिन् ।

‘राम्रो लाग्यो बहिनी यो कुरा, नागरिकताको एउटा कपीका लागि मैले २० रुपैयाँसम्म तिरेको छु । एक प्रति फोटोकपी नभका कारण एकछिनको काम दुई दिनसम्म पनि लागेको छ । बहुत राम्रो गर्नुभएछ ।’

‘हामीले हाम्रो वेबपेजमा पनि राखेका छौँ, कतिपयले त्यहीँबाट थाहा पाएर पनि सहज सेवा लिइरहेका छन्,’ शलिना भन्छिन् ।

अहिले हरेक वडा कार्यालय र गाउँपालिकामा कर्मचारीका लागि विद्युतीय हाजिरी मेसिन राखिएको छ । कार्यालय आइपुग्दा र फर्किंदा कर्मचारीले विद्युतीय मेसिनबाट हाजिर गर्नुपर्छ । कार्यालयमा सिसी क्यामेरा राखिएको छ । हर समय सिसी क्यामेराले कर्मचारी र सेवाग्राहीको निगरानी गरिरहेको हुन्छ । अनि यी सबै ६ वटै वडा कार्यालयको निगरानी गाउँपलिका कार्यालयले गरेको हुन्छ । गाउँपालिका कार्यालयबाट सबै वडाका गतिविधि सिसी क्यामेरामार्फत हेरिने गर्छ । जसले गर्दा सबै वडाका गतिविधि केन्द्रीकृत रुपमा अनुगमन हुन्छ ।

कहिलेकाहीँ सेवाग्राहीले वडाका कर्मचारीलाई सोधिरहेका हुन्छन्, ‘खोइ त हाकिम आज ?’

कर्मचारीले सिसी क्यामेरातर्फ देखाउँदै ठट्टा गर्छन्, ‘ऊ हिजोआज हाम्रो हाकिम परिवर्तन हुनुभएको छ । हरेक समय उहाँ हाम्रो निगरानीमा हुनुहुन्छ । उहाँ बोल्नु नभए पनि देख्नुहुन्छ ।’

गाउँपालिकाले सबै वडा कार्यालय, स्कुल र स्वास्थ्य संस्थामा सिसी क्यामेरा राखेको छ । सिसी क्यामेरा गाउँपालिकाको कार्यालयमा जोडिएको छ । यी सबैको अनुगमन गाउँपालिका कार्यालयबाटै हुने गर्छ । एक कर्मचारीले यी संस्थाका गतिविधिको नियमित अनुगमन गरिरहेका हुन्छन् । सिसी क्यामेराका कारण खर्च केही बढे पनि सुशासन कामय गर्न र काममा प्रभावकारिता ल्याउन धेरै सहयोग पुगेको छ ।

‘हुन्छ दाइ अहिलेलाई बिदा होऊँ । भोलि ५ बजेपछि वडा कार्यालयमा भेटौँला । शुभ सन्ध्या ! नमस्कार !’

‘हुन्छ दाइ अहिलेलाई बिदा होऊँ । भोलि ५ बजेपछि वडा कार्यालयमा भेटौँला । शुभ सन्ध्या ! नमस्कार !’

शलिनाको आजको समय बित्न लागेको छ । उनी धेरै नम्र छिन् । बोलीमा मिठास छ । सेवाग्राहीका कुरा राम्ररी सुन्छिन् । मनमा जति पीडा भए पनि उनी सेवाग्राहीमा त्यो व्यक्त गर्दिनन् । जति रिस उठे पनि उनी त्यो सेवाग्राहीमा देखाउँदिनन् । उनलाई थाहा छ, उनका कारण कुनै सेवाग्राही (वडाबासी)ले दुःख पाए वा कसैलाई दुर्व्यवहार गरे गाउँपालिकाले उनको जागिर तत्काल खोस्नेछ । गाउँपालिकाले अहिले ‘हायर एन्ड फायर’ नीति अपनाएको छ । ग्राहकसँग फोनमा गरिएको कुराकानी सबै रेकर्ड हुनेछ । फोनमा कुरा सुरु गर्दा कर्मचारीले आफ्नो नाम अनिवार्य भन्नुपर्ने छ भने ग्राहकको नाम सोध्नुपर्नेछ । अन्य अवस्थामा कार्यालयमा आफ्नो नाम प्लेट सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ ताकि कुनै कारणवश अनुसन्धान आवश्यक भए दुवैको पहिचान गर्न सहज होस् । यसबाट ग्राहकले कर्मचारीलाई गर्ने गाली, अपशब्द र दुर्व्यवहारमा पनि कमी आउनेछ भने कर्मचारीले ग्राहकलाई फोनमा गरेको व्यवहारको पनि मूल्यांकन गर्न सजिलो हुनेछ । यसले दुवै पक्षको व्यवहारमा परिवर्तन ल्याउन सहज हुनेछ ।

कर्मचारीले ग्राहकका समस्या समाधानका कुरा नगरी समस्या बढाउने कुरा गरे पनि उनले कामबाट बिदा लिनुपर्ने हुन्छ । काम गरिदिने बहानामा सेवाग्राहीबाट नगद वा जिन्सी वा अन्य केही पनि लिन पाइने छैन । घुसको कुनै संकेत पाए पनि जागिर तत्काल समाप्त हुनेछ । कर्मचारीको व्यवहारको गुनासाहरु सेवाग्राहीले एसएमएसमार्फत गाउँपालिकामा पठाउने व्यवस्था गरेको छ । गाउँपालिकाले सेवाग्राहीको सन्तुष्टि बुझ्न घरिघरि कर्मचारीको नामसहितको इमेल पनि सेवाग्राहीलाई पठाउने गर्छ । जसमा कर्मचारीको सेवा कस्तो लाग्यो ? भन्ने महत्वपूर्ण प्रश्न सोधिएको हुन्छ र उत्तरका लागि विभिन्न विकल्प दिइएको हुन्छ । सेवाग्राहीले आफूलाई लागेको जवाफमा टिक लगाएर सुझाव दिन सक्छन् । यस्तै इमेलमा पनि सेवा सुधारका लागि के गर्नुपर्छ भनी सुझाव मागिएको हुन्छ । सेवाग्राहीले दिएको उत्तरका आधारमा कर्मचारीको मूल्यांकन गरिन्छ । उनीहरुको बढुवा, तलब वृद्धि, तालिम, भत्ता जस्ता कुराको महत्वपूर्ण निर्णय सेवाग्राहीको यही रेटिङका आधारमा हुनेछ । कामको मूल्यांकन गर्ने यो व्यवस्थासँगै अहिले कर्मचारीको व्यवहारमा धेरै परिवर्तन आएको छ ।

गाउँपालिकाका कर्मचारी र पदाधिकारीले कार्यालय समयमा व्यक्तिगत इमेल खोल्न पाउने छैनन् । व्यक्तिगत इमेलमार्फत सेवाग्राहीसँग कुनै पनि प्रकारको वातचित गर्न नपाउने व्यवस्था गरिएको छ । उनीहरु सबैलाई गाउँपालिकाले इमेल बनाइदिएको छ । तिनै इमेलमार्फत मात्र सूचना आदानप्रदान हुनेछन् । यसले कर्मचारीका आनियमितता निगरानी गर्न र ग्राहकसँग गरिएका व्यवहारको मूल्यांकन गर्न पनि सहयोग पुगेको छ । गाउँपालिकामा गोपनीयता कायम गर्न पनि सहयोग पुग्ने देखिएको छ । यस्तै वडाले कर्मचारीलाई कार्यालय समयमा (कार्यालयमा काम गर्दै) सम्बन्धित कर्मचारीबाहेक सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ । कार्यालय समयमा व्यक्तिगत फोनमा अत्यन्तै छोटो कुरा गर्न मात्र अनुमति दिइएको छ ।

०००

अर्को दिन साँझको ५ बजेको छ ।

विवेक श्रीमतीसहित वडा कार्यालय पुग्छन् । हिजो सवा ५ बजे भने पनि उनी केही मिनेटअघि नै वडा कार्यालय पुगेका छन् । फोनमा शलिनासँग भएको कुराले उनमा उत्साह बढाएको छ ।

वडा कार्यालय परिसर सफा छ । बाहिर फोहोर हाल्ने थुन्से राखिएको छ । त्यो त्यही गाउँमा चोयाबाट बनेको हो । वडा कार्यालयले फोहोर व्यवस्थापनका लागि गाउँमै बनेका थुन्से र डोकोको प्रयोग गर्ने गर्छ । उसले कहिलेकाहीँ गाउँलेलाइ थुन्से, डोको दान गर्नका लागि पनि आह्वान गर्छ । समय हुनेले वडालाई यस्ता समग्री दान दिन्छन् । गाउँपालिकाले गरेका पछिल्ला सुधारका कामले गाउँबासीमा विस्तारै परिवर्तनको महसुस भएको छ । सामग्री दान गर्नेको नाम गाउँपालिकाले सूचनापाटिमा टाँस गरिदिन्छ । गाउँपालिका वा वडामा गाउँबासीको भेला हुँदा यसरी सहयोग गर्नेको नाम भनिन्छ । गाउँपालिकाको वेबसाइटमा पनि राख्ने गरिन्छ । फेसबुक र ट्विटर पनि पोस्ट गरिन्छ । यसले गाउँबासीलाई दान तथा सहयोग गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले बुझेको छ ।

दानमा आएका डोको, थुन्से गाउँपालिकाले स्थानीय स्कुल, स्वास्थ्य संस्था र वडा कार्यालयलाई फोहोर संकलनका लागि वितरण गर्ने गर्छ । हरेक स्कुल र अस्पतालमा हिजोआज कागज, प्लास्टिक यिनै डोको र थुन्सेमा राखिएको हुन्छ । कागजलगायत कुहिने फोहोर र प्लास्टिकजन्य कुराका लागि अलग‑अलग थुन्सेको प्रयोग गरिएको छ । फोहोरको व्यवस्थापन गाउँपालिकाले गर्ने गरेको छ । हरेक स्कुलमा शिक्षक र विद्यार्थीलाई यो कुरा सिकाइएको छ । कुनै फोहोर जस्तो कागज देखे शिक्षकले टिप्नुपर्ने हुन्छ र फोहोर फ्याँक्ने डोकोमा राख्नुपर्नेहुन्छ । विद्यार्थीलाई फोहोर कसरी फ्याँक्ने, कहाँ फ्याँक्ने भन्नेबारेमा शिक्षक आफैँले उदाहरण प्रस्तुत गर्नुपर्नेछ । विद्यार्थीलाई यो टिपेर फ्याँक भनेर अह्राउन पाइने छैन । यस्तै स्वास्थ्य संस्थामा पनि कर्मचारीले आफैँ उदाहरण बन्नुपर्ने व्यवस्था गरिएको छ ।

वडा कार्यालय परिसरमा फूल पनि फुलेका छन् । गाउँघरतिर फुलिरहेका फूल भए पनि वडा कार्यालय परिसरमा फूल देखेर विवेकलाई अलि फरक लागिरहेको छ ।

वडा कार्यालय परिसरमा फूल पनि फुलेका छन् । गाउँघरतिर फुलिरहेका फूल भए पनि वडा कार्यालय परिसरमा फूल देखेर विवेकलाई अलि फरक लागिरहेको छ ।

उनी श्रीमतीसँग भन्छन्, ‘यही फूल हाम्रो बारीमा त्यति आकर्षक देखिँदैन तर यहाँ राम्रो लागिरहेछ ?’

एउटै गमलामा धेरै थरी फूलका बिरुवा मिसाएर रोपिएको छ । त्यही भएर एउटै बिरुवामा धरै रंगका फूल फुलेको जस्तो देखिएको छ, राम्रो देखिएको छ ।

गाउँपलिकाले यो वर्ष एउटा महत्वपूर्ण निर्णय गरेको छ‑ तिहारमा अर्को गाउँपालिका वा अन्यत्र कतैबाट पनि फूल आयात नगर्ने, बरु गाउँबाट फूलका माला निर्यात गर्ने । गाउँपालिकाको तथ्यांकअनुसार गत वर्ष मात्र करिब १ लाख रुपैयाँको फूल गाउँमा भित्रिएको थियो । आवश्यक फूल उत्पादन बढाउनका लागि गाउँपालिकाले यो वर्ष नयाँ रणनीति अपनाएको छ । त्यसका लागि एसएमएसको प्रयोग र फूलका बिरुवा वितरणलाई प्रमुख रणनीति बनाएको छ । तिहारमा फुल्ने समय पारेर सयपत्री फूल रोप्ने समयमा सबै गाउँलेलाई फूल रोप्न आह्वान गर्दै एसएमएस पठाएर सम्झाइनेछ । गाउँपालिकाले सयपत्री र मखमली फूलका बिरुवा गाउँबासीलाई वितरण गर्नेछ । फूलका बिरुवामा गाउँपालिकाले यो वर्ष शतप्रतिशत अनुदान दिने व्यवस्था गरेको छ सम्झाएको छ, ‘मलाई चाहिने फूल म आफैँ फुलाउँछु, पैसा बचाउँछु ।’

फूल रोप्नका लागि जग्गा नहुनेलाई घरमा भएका काम नलाग्ने प्लाष्टिकका भाँडा तथा गमलाको प्रयोग गरी फूल रोप्न पनि आह्वान गरिएको छ । पशुपन्छीपालन नगरेका गाउँपालिकाबासीलाई फूल रोप्नका लागि आवश्यक कम्पोस्ट मलमा पनि केही अनुदान दिने व्यवस्था गरिएको छ । गाउँपालिकामा इमेल दर्ता भएका गाउँबासीलाई गाउँपालिकाले इमेलबाट पनि फूल रोप्ने समय, अनुदान र तरिकाका बारेमा सूचित गरिनेछ । सूचनासँगै केही उत्साहित बनाउनेखालका छोटा सन्देश पनि पठाइनेछ ।

गाउँपालिकाले कृषिसम्बन्धी नै अर्को महत्पूर्ण निर्णय गरेको छ । यसअघि गरिएको नर्सरीसम्बन्धी निर्णय अहिले कार्यान्वयनको चरणमा छ । गाउँमा आवश्यक बिरुवा उत्पादनका लागि कम्तीमा एक नर्सरी स्थापनाका लागि कृषक लाई प्रोत्साहन गरिएको छ । किसानले बिरुवाका लागि अर्को गाउँपलिका जान नपरोस्, ढुवानी खर्च र समय बचोस् । पैसा अर्को पालिका नजाओस् भन्ने गाउँपालिकाको मनसाय छ । नर्सरीको माध्यमबाट केही व्यक्तिले रोजगारी पाउने गाउँपालिकाको विश्वास छ । गाउँपालिकामा धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने र गाउँबासीलाई काम गर्न प्रोत्साहित गर्ने उसको रणनीति छ ।

०००

गाउँपालिकाले केन्द्र सरकारको रोजगारी नीतिलाई कडाइका साथ लागू गरेको छ ।

कुनै पनि कर्मचारीले सहकर्मीलाई कुनै पनि प्रकारले होच्याउने, अपमान गर्ने वा दुर्व्यवहार गर्न पाउने छैनन् । काममा संलग्न सबै एकले अर्कालाई सम्मान गर्नुपर्ने हुन्छ ।

हरेक कामदारलाई सुपरभाइजरसँग प्रश्न सोध्न पाउने अधिकार हुनेछ । काममा सुरक्षाका बारेमा प्रश्न सोध्न पाउने र नसक्ने वा जोखिमपूर्ण लागे काम गर्दिन भन्न पाउने अधिकार सुरक्षित छ । जबर्जस्ती काममा लगाउन पाइने छैन । हरेक कामदारले ‘काममा पहिला सुरक्षा’ भन्ने सिद्धान्त अपनाउनुपर्नेछ ।

काममा संलग्नलाई समूह सदस्यका रुपमा सम्बोधन गर्नुपर्ने छ । कुनै पनि सदस्यलाई मेरो तल वा मेरो माथि बसेर काम गरिरहेको छ भन्ने जस्ता शब्द प्रयोग गर्न पाइने छैन ।

हरेक कामदारले कार्यस्थल सुरक्षा र कामदारको सुरक्षाका बारेमा जानकारी राखेको हुनुपर्नेछ, जुन हरेक गाउँपालिकाका वडामा प्राप्त हुनेछ ।

कामदार नियुक्तिमा पनि गाउँपालिकाले केन्द्र सरकारको नीति कार्यान्वयनमा ल्याएको छ । कामदार नियुक्ति गर्दा सबैले समान अवसर पाउनेछन् । अपांगता भएकाले विशेष प्राथमिकता पाउनेछन् । कसैको जात, धर्म, लिंग, वर्ण (छालाको रंग), उचाइ र उमेरका आधारमा कामदार नियुक्तिमा विवेध गर्न पाइने छैन । आरक्षणको व्यवस्था छैन । विभेद गरेको पाइए रोजगारदातालाई ठूलो जरिवाना हुने व्यवस्था गरिएको छ ।

०००

गाउँबासीलाई काममा व्यस्त राख्न रोजगारी दिने र चाहनेबीच समन्वय गर्नका लागि गाउँपालिकाले विशेष प्रणाली अवलम्बन गरेको छ । काम गर्न चाहनेले कस्तो काम र कति समयका लागि गर्न चाहेको भन्ने र कामदार खोज्नेले कस्तो सीप भएको र कति समयलाई भन्ने विवरण गाउँपालिकामा टिपाउनुपर्नेछ । यही विवरणअनुसार गाउँपालिकाको रोजगार संयोजकले सूचना आदानप्रदान गर्नेछन् र एक‑अर्काबीच समन्वय गर्नेछन् ।

उदाहरणका लागि कोही कृषि मजदुर एक दिन काम गर्न चाहन्छ, ऊ आउँदो शनिबार फुर्सदमा छ । कतै काम पाइए सरकारले तोकेको न्यूनतम तलब पाउने गरी काम गर्न चाहन्छ तर उसलाई कसले काम लगाउन चाहन्छ भन्ने थाहा छैन । उसले गाउँपालिकामा नाम, फोन नम्बर, गर्न सक्ने र चाहेको काम टिपाउनुपर्नेछ । यस्तै रोजगारदाताले पनि गर्नुपर्ने कामसहित विवरण टिपाउनेछ । यी विवरण कम्प्युटरमा राखेपछि कम्प्युटरले विवरण जुधाएर कामको खोजी गर्नेछ र दुवै पक्षलाई सम्पर्क गर्नेछ । यसमा कामदारको पैसाको ग्यारेन्टी गाउँपालिकाले गर्नेछ । काम दिनेले कम्तीमा तीन घन्टा काम लगाउनुपर्नेछ । काम मन नपरे वा गर्न नसके तीन घन्टापछि कामदारलाई घर पठाउन सक्नेछ । कामदारले प्रतिघन्टा सरकारको न्यूनतम तलब पाउनेछ ।

काम मन नपरे वा गर्न नसके तीन घन्टापछि कामदारलाई घर पठाउन सक्नेछ । कामदारले प्रतिघन्टा सरकारको न्यूनतम तलब पाउनेछ ।

नियमित कामदार चाहिने रोजगारदाताका लागि गाउँपालिकाले अनलाइनमा सूचना राख्ने प्रणाली उपलब्ध गराएको छ । सोही विवरणका आधारमा गाउँपालिकाका रोजगार संयोजकले कामदार खोज्ने काम गर्नेछन् । कामदार चाहिएको विवरण गाउँपालिकाको वेबसाइटमा पनि हेर्न सकिनेछ । जसमा स्पष्ट लेखिएको हुन्छ, गाउँपालिकामार्फत जाने वा प्रत्यक्ष भन्ने बारेमा । यी दुई विकल्पका आधारमा कामदारले कामका लागि सम्पर्क गर्नुपर्नेछ ।

रोजगारी चाहने र रोजगारी दिन चाहनेबीच समन्वय गर्ने गाउँपालिकाको यो कामले गाउँमा मानिसलाई व्यस्त बनाएको छ भने कामदारको आपूर्ति नियमित भएको छ । आवश्यक कामदार गाउँमा नपाए गाउँपालिकाले अर्को गाउँपालिकासँग समन्वय गर्नेछ । कामको प्रकृति र काम गर्नुपर्ने समयलाई ख्याल गरेर कामदार आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ ।

यसरी रोजगारी समन्वय गरेबापत गाउँपालिकाले कुनै पनि शुल्क लिएको छैन । गाउँमा रोजगारीको अवस्था मजबुत नहुन्जेल गाउँपालिकाले दुवै पक्षबाट कुनै पनि शुल्क नलिने व्यवस्था गरेको छ । हुन त रोजगार संयोजन गर्ने काम निजी क्षेत्रबाट पनि हुने गरेका छन् तर उनीहरुले रोजगारदाता र रोजगारीका लागि निवेदन दिने दुवै पक्षबाट शुल्क लिने गरेका छन् । गाउँपालिकाले निजी क्षेत्रबाट गरिएका यस्ता प्रयासलाई पनि प्रोत्साहन गर्दै आएको छ । विभिन्न सहरमा यस्ता मजदुर संयोजन गर्ने संस्थाहरु खुल्न थालेका छन्, जसका कारण दुवै पक्ष लाभान्वित भएका छन् ।

०००

गाउँपालिकाले कृषि विज्ञबाट पूरै गाउँपालिकाको माटो परीक्षण गराइसकेको छ । कुन ठाउँमा कस्ता बिरुवा रोप्दा ठिक हुन्छ भन्ने पूरै गाउँपालिकाको माटोको विस्तृत प्रतिवेदन वा कृषि नक्सा गाउँपालिकासँग छ । यो नक्सा पालिकाले गाउँबासीलाई विभिन्न माध्यमबाट वितरण गर्दै छ । यो हेरेर गाउँबासीले पनि कुन ठाउँमा के लगाउँदा ठीक हुन्छ भन्ने बारेमा सहजै निर्णय गरिरहेका छन् । नक्सामा तरकारीखेती गर्न योग्य, फलफूलखेति गर्न योग्य, धानखेती गर्न योग्य, नगदे बालीका लागि योग्य, पार्कका लागि योग्य, घाँसखेती, पसुपालन, माछापालन जस्ता विविध पक्ष उल्लेख गरिएको छ । यो नक्साका आधारमा अन्य गाउँपालिकाबाट कृषिमा लगानी भित्र्याउने योजना पनि छ ।

माटो परीक्षणको नक्सासँगै गाउँपालिकाले नर्सरीमा चाहना राख्ने किसानलाई सोही अनुसारका बिरुवा उत्पादन गर्नका लागि सल्लाह दिएको छ । नर्सरीको स्थापनासँगै बिरुवा अन्य गाउँपालिकाका किसानलाई बिक्री गरी पैसा भित्र्याउने, कम्तीमा पनि तीनदेखि पाँच जनाले रोजगारी पाउने र सस्तो मूल्यमा बिरुवा किसानले पाउने गाउँपालिकाको अपेक्षा छ । नर्सरीलाई केही विस्तार गरेर पर्यटक भित्र्याउन सकिने सम्भावना पनि उत्तिकै देखेको छ । यसले कृषि पर्यटनलाई बढावा दिने पालिकाको बुझाइ छ ।

पर्यटनका बारेमा पनि गाउँपालिकाले रणनीति तयार पारेको छ । पर्यटनमा सुधार गर्नका लागि उसले सबैभन्दा पहिला प्रश्न बनाएको छ । ‘हाम्रो गाउँपालिकामा पर्यटक किन आउने ? के हर्न आउने ? के को मजा लिन आउने ?’

यी प्रश्नले पर्यटकलाई गाउँमा आकर्षित गर्न के गर्न सकिन्छ र कस्ता रणनीति बनाउनुपर्छ भन्नेबारेमा छलफल गर्न गाउँपालिकालाई सहयोग पुगेको छ । आन्तरिक र वाह्य दुवै पर्यटक भित्र्याउने पालिकाको लक्ष्य छ । त्यसका लागि पालिकाले गाउँका सम्भावित पर्यटकीय स्थलको सूची तयार पारेको छ भने विकास गर्नुपर्ने सम्भावित क्षेत्रको पहिचान गरेको छ । पर्यटकीय क्षेत्रमा कृषि पर्यटनलाई पनि समेटेको छ । त्यसभित्र नर्सरी, पशुपन्छीपालन, माछापालन आदिलाई राखिएको छ । होम स्टे र सम्भावित अन्य क्षेत्रमा सांस्कृतिक केन्द्र पनि छन् ।

यस्तै अन्य पर्यटनतर्फ हाइकिङ, साहसिक पर्यटकीय खेल, बन्जी जम्प, प्याराग्लाइडिङ आदिको पनि सम्भावना खोजी गरिएको छ ।

गाउँपालिका सांस्कृतिक केन्द्र आफैँ स्थापना गर्ने योजनामा छ । यो केन्द्रलाई गाउँपालिकाको महत्वपूर्ण आम्दानीको स्रोतका रुपमा विकास गर्ने योजना बनाइएको छ । गाउँपालिका आफैँ पनि केही क्षेत्रमा लगानी गर्ने योजनामा छ, जहाँबाट नियमित आम्दानी प्राप्त होस् । गाउँपालिकाको योजनामा रहेको सांस्कृतिक केन्द्रमा गाउँपालिकाका सबै जातजातिका बाजागाजा, भेषभुषा राखिनेछन् । यसलाई देशभरका जातजातिले लगाउने भेषभूषाको केन्द्रका रुपमा विकास गर्ने मध्यकालीन योजना छ । पर्यटकले सबै जातजातिका भेषभूषा लगाएर फोटो खिच्न पाउनेछन्, रमाइलो गर्न पाउनेछन्, त्यसको सम्मान गर्नेछन् । बढ्दो सामाजिक सन्जालको प्रयोग र त्यसमा राखिएका फोटामा रमाउनु मानिसको दैनिकी बनिरहेका बेला पर्यटकको ध्यान यता मोड्न सकिन्छ कि भन्ने गाउँपालिकाको सोचाइ हो ।

यसैगरी सबै जातजातिले बजाउने बाजागाजाको संरक्षणसँगै कक्षा पनि सञ्चालनमा ल्याइनेछ । यसलाई पनि देशकै सबैभन्दा ठूलो र सबै जातजातिको बाजा बजाउन सिक्ने विद्यालयका रुपमा विकास गर्ने दीर्घकालीन योजनामा गाउँपालिका लागेको छ । यसले देशभित्रका मात्र नभई, वाह्य देशका सांस्कृतिक पर्यटक आकर्षित गर्ने पनि गाउँपलिकाले विश्वास लिएको छ ।

सांस्कृतिक विद्यालयमा गाउँका विद्यार्थीलाई समय‑समयमा निःशुल्क भ्रमण गराइनेछ भने अन्य पालिकाका विद्यार्थीका लागि न्यून शुल्क लिइनेछ । त्यसका लागि पालिकाले अन्य पालिकासँग समन्वय गर्नेछ । विद्यालयसँग समन्वय गर्ने छ । त्यसबाट शुल्क प्राप्त हुनेछ । यो केन्द्रलाई सबैभन्दा ठूलो पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने पालिकाको योजना छ । यसका लागि बजेट छुट्याएर काम अघि बढाइसकिएको छ । यो विद्यालयका लागि पालिकाले अलग्गै कोष स्थापना गरेको छ, जसको उद्देश्य न्यून आय भएका तर संगीत सिक्न चाहनेका लागि आर्थिक सहयोग पुगोस् भन्ने रहेको छ । कोषका लागि गाउँपालिकाले देशभित्र र बाहिर बस्ने आर्थिक रुपमा सम्पन्न गाउँलेहरुको सूची तयार पार्ने काम गरिरहेको छ । गाउँपालिकाले उद्देश्यसहितको प्रस्ताव पठाउनेछ र कोषमा सहयोग गर्नका लागि अपिल गर्नेछ ।

पर्यटन विकास र सम्बन्ध विस्तारका लागि पालिकाले अलग्गै सम्बन्ध सुधार तथा पर्यटन कर्मचारी नियुक्त गरेको छ । ती कर्मचारीको काम गाउँपालिकाका पर्यटकीय क्षेत्रको विभिन्न माध्यमबाट प्रचारप्रसार गर्नु, फेसबुक र ट्विटरको प्रयोग बढाउनु, गाउँपालिकाका पूर्वबासिन्दाहरुको सूची बनाउनु र सोसल मिडियामा उनीहरुको खोजी गर्नु, गाउँको बारेमा जानकारी दिनु, समूह बनाएर उनीहरुलाई पुरानो गाउँ घुम्नका लागि निम्ता दिनु, गाउँमा भएका विकासका गतिविधिबारे जानकारी दिनु, उनीहरुका बुवाआमा वा बाजेबज्यैका पुराना घरका फोटाहरु सेयर गर्नु, भ्रमण रुट, ट्राभल खर्च, गाउँपालिकामा भएका होटल तथा लजका बारेमा जानकारी दिनु र सुरक्षा अवस्थाका बारेमा जानकारी दिनु हो । यो कार्यले आन्तरिक पर्यटकमा राम्रो सुधार हुने विश्वास लिइएको छ ।

गाउँपालिकाले गाउँ छाडेका, गाउँ नछाडेका तर अन्यत्र गएर बसोबास गरेका, रोजगारीका लागि विदेश गएका, विदेश गएर उतैको नागरिकता लिएका सबैलाई पर्यटनका महत्वपूर्ण स्रोतका रुपमा लिएको छ । गाविसको आम्दानीको स्रोतका रुपमा लिएको छ । यसले गाउँमा पर्यटन वृद्धिसँगै रोजगारी बढ्ने, कृषि उत्पादनको खपत बढ्ने र मानिसको जीवन स्तर बढ्ने पालिकाले देखेको छ ।

पर्यटनका लागि पालिकाले पर्यटकीय गन्तव्यसहितको गाउँपालिकाको नक्सा तयार पारेको छ । जसमा हाल भएका पर्यटकीय गन्तन्व्य, सम्भावित गन्तव्य र अर्धविकसित गन्तव्य छन् । पर्यटनमा गाउँपालिकाले सिजनल पर्यटनको पनि कुरा गरेको छ । यसमा हिउँद र वर्षामा गर्न सकिने पर्यटकीय भ्रमणका बारेमा उल्लेख छ । हिउँदमा हिउँको सिजनमा हिउँ खेल्न आउने पर्यटक, गुराँस फुल्ने सिजनमा त्यसको रमणीयता अवलोकन गर्न आउने पर्यटकलाई पालिकाले लक्षित गर्नेछ ।

गाउँको प्रचारका लागि पालिकाले सोसल मिडियामा पेज निर्माण गरेको छ । गाउँका सबै बासिन्दालाई त्यो पेजमा आबद्ध गराउने पालिकाको योजना छ, जसका कारण गाउँका बारेमा धेरै सूचना छिटो दिन सकियोस् र सुझाव पनि लिन सकियोस् ।

गाउँका सबै बासिन्दालाई त्यो पेजमा आबद्ध गराउने पालिकाको योजना छ, जसका कारण गाउँका बारेमा धेरै सूचना छिटो दिन सकियोस् र सुझाव पनि लिन सकियोस् ।

गाउँपालिकाले सबैभन्दा ठूलो सम्पतिका रुपमा विदेशमा रहेका गाउँबासीलाई लिएको छ । उनीहरुलाई हेला गर्नेभन्दा पनि उनीहरुको ज्ञान, सीप र धनलाई गाउँपालिकाको विकासमा प्रयोग गर्न मनको भावना विकास गर्ने रणनीति लिइएको छ ।

सबैभन्दा ठूलो कुरा समाज सेवा वा समाजको उन्नति र प्रगतिका लागि मानिसको मन कसरी पगाल्न सकिन्छ, गाउँबासीको बिर्सिसकेको मनलाई सम्झाएर गाउँ र जनताको विकासमा कसरी फर्काउन सकिन्छ भन्ने हो ।

यसका लागि पालिकाले फेसबुक पेजमार्फत पनि आह्वान गरिसकेको छ । राम्रो आय भएकाहरुलाई मनको विकास गरी विभिन्न प्रयोजनका लागि वित्तीय कोष निर्माणमा पनि जोड दिएको छ ।

स्थानीय बाजा उत्पादन र बिक्रीमा जोड दिइनेछ । गाउँपालिकाको अर्को योजना स्थानीय सबै लिपिहरुको संरक्षण गर्ने रहेको छ ।

गाउँपालिकाले स्थानीय भाषाको संरक्षणका लागि आवश्यक पुस्तक छपाइमा सहयोग गर्ने भएको छ । यस्तै लेखकलाई पुस्तक लेखेबापत अलग्गै पारिश्रमिकको पनि व्यवस्था गरिएको छ । हरेक विद्यालयमा मातृभाषा पढ्न चाहनेका लागि निःशुल्क किताब, कापी र प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । यसका लागि गाउँपालिकाले इच्छुक गाउँबासीबाट अलग्गै दीर्घकालीन कोष निर्माण गरेको छ । यो कोषमा स्थानीय बैँकमा तुलनात्मक रुपमा अन्य निक्षेपभन्दा बढी ब्याजमा पैसा राखिएको छ । पालिकालाई आशा छ, यो कोषमा हरेक वर्ष रकम थप हुँदै जानेछ, नयाँ दाता थपिनेछन्, जसले स्थानीय भाषा जोगाउन सहयोग पुग्नेछ । यस्तै सबै लिपिहरु सांस्कृतिक केन्द्रमा पनि राखिनेछन् ।

०००

विवेक र उनकी श्रीमती दुवै वडा कार्यालय छिर्छन् । कार्यालयको ढोका खुल्लै छ । शलिना मुस्कानसहित नमस्कार गर्छिन् ।

‘के सहयोग गर्न सक्छु होला?’

‘म विवेक । हिजो हाम्रो वडा कार्यालयमा भेट्ने कुरा भएको थियो नि !’

‘ए ! माफ गर्नुहोला । यहाँ विवेक सर हुनुहुन्छ ?’

‘हजुर ।’

‘अनि उहाँ नि ?’

‘मेरी श्रीमती सिर्जना ।’

शलिनाको अनुहार हँसिलो छ ।

‘भाउजूलाई पनि लिएर आउनुभएछ, खुसी लाग्यो । बस्नुहोस् न ।’

उनले बस्नका लागि कुर्सी देखाउँछिन् । टेबलको छेउमा दुईवटा कुर्सी राखिएका छन् ।

विवेकलाई अलिक अनौठो लागिरहेको छ । मनमनै सोचिरहेको छ‑ सरकारी कर्मचारीको अनुहार पनि यति हँसिलो हुन्छ ? कसरी कार्यालय समय सकिनै लाग्दा पनि उनीहरु यसरी हाँसेर कुरा गर्न सक्छन् ? उनी यति प्रसन्न मुद्रामा बोलिरहन सक्नुको कारण के हुनसक्छ ? उनले यो उमेरसम्म सरकारी कर्मचारीले यस्तो मिजासिलो तरिकाले बोलेको र व्यवहार गरेको थाहा पाएका थिएनन् ।

‘पानी पिउनुहुन्छ ?’ शलिना सोध्छिन् । छेउमा माटोको भाँडोमा पानी राखिएको छ । केही गिलास पनि छन् । शलिनाले उठेर माटोको भाँडोबाट पानि सारेर दिन्छिन् ।

‘अनि कोही कार्यालय सहयोगी छैनन् ? आफैँ गरिरहनुभएको छ त !’ विवेक सोध्छन् ।

शलिना भन्छिन्, ‘छैनन् । यो गाउँपालिकाको कुनै पनि वडा कार्यालयमा कार्यालय सहयोगी छैनन् । समय मिलाएर सबै काम हामी आफैँ गर्छौं । आफूले खाने चिया आफैँ पकाउँछौँ । कार्यालय बढार्ने, पुछ्नेलगायत सरसफाइका काम पालो मिलाएर आफैँ गर्छौं । शौचालय सफा गर्ने पनि आफैँ गर्छौं ।’

०००

गाउँपालिकाले कार्यालय सहयोगीको अवधारणा अन्त्य गरेको छ । कार्यालय खर्च कम गर्न पालिकाले राम्रो उपाय निकालेको छ । कार्यालय सहयोगी राख्दा पाउने तलबको आधा बराबरको रकमले वडामा कार्यरत कर्मचारीको तलब तथा सुविधा थप गरेको छ र आधा रकम बचत गरेको छ । बचेको आधा रकम वडाबासीको सेवा थप सुविधा जस्तैः आवश्यक फोटो, फोटोकपीलगायतमा खर्च गर्ने निर्णय गरेको छ । अहिले वडाबासीले वडामा आवश्यक पर्ने कागजातको फोटोकपी बुझाउनु पर्दैन ।

गाउँपालिकाको बुझाइमा कार्यालय सहयोगीको अवधारणाले कर्मचारीमा मालिक र नोकरको रेखा कोर्नेछ । आफैँ गर्न सक्ने काममा अरुको भर पर्ने कर्मचारीको बानीका कारण ग्राहकले सेवा पाउन बढी समय खर्चनुपर्ने भएको छ । यसले कतिपय अवस्थामा घुस खाने प्रवृत्ति पनि बढेको छ । यस्तै कतिपय कार्यालयमा कार्यालय सहयोगीलाई प्रयोग गरेर घुसको च्यानल बनाउने गरिएको विभिन्न अध्ययनले देखाएका छन् । कार्यालय सहयोगी नभएको वहाना गरेर काम गर्न अल्छी गर्ने जस्ता कुराले सेवा प्रभावित भएका छन् । उनीहरुको अनुपस्थितिमा कार्यालय फोहोर रहने र शौचालय सफा नहुने देखिएको छ । यसले ‘आफ्नो काम आफैँ गर, आफ्नो कार्यस्थल आफैँ सफा गर’ भन्ने कुराको थालनी भएको छ ।

यो अवधारणा लागू भएको केही महिना बितिसकेको छ । यसको कार्यान्वयनसँगै गाउँपलिकाको आफ्नै मूल्यांकनमा कर्मचारीको अल्छीपनमा कमी आएको छ । कुर्सीमा बसेर दराजको फाइल झिक्न कार्यालय सहयोगी कुर्ने बानी हटेर गएको छ, कतिपय काम उभिएरै गर्ने बानीको विकास भएको छ । अहिले भुइँमा कागजका टुक्रा देखिए टिपिहाल्ने बानी कर्मचारीमा बसेको छ । कर्मचारीको यस्तो व्यवहारले कार्यालयमा आउने सेवाग्राहीको बानीमा पनि सुधार आएको छ । भुइँमा खसेको कागज कर्मचारीले टिपेको देखेर सेवाग्राहीले अचम्म मानिरहेका हुन्छन् । उनीहरु भनिरहेका हुन्छन्, ‘फोहोर भुइँमा नफ्याँक्नुहोस है !’

कार्यालयले थप दिएको सेवा सुविधाबाट कर्मचारीमा गुनासो देखिएको छैन । यद्यपि, उनीहरुका केही माग भने छन् । कार्यालयलाई अझ बढी आधुनिक बनाउन सके काम गर्न सजिलो हुने उनीहरुको विश्वास छ । कार्यालयमा विद्युतीय पानी तताउने किट्ली, फाहोर संकलन गर्ने, भुइँ बढार्ने र फोहोर उठाउने अलिक सजिला सामानको खोजीमा छन् कर्मचारी । गाउँपालिकाले कर्मचारीलाई काम गर्न सजिलो बनाउनका लागि समय‑समयमा छलफल गर्ने गर्छ । पालिकाले हरेक वडा कार्यालयमा एकरुपता कायम गरेको छ ।

०००

शलिनाले पानी दिँदै भन्छिन्, ‘मलाई दुवै जनाको नागरिकता दिनुहोस् ।’

‘नागरिकता चाँहि किन होला ?’ विवेक प्रश्न गर्छन् ।

‘हेर्नुहोस् । हाम्रो सबैभन्दा महत्वपूर्ण परिचयपत्र भनेकै यही हो । सम्भव भए वा अन्य परिचयपत्र नभएको अवस्थामा यो साथमा हुनु राम्रो हुन्छ । अनि हामीले वडामा सेवा लिन आउने हरेकको परिचयपत्र हेर्ने व्यवस्था गरेका छौँ । अन्यथा नलिनु होला । सुरुमा अलिक अप्ठ्यारो लाग्न सक्छ । यो हाम्रो गाउँबासीको सुरक्षाका लागि हो । गलत मनसाय भएका मानिसले गलत काम गरेर फाइदा नलिउन् भन्ने अभिप्रायले यस्तो गरिएको हो । अब राख्न सक्नु हुन ।’

शलिनाको अगाडि ‘विवेक’ लेखिएको फाइल छ । शलिनाले यो फाइल अगाडि नै तयार पारिसकेकी हुन्छिन् । सबै वडाबासीको अलग‑अलग फाइल तयार भइसकेको हुन्छ । नागरिकता हेरिसकेपछि उनी श्रीमतीको नाम पनि थप्छिन् । फाइल अलिक मोटो छ । वडाले सुरु भेटका लागि हरेक घरको अलग्गै एउटा फाइल बनाएको छ । जसमा हरेक घरपरिवारको आधारभूत सूचना संकलन गर्ने पालिकाको उद्देश्य छ । फाइलमा परिवारका सदस्य, उसको विवरण, पेसा, व्यवसाय, रोजगारी, आम्दानी, स्वास्थ्य, शिक्षा, समाजिक सुरक्षालगायतका कुरा समावेश गरिन्छन् ।

फाइलमा परिवारका सदस्य, उसको विवरण, पेसा, व्यवसाय, रोजगारी, आम्दानी, स्वास्थ्य, शिक्षा, समाजिक सुरक्षालगायतका कुरा समावेश गरिन्छन् ।

अर्को पटकको भेटमा पालिकाका कर्मचारीले फाइल त खोल्नेछन् तर धेरै सूचना कम्प्युटरमा नै अद्यावधिक गरिसकेका हुनेछन् । कागजमा लेख्ने छैनन् । फारामहरु छापेर खर्च बढाउने पालिकाको योजना छैन । किनकि, पालिकाले प्रिन्टमा खर्च हुने धरै रकम बचाएर गाउँका प्राथमिक विद्यालयका लागि केही रंगले भरिपूर्ण पुस्तक किन्नुपर्नेछ । बच्चाको ध्यान पढाइमा तान्नका लागि रंगिन चित्र भएका पुस्तकमा जोड दिन लागिएको हो ।

हरेक परिवारसँगको भेटपछि वडाबासीको कम्प्युटरमा अलग्गै फोल्डर हुनेछ, जसभित्र परिवार र हरेक सदस्यको अलग‑अलग फाइल हुनेछ । यो सबैका लागि गाउँपालिकाले अलग्गै प्रणालीको विकास गरेको छ, जसलाई ऊ स्मार्टपालिका भनेर भन्ने गर्छ । स्मार्टपालिका यस्तो प्रणाली हो, जसले गाउँपालिकालाई अतिविकसित व्यवस्थापनमा लैजान आधारसहित सहयोग पुर्‍याउनेछ । आधुनिक बनाउनेछ । सूचनामैत्री पनि बनाउनेछ । तर, पालिकाले आफ्नो प्रणालीको मात्र प्रयोग गरेको छैन, प्रदेश र केन्द्र सरकारसँग पनि वडाबासीलाई जोडेको छ ।

‘वडाले तपाईंहरुलाई बोलाउदा अचम्म मान्नुभयो होला है ?’ शलिना भन्छिन्, ‘तपाईंहरुको सेवाका लागि हामीले हाम्रो सेवा प्रणालीमा धेरै परिवर्तन गरेका छौँ । तपाईंका दैनिक कामकाज र सरकारी सेवा सुविधामा सजिलो र सहज पहुँच होस् भन्ने मनसायले हामीले हरेक परिवारसँग अलग‑अलग भेट गरी परिचय गर्ने, सूचना लिने, आवश्यकता बुझ्ने, सल्लाह लिने जस्ता काम गरेका छौँ । यसै सन्दर्भमा आज तपाईंहरुसँग भेट गरेका हौँ । मसँग फाराम छन, जसमा केही सूचना अद्यावधिक गर्न आवश्यक छ ।’

शलिनाले परिवारको सूचना भएको फाराम दिँदै भन्छिन्, ‘अफ्ठ्यारो नमान्नु होला । केही समस्या भए म सहयोग गर्छु । तपाईंहरुलाई थाहा भएजति भर्न सक्नुहुन्छ । दुवै जना सल्लाह गरेर भर्नु भए पनि हुन्छ ।’

०००

विवेक र उनकी श्रीमती फाराम भर्न थाल्छन् । शलिना कम्प्युटरमा व्यस्त देखिन्छिन् । पानी दिँदा टेबलमा झरेको पानी कपडाको टालोले पुस्छिन् । पानी दिएको गिलास राख्छिन् । यो देखेर विवेक नदेखेझैँ गर्छन् । उनले हरेक समय सरकारी कार्यालयमा जाँदा कर्मचारीले घन्टी बजाएर कार्यालय सहयोगी बोलाउने गरेको देखेको थियो । तर, आज यी कर्मचारी आफैँ त्यो काम गरिरहेकी छन् ।

गाउँपालिकाले कर्मचारीको माध्यमबाट वडाबासीको व्यवहारमा पनि परिवर्तन ल्याउनका लागि आन्तरिक तालिम दिएको छ । उदाहरणका लागि सेवाग्राहीहरु भएका बेला खल्तीबाट कागज भुइँमा नजानिँदो तरिकाले झार्ने र टिपेर डस्टबिनमा हाल्ने, अन्य कुनै कागज, पात पतिंगर भुइँमा देखे टिपेर फाल्ने, सेवाग्राहीका लागि काम दिएर बचेको समयमा टेबल पुछ्ने, हाछ्युँ गरेजस्तो गरेर पाखुराले वा रुमालले नाकमुख ढाक्ने । यस्ता क्रियाकलापले अप्रत्यक्ष रुपमा वडाबासीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने पालिकाको चाहना हो । सरकारी कर्मचारीलाई जनताले हेर्ने दृष्टिकोणमा गाउँपालिका व्यापक परिवर्तन ल्याउन चाहन्छ । गाउँपालिकाको यो रणनीतिले धेरै काम पनि गरेको छ किनकि उनीहरुले दोहोर्‍याएर सेवा लिन आउने सेवाग्राहीको व्यवहार सिसी क्यामेरामा कैद गरेको भिडियो हेरेर मूल्यांकन गरेका छन् । भिडियोबाट गाउँबासीले बोल्ने तरिका, फोहोर फाल्ने, बच्चासँग गर्ने व्यवहार आदिको मूल्यांकन गर्ने गरेका छन् ।

फाराम भर्दै गर्दा सिर्जना शौचालय गइन् । कर्मचारी र सेवाग्राही सबैका लागि एउटै शौचालय थियो । शौचालयको वालमा शौचालय सफा राख्ने, हात धुनेसम्बन्धी रंगिन अक्षरमा केही सूचना थिए ।

सिर्जना पनि धेरै पटक अस्पताल, सरकारी कार्यालयको शौचालय गएकी छन् । तर, आज उनी गएको शौचालय निकै फरक छ । शौचालयमा फोहोर छैन, पानी छ, सफा छ, दुर्गन्ध छैन । शौचालयमा लेखिएको छ, ‘वडा कार्यालय पनि हाम्रो घर हो । हाम्रो शौचालय घरको शौचालय । सफा राखौँ । सफा बनौँ । शौचालय प्रयोग गरेपछि पानीको प्रयोग गरौँ । हात धोऔँ ।’

यी सूचनाले सिर्जनालाई अलिक फरक तरिकाले सोच्न बाध्य बनायो ।

०००

गाउँपालिकाले वडाबासीको सूचना संकलनसँगै शौचालयको रेकर्ड पनि राख्दै छ । उनीहरुले तयार पारेको फाराममा वडाबासीले शौचालय भए/नभएको विकल्पमा टिक लगाउनुपर्नेछ । सबैसँग सम्पर्क गरिसकेपछि वडाले शौचालय नभएका घरको पहिचान गर्नेछ । पालिका यो आर्थिक वर्षभित्र गाउँपालिकाका सबै वडाका घरमा शौचालय निर्माण गर्न लगाइसक्ने योजनामा छ । यसका लागि पालिकाले स्थानीय सामग्रीको प्रयोगमा जोड दिएको छ । स्थानीय सामग्री जस्तैः बाँस र माटोको प्रयोग गरी लामो समयसम्म टिक्न सक्ने प्रविधिको अध्ययन गाउँपालिकाले गराइसकेको छ । यसले शौचालय निर्माणको लागत धेरै घटाउनेछ । राम्रो आय हुनेले सिमेन्टको प्रयोग पनि गर्न सक्नेछन् । धेरैले गरेका पनि छन् ।

वडाबासीले वडाको सेवा लिन केही अनिवार्य पूर्वसर्तहरु पूरा गर्नुपर्नेछ । यी सर्तको माध्यमबाट समाजलाई परिवर्तन गर्न सकिनेमा पालिका विश्वस्त छ । वाध्यात्मक पूर्वसर्त त्यति राम्रो उपाय अवश्य होइन । तर पनि समाजमा सुधार ल्याउन केही कुरामा गाउँपालिका कठोर बन्नुपर्ने निष्कर्षमा पुगेको हो । त्यसमध्ये शौचालय एक हो । पहिलो भेटमा शौचालय भए/नभएको सोधिनेछ । शौचालय नहुनेलाई शौचालय बनाउनका लागि वडाले प्रोत्साहन गर्नेछ । त्यसमा गाउँपालिकाले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । शौचालय बनाउन वडाबासीलाई तीन महिनाको समय दिइनेछ । शौचालय नहुनेको मोबाइलमा हरेक महिना सम्झनाका सूचना पठाइनेछ । सूचनामा उनीहरुलाई प्रस्ट भनिनेछ‑ शौचालय नबनाई गाउँपालिकाले कुनै पनि सेवा सुविधा उपलब्ध गराउने छैन । वृद्ध भत्ता रोकिनेछ । बच्चाका सुविधा रोकिनेछन् । रोजगारी संयोजन स्थगन गरिनेछ । बेरोजगार भत्ता दिइने छैन । जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकता सिफारिस रोकिनेछ । तत्काल सेवा आवश्यक परे उनीहरुले वडासँग समय लिएर सम्झौता गर्नुपर्नेछ । शौचालय नभए गाउँपालिकाका कुनै पनि रोजगारीसम्बन्धी सेवामा आवेदन दिन पाइने छैन ।

तीन महिनापछि शौचालय नभएका हरेक घरमा फोन गरेर त्यसको जानकारी वडाले लिनेछ र भौतिक रुपमा उपस्थित भएर निरीक्षण गर्नेछ ।

तीन महिनापछि शौचालय नभएका हरेक घरमा फोन गरेर त्यसको जानकारी वडाले लिनेछ र भौतिक रुपमा उपस्थित भएर निरीक्षण गर्नेछ । हरेक घरमा शौचालय बनाउन प्रोत्साहन गर्ने, सहयोग गर्ने, संयोजन गर्ने सम्पूर्ण काम बडा कार्यालयको हुनेछ । तोकिएको समयमा शौचालय नबनाए बिजुलीको लाइनसम्म काट्ने योजना गाउँपालिकाले बनाएको छ । शौचालयको सफाइलाई पनि मध्यनजर राखेर समय‑समयमा केही घरमा छड्के जाँच गर्ने पनि गाउँपालिकाको योजना छ । योजनाअनुसार अगाडि बढेमा यो आर्थिक वर्षभित्र हरेक घरमा चर्पी बन्नेछन् । यसले खोल्सा, जंगल, बारिका पाखा, सडक किनारालगायत खुला स्थानमा खुला दिसा गर्ने बानी हट्नेछ । सरसफाइमा ध्यान जानेछ । रोगव्याधी नियन्त्रणमा सहयोग पुग्नेछ । तर, गाउँपालिका खुला दिशामुक्त गाउँपालिका भन्ने जस्ता प्रचार गर्ने योजनामा छैन । यो गर्नका लागि धेरै सल्लाह सुझाव आए पनि पालिकाले त्यसबारेमा आन्तरिक छलफल गरेको छ । पूर्णरुपमा खुला दिसापिसावमुक्त भन्ने सस्तो नारा मात्र हो, वास्तविकता होइन भन्ने पालिकाले बुझेको छ ।

०००

विवेक फाराम पल्टाउँछन् । सबैभन्दा माथि दायाँ भागमा लेखिएको छ‑ नेपाल नागरिक नम्बर । विवेकले पहिलो पटक सुन्दै छन् यो नम्बर ।

उनी शलिनालाई सोध्छन्, यो नेपाल नागरिक नम्बर भनेको नागरिकता नम्बर हो ?’

‘होइन । यो केन्द्रीय सरकारले हरेक नागरिकलाई प्रदान गर्ने नम्बर हो । यो नम्बर केन्द्र सरकारसँग सम्बन्धित छ । यो नम्बर हरेक नागरिकको फरक‑फरक हुनेछ । यो नम्बर जन्मिएदेखि मृत्युसम्म एउटै हुनेछ । यो नम्बर हाम्रो कम्प्युटरमा राखेर हेरेपछि तपाईंको सम्पूर्ण रेकर्ड देख्न पाइन्छ । इतिहास यसमा जोडिनेछ । मानौँ तपाईंको बच्चालाई यो नम्बर दिइएको छ । तपाईंको बच्चा कुन ठाउँमा र कहिले जन्म्यो ? नाम के हो ? बाबुआमाको नाम के हो ? ठेगाना कहाँ हो ? ठेगाना परिवर्तन भए कहाँ‑कहाँ बस्यो ? कुन‑कुन स्कुल पढ्यो ? कति पढ्यो ? कहाँ‑कहाँ जागिर खायो ? आफ्नै व्यापार व्यवसाय (स्वरोजगार) भए के‑कस्तो व्यवसाय कहाँ गरेको छ ? करको विवरण बुझाएको छ कि छैन ? सरकारी सुविधा लिएको छ कि छैन ? अपांगता छ कि छैन ? कुनै आपराधिक गतिविधि गरेर सजाय पाएको छ कि छैन ? ऋण लिएर नतिरी कालोसूचीमा परेको भए पनि यो नम्बरमा रेकर्ड हुनेछ । यी सम्पूर्ण रेकर्ड यो नम्बरसँग जोडिनेछन् । यसले सरकारी सुविधा लिन सहयोग पुग्नेछ । कुन नागरिकलाई कस्तो सेवा आवश्यक पर्छ भनेर नीति बनाउन सहयोग पुग्नेछ । गलत काम गर्नेलाई दण्ड सजाय दिन, जरिवाना तिर्न सहयोग पुग्नेछ । यो नम्बरले एउटा नागरिकको इतिहासको रेखा कोर्नेछ ।

अहिले तपाईंले सरकारलाई म को हुँ र मेरो इतिहास के हो ? भनेर सोध्नुभयो र जन्मेदेखिको विवरण माग्नुभयो भने हामी दिनसक्ने अवस्थामा छैनौँ । तर, जब यो नम्बर सुरु हुन्छ अनि तपाईंका हरेक गतिविधि रेकर्ड हुँदै जान्छन्, त्यसपछि हामी दिन सक्ने अवस्थामा पुग्नेछौँ । यो तपाईंको जीवनको बायोडाटा हो । यो सरकारसँग हुने नागरिकको बायोडाटा हो । तपाईंले कतै जरिवाना तिर्न बाँकी भए त्यो पनि यसमा रेकर्ड हुनेछ, जसका आधारमा अन्य सुविधा निर्धारण हुनेछन्,’ शलिना सविस्तार बताउँछन् ।

‘के यो नम्बर म तत्काल पाउन सक्छु ?’ विवेक हतारिँदै प्रश्न गर्छन् ।

‘तत्काल दिन सक्दा राम्रो हुन्थ्यो तर तत्काल हामी उपलब्ध गराउन सक्दैनौँ किनकि सर्वप्रथम तपाईंका सम्पूर्ण सूचना हामीले कम्प्युटरमा राख्नुपर्छ । यो फाराम भरिसकेपछि नम्बर तयार पारेर हामी उपलब्ध गराउनेछौँ ।’

‘नम्बर मैले कसरी थाहा पाउन सक्छु ?’ विवेक सोध्छन् ।

‘नम्बर तयार भएपछि समय मिलाएर लिन सक्ने सूचना हामी तपाईंको इमेलमा पठाउँछौँ । इमेल नभए मोबाइल एसएमएस गर्छौं, तपाईंसँग यी दुईवटै नभए हामी फोन गर्छौं । तपाईंले फोन गरिरहनु पर्दैन । यो काम हाम्रो हो ।’

०००

नेपाल नागरिक नम्बर सबैले गोप्य राख्नुपर्नेछ । यसको प्रयोग हुने ठाउँमा मागिनेछ । जस्तैः जागिर दिनेले यो माग्नेछ । रोजगारदाताले यो नम्बर सरकारले दिएको प्रणालीमा राख्नेछ । तर, तपाईंको अन्य विवरण उसले हेर्न सक्ने छैन । तपाईं रोजगार हुनुहुन्छ वा बेरोजगार भन्ने यसले बताउनेछ । रोजगारदाताले तपाईंले रोजगारदाताबाट प्राप्त गर्नुपर्ने सामाजिक सुरक्षासँग सम्बन्धित पैसा जम्मा गरेको छ कि छैन यसको माध्यमबाट सरकारले हेर्नेछ । तपाईंले तिर्नुपर्ने कर तिरेको छ कि छैन भन्ने पनि यहीँबाट हेर्न सकिन्छ । तपाईंले कर विवरण बुझाए नबुझाएको पनि यसबाट हेर्न सकिन्छ । यही नम्बरका आधारमा तपाईंको निवृत्त जीवनको भत्ता, पेन्सन, काम नहुँदा प्राप्त हुने बेरोजगार भत्ता पनि प्राप्त गर्न सक्नु हुन्छ ।

यो नम्बरको प्रयोगपछि सरकारले देशका रोजगार र बेरोजगारको संख्या निर्धारण गर्नेछ । यो आधारमा सरकारले बेरोजगार भत्ता माग गर्नेको विवरण चेक गरेर भत्ता उपलब्ध गराउनेछ ।

यो नम्बर खाता खोल्दा बैंकले पनि माग्नेछ । बिमा कम्पनीले माग्नेछ । सेयर कारोबार खाता खोल्दा माग्नेछ । तर सबैलाई तपाईंको विवरणमा पहुँच हुने छैन । सरकार, सुरक्षा निकाय जस्ता केही निकायमा भने सबै सूचनाको पहुँच हुनेछ । तपाईंलाई प्रहरी प्रतिवेदन चाहिएमा प्रहरीले यही नम्बरका आधारमा तपाईंको विवरण हेरेर प्रतिवेदन दिनेछ ।

गाउँपालिकासँग सबै गाउँबासीको बैंक खाताको योजना पनि छ । वडाबासीसँगको पहिलो भेटमा वडाले सबैको बैंक खाता भए/नभएको पनि जानकारी लिनेछ । यो वर्षभित्र सबै गाउँबासीलाई बैंक खाता खोल्न लगाउने योजनामा गाउँपालिका छ । यसका लागि पालिकाले बैंक खाता नहुने सबैको सूचना तयार पार्नेछ । र, गाउँमा खुलेको बैँकको शाखासँग सहकार्य गर्नेछ । यसका लागि बैंकले शून्य मौज्दातको खाता सुरु गरिसकेको छ । बैंकले खाताको नाम गाउँबासी खाता राखेको छ । खाता खोलेबापत बैंकले हरेक नयाँ खातावालालाई १०० रुपैयाँ मौज्दात जम्मा गरिदिनेछ ।

बैंकले खाताको नाम गाउँबासी खाता राखेको छ । खाता खोलेबापत बैंकले हरेक नयाँ खातावालालाई १०० रुपैयाँ मौज्दात जम्मा गरिदिनेछ ।

गाउँपालिकाले गाउँमा खुलेका बैंकसँग गाउँबासीको बैंक खाता खोल्नका लागि प्रस्ताव आह्वान गरेको थियो, जसमा बढी सुविधा प्रदान गर्ने बैंकसँग वडाले सहकार्य गर्ने योजना बनाएको थियो । बढी सुविधा प्रदान गर्ने बैंकलाई गाउँपालिकाले खाता नहुने गाउँबासीको नाम, ठेगाना र फोन नम्बर उपलब्ध गराउनेछ । यी सूचना बैँकलाई सेयर गर्नेबारे वडाले गाउँबासीसँगको सुरुको भेटमा भरिने फाराममै स्वीकृति लिनेछ । स्वीकृति नलिएका र अन्य सूचना वडाले कुनै पनि व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने छैन । आवश्यकताअनुसार गाउँबासीको सुविधाका लागि उपयोग गर्नेछ ।

बैंकसँगको सहकार्यमा स्थानीयबासीले सेयर कारोबारका लागि डिम्याट खाता पनि खोल्न सक्नेछन् । डिम्याट खाता सेयर किनेपछि जम्मा गर्न र बेचेपछि घटाउन खोलिने खाता हो । यो पैसा जम्मा गर्न बैंकमा खोलिएको खाता जस्तै सेयर जम्मा गर्न खोलिएको खाता हो । जिल्लामा धेरै जलविद्युत् आयोजना निर्माणाधीन छन् । केबलकारहरु बन्दै छन् । उद्योगहरु खुल्ने क्रम जारी छ । यस्ता कम्पनीले स्थानीयबासीका लागि लगानी अवसर प्रदान गर्न सेयर जारी गर्ने गर्छन् । ती सेयरमा स्थानीयबासीले भएको केही बचत लगानी गर्न सक्छन् । जलविद्युत कम्पनीमा लगानी गर्न सरकारले ल्याएका योजनामा लगानी गर्न सक्नेछन् । यी सबै सेयर कारोबारका लागि पनि डिम्याट खाता अनिवार्य हुनुपर्ने व्यवस्था छ । जसका लागि बैंक खातासँगै बैंक कर्मचारीले परिवारका सबै सदस्यको डिम्याट खाता पनि खोलिदिनेछन् ।

यस्तै बैंक खाता खोलेपछि बैंकले स्वतः डिम्याट र सेयर कारोबार खाता खोलिदिनेछ । यसका लागि अलग्गै फाराम भरिरहनुपर्ने छैन । यी सबै खाता खोल्दा बैंक खाता खोल्दाका ग्राहकका सम्पूर्ण सूचनालाई नै आधार मानिनेछ । यसका लागि पनि बैंकले अन्य खाताका लागि आवश्यक पर्ने सूचना सेयर गर्नका लागि अनुमति लिएको छ । यस्तै डिम्याट खाता खोल्दा बैंकले ग्राहकको विवरण डिम्याटको प्रणालीमा चेक गर्नेछ । ग्राहकलाई पनि यसअघि डिम्याट खाता खोले/नखोलेको बारेमा सोधिनेछ । नखोलेको भए र प्रणालीमा यसअघि खोलेको देखिए अरु कसैले नक्कली खाता खोलेको शंका गरी त्यसको विवरण छानबिनका लागि धितोपत्र बोर्डमा पठाउनेछ भने प्रहरीलाई पनि जानकारी दिन छ । यसले सेयर बजारमा अरुको नाम प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित हुनेछ । धितोपत्र बोर्ड सेयर बजारको सबैभन्दा माथिल्लो निकाय हो, जसले सेयर बजारसम्बन्धी नियम कानुन बनाउने, नियमन गर्ने, लगानीकर्ताको हकहितको संरक्षण गर्ने काम गर्छ ।

बैंक खाता नहुने गाउँबासीको खाता खोल्नका लागि बैंकका कर्मचारीले गाउँबासीलाई फोन गर्नेछन् र दुईवटा विकल्प ‑आफैँ आएर खाता खोल्ने वा बैंकका कर्मचारी समय मिलाएर घर‑घरमा जाने । खाता खोल्न बैंक खाता नहुने गाउँबासी बैंकमै जानुपर्ने बाध्यता छैन । तर, यसपछि बैकसँगको कारोबारका लागि भने बैंक जान सक्नेछन् ।

बैँकका कर्मचारीले गाउँबासीलाई दुई फरक बैंक खाताको प्रस्ताव गर्नेछन् । जसमा एउटा खाता पैसाको नियमित कारोबार खाता हुनेछ । अर्को बचत खाता हुनेछ । नियमित कारोबार खाता खोलेपछि गाउँबासीले स्वीकृति दिएमा स्वतः बचत खाता खोलिनेछ । त्यसका लागि कुनै शुल्क नलाग्ने व्यवस्था छ । बचत खातामा हरेक दिन वा हप्ता ग्राहकको इच्छाअनुसार निश्चित रकम जस्तो सय रुपैयाँ नियमित कारोबार खाताबाट स्वतः जाने व्यवस्था हुनेछ । यो रकम कम्तीमा एक वर्षमा मात्र झिक्न पाउने व्यवस्था हुनेछ । जसमा बैंकले अन्य खातामा भन्दा बढी ब्याज प्रदान गरेको छ । यो खाता कतिपयले बच्चाको उच्च शिक्षाका लागि प्रयोग गर्न सक्छन् । कतिले बिमाको प्रिमियम तिर्ने समय पारेर बचत झिक्न सक्नेगरी खाता प्रायोग गर्न सक्छन् । यसको उद्देश्य थाहा नपाउने हिसाबले केही न केही पैसा बचत होस् र केही आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने बैकको मनसाय हो । गाउँलेले आफ्नो आवश्यकतालाई जोडेर खाता उपयोग गर्न सकुन् भन्ने यो खाताको उद्देश्य हो ।

बैंकले घर‑घर निक्षेप योजना पनि ल्याएको छ । बैंक आउन नसक्ने जानकारी दिएका गाउँबासीलाई १५ दिनमा बैँकका कर्मचारीले फोन गर्नेछन् । पैसा भए वा बैँकमा जम्मा गर्नका लागि बैंक कर्मचारी घर‑घर पुगेर पनि सेवा दिनेछ तर त्यसका लागि बैँकले न्यूनतम् निक्षेपको सर्त राखेको छ । गाउँपालिकाको यो योजनापछि अब हरेक गाउँबासीको बैंक खाता हुनेछ । हरेक सरकारी रकम बैँकमार्फत जम्मा हुनेछ । त्यसपछि गाउँको योजना भुक्तानी सिस्टममा नगदभन्दा डेबिट कार्डको प्रयोग बढाउनेछ ।

नेपाल नागरिक नम्बरको सुरुवातसँगै अब नागरिकले बसाइँसराइको सिफारिस वा कागज बनाउनुपर्ने छैन । फोन गरेर वा अनलाइनमा गएर ठेगाना परिवर्तन गरे पुग्छ । वा केन्द्रीय सरकारको प्रमुख वेबपेजमा गएर आफ्नो खातामा ठेगाना परिवर्तन गरे पनि पुग्छ । यसले बसाइँसराइ सिफारिस भन्ने कुराको अन्त्य गर्नेछ ।

०००

फारामको अर्को प्रश्नमा पेसाका बारेमा सोधिएको छ । विवेकको पेसा कृषि हो । त्यसैले भएका धेरै विकल्पमा उनले कृषिमा टिक लगाउँछन् ।

हरेक गाउँबासीले आफूले पालेका चौपायाको विवरण पनि गाउँपालिकालाई उपलब्ध गराउनुपर्नेछ । विवेकले केही बाख्रा पालेका छन् । एक हल गोरु छन् । एउटा भैँसी छ । । उनी खेती पनि गर्छन् । कृषिको अर्को बुँदामा बिमाको कुरा गरिएको छ । जहाँ पशुपन्छी र बालीको बिमा गरे/नगरेको सोधिएको छ । यो शब्द विवेकलाई नयाँ लाग्छ । बिमा कहिलेकाहिँ सुने जस्तो त लाग्छ तर यसबारेमा उनी स्पष्ट छैनन् ।

उनी पुनः शलिनासँग प्रश्न गर्छन् ।

‘यहाँ बिमा भनेको रहेछ, के होला यो ?’ विवेक प्रश्न गर्छन् ।

शलिना धेरै पोख्त भइसकेकी छन् । नयाँ कुराबारे बुझाउनका लागि उनले राम्रा उदाहरणहरु तयार पारेकी छन् ।

‘दाइ ! तपाईं वडा कार्यालय आउँदा बाइकमा आउनुभयो । म तपाईंको हेल्मेट देखिरहेकी छु । हेल्मेट किन लगाइरहेका छौँ भन्दा सम्भावित दुर्घटनाबाट हाम्रो टाउकोलाई बचाउनका लागि । गाडीमा बस्दा सिट बेल्ट बाँध्छौँ । यो पनि सम्भावित क्षतिबाट बच्नका लागि हो । भौतिक क्षतिबाट बच्न हामी सुरक्षाका धेरै उपाय अपनाउँछौँ । यस्तै कहिलेकाहिँ अप्रत्यासित घटनाका कारण आर्थिक क्षति पनि हुनसक्छ । जस्तैः तपाईसँग हल गोरु छन् । अहिले गोरु स्वस्थ छन । यिनको मूल्य ५० हजार रुपैयाँ पर्छ । कुनै कारणबस गोरु मरे भने अर्को हल गोरु तत्काल किन्न सक्ने क्षमता नहुन सक्छ । यसले हामीलाई ठूलो नोक्सानी हुन्छ । यस्ता आर्थिक क्षतिबाट बच्न बिमा गर्नुपर्ने हुन्छ ।

तपाईंले बिमा गर्नुभयो भने मानौँ वर्षको १५ सय रुपैयाँ तिर्नुभयो भने गोरु मरिहाले पनि तपाईंले गोरु किन्ने पैसा पाउनुहुन्छ । यस्तै असिनाले बाली सखाप पार्‍यो भने क्षतिपूर्ति पाइन्छ । सुन्तलामा क्षति पुग्यो भने क्षतिपूर्ति लिन सकिन्छ । यसरी नै कुनै कारणबस आर्थिक क्षति हुन गएमा त्यसको क्षतिपूर्ति पाउने माध्यम वा तरिकालाई बिमा भनिन्छ । यो काम बिमा कम्पनीहरुले गर्छन् । अहिले हाम्रो गाउँपालिमा पनि यस्ता कम्पनी खुलेका छन् । यसरी बिमा गर्ला लाग्ने शुल्कलाई प्रिमियम भनिन्छ । र, त्यसमा चिन्ता पनि नलिनुहोस् । प्रिमियममा सरकारले ठूलो आर्थिक सहयोग गरेको छ । बुझ्नुभयो ?’

‘धेरै बुझेँ बहिनी ।’

सिर्जना धेरै बेरदेखि सुनिरहेकी थिइन् ।

केही बुझेँझैँ गरी भन्छिन्, ‘अस्ति गाउँमा पेम्बाका ५० वटा भेडा मरे । साँची उनले बिमा गरेका थिए कि थिएनन् कुन्नि ! गरेको भए त पैसा पाउने रहेछन् नि है ? बिचराको परिवार पाल्ने आधार नै त्यही थियो । पल्लो गाउँपालिकामा असिना आएर पाकेको धान ध्वस्तै बनायो । विमा गरेको भए क्षतिपूर्ति पाउँथे होला है ?’

सिर्जनाले नोक्सानीका धेरै घटना सुनाइन्, जुन किसानका लागि निकै पीडादायी थिए । दैनिक जीवनयापनँसँग सम्बन्धित थिए । हातमुख जोड्नुसँग सम्बन्धित थिए ।

शलिना भन्छिन्, ‘गाउँबासीका लागि यी सबै दुःखद् कुरा हुन् भाउजू ! यस्ता घटना पुनः नहुन् भन्ने कामना गरौँ तर के गर्ने ? कतिपय प्राकृतिको कुनै भर हुन्न, जतिबेला पनि आउनसक्छ । असिना, बाढीपहिरो, चट्याङ, रोगव्याधि आदिका कारण हरेक वर्ष धेरै आर्थिक नोक्सानी हुने गर्छ । यस्ता विपत्तिबाट हुने क्षतिबाट केही राहत पाउनका लागि बिमा गर्नुको विकल्प हुँदैन । त्यसैले चौपाया, बाली, फलफूलखेती माछापालन सबैको बिमा गर्नुपर्छ । घरको पनि बिमा गर्न सकिन्छ । बाइक र गाडीको बिमा गर्नुपर्छ ।

सिर्जनाले नोक्सानीका धेरै घटना सुनाइन्, जुन किसानका लागि निकै पीडादायी थिए । दैनिक जीवनयापनँसँग सम्बन्धित थिए । हातमुख जोड्नुसँग सम्बन्धित थिए ।

पशुपन्छी र अन्न बालीको बिमाका लागि गाउँपालिका कडाइका साथ अघि बढ्ने योजनामा छ । यसका लागि गाउँबासीलाई प्रोत्साहन र सहयोग पनि गरिनेछ । अब हरेक किसानले पशु र बालीको बिमा अनिवार्य गराउनुपर्नेछ । गाउँपालिकाले कुनै खर्च नगरी यसबारेमा बुझाउनेछ । त्यसका लागि बिमा कम्पनीहरूसँग सम्झौता भइसकेको छ ।

किसानलाई बिमाप्रति आकर्षित गर्न केन्द्र सरकारले बिमा प्रिमियममा उपलब्ध गराउँदै आएको अनुदानमा गाउँको बजेटबाट थप अनुदान उपलब्ध गराइने भएको छ । अहिले बिमा गर्दा किसानले प्रिमियमको ८० प्रतिशत अनुदान सरकारबाट पाउँछन् । गाउँपालिकाले त्यसमा थप ५ प्रतिशत अनुदान दिनेछ । आर्थिक स्थिति अत्यन्तै कम भएका कृषकलाई पुरै अनुदान सहयोग गर्ने व्यवस्था पनि छ । बिमा नगर्ने किसान गाउँपालिकाले प्रदान गर्ने सेवाबाट वञ्चित हुनेछन् ।

बिमा गराउन बिमा कम्पनीहरू पनि हरेक किसानको घरमा समय मिलाएर जानुपर्नेछ । उनीहरुले किसानलाई बिमा र जोखिमका बारेमा बुझाउनुपर्नेछ । तर, लोभ लालचा देखाएर बाध्यतामा पार्ने काम गरे बिमा कम्पनीले जरिवाना तिर्नुपर्ने हुन्छ । अब बिमा कम्पनीले पसल थापेर बस्ने होइन कि घरघर गएर सेवा सुविधा दिनुपर्नेछ । किनकि, सरकारले लघु बिमामा दिएको प्रिमियम व्यवस्थाबाट बिमा कम्पनीले ठूलो व्यवसाय प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिका गाउँमा भएका अन्य व्यवसाय जस्तैः किराना पसल, कपडा पसललगायतलाई पनि बिमाको दायरामा ल्याउने प्रयासमा छ । उनीहरुले कम्तीमा चोरी तथा आगलागी बिमा गर्नुपर्नेछ । आगलागीबाट कुनै नोक्सानी भए गाउँपालिकाले राहतका लागि खर्च व्यहोर्नु नपरोस् र कोही अन्यलाई त्यसका कारण आर्थिक सहायता माग्नु नपरोस् भन्नेमा गाउँपालिका सचेत छ । किनकि, हरेक वर्ष आगलागीका घटना भइरहने तर बिमा नहुने कुराले ठूलो नोक्सानी व्यहोर्नुपरिरहेको छ ।

कृषिअन्तर्गत नै गाउँपालिकाले चिस्यान केन्द्रको सुरुवात गरेको छ । कृषि उत्पादनलाई चिस्यान आवश्यक पर्ने, चिस्यान नगरी भण्डारण गर्न सकिने र सुकाएर राख्न सकिने तर चिस्यान आवश्यक नपर्ने गरी तीन भागमा वर्गीकरण गरिएको छ । कृषकका उत्पादनलाई भण्डारण गरेर बेमौसममा बिक्री गर्ने उद्देश्यले यस्तो गरिएको हो । भण्डारण गर्दा लाग्ने शुल्कमा पनि गाउँपालिकाले किसानलाई अनुदान उपलब्ध गराएको छ । चिस्यान केन्द्रमा अन्य गाउँपालिकाका किसानले पनि कृषिउपज भण्डारण गर्न सक्छन् तर उनीहरु अनुदान भने पाउने छैनन् । गाउँमा अन्य पालिकाबाट अन्न भित्र्याउनु नपरोस् भन्ने गाउँपालिकाको उद्देश्य छ ।

सुकाएर भण्डारण गर्नका लागि गाउँपालिकामा केन्द्र तथा प्रदेश सरकारको अनुदान सहयोगमा घामबाट सुकाउन सक्ने प्रविधि भित्रिसकेको छ । गाउँलेले आवश्यकताअनुसार भाडामा लिएर पनि कृषिजन्य वस्तु सुकाउन सक्नेछन् । गाउँमा खेर जाने गरेका मेल, नास्पाती, स्याउलगायतका फलफूलका चाना बनाएर सुकाउने र सुक्खा फलफूलका रुपमा सहर बजारमा बेच्न थालिएको छ । यस्तै चुचे करेला, तिते करेला, च्याउ, मुला, सागहरु पनि सुकाएर बिक्री गर्न सकिन्छ ।’

०००

विवेक शलिनाले दिएको फाराम भरिरहेका छन् । श्रीमती पनि सँगै छिन् । फाराममा सिक्न चाहेको सीपका बारेमा पनि प्रश्न गरिएको छ । उनी शलिनाको सहयोग लिन चाहन्छन् ।

‘यो सीपका बारेमा केही बताइदिनुस् न !’

‘अहिले तपाईं जे गरिरहनुभएको छ, त्यसबाहेक केही अरु सिक्न चाहनुहुन्छ ?’ शलिना सोध्छिन् ।

‘हजुर ।’

‘सुन्नुस् । गाउँपालिकाले कपाल काट्ने, बिजुलीको काम गर्ने, पानीको काम गर्ने, सिलाइकटाइको काम गर्ने, घर निर्माणको काम गर्ने आदि सीप पनि सिकाइरहेको छ ।’

‘ओहो ! राम्रो अवसर रहेछ । म काठ (कार्पेन्टर)को काम सिक्न चाहन्छु ।’

शलिन भन्छिन्, ‘गाउँपालिकाले सीप सिक्न चाहनेहरूलाई पनि तालिममा लाग्ने रकममा अनुदान दिनेछ । कार्पेन्टर, प्लम्बर, हजाम, सिलाइकटाइका लागि सम्भव भए गाउँमै र नभए नजिक उपलब्ध भएका ठाउँमा सिक्न पठाउने हाम्रो योजना छ । तर, सरकारले दिएको अनुदानमा सीप सिकेर विदेश जान भने पाइने छैन । यसलाई रोक्न गाउँपालिकाले राहदानीबाट कडाइ गर्नेछ । गाउँपालिकाले यस्ता प्राविधिक सेवा प्रदान गर्नेको रेकर्ड राख्नेछ । ‘गाउँको आवश्यकता गाउँबाटै’ भन्ने मान्यताअनुसार गाउँलेले खोलेका यस्ता सेवा दिने पसलमा करलगायतमा छुटको व्यवस्था गरिएको छ । भविष्यमा गाउँमै खुलेका यस्ता ठाउँलाई तालिम केन्द्रको रुपमा प्रयोग गरिनेछ ।’

०००

फारामको अर्को प्रश्नमा शिक्षाको कुरा गरिएको छ । प्राप्त शिक्षाका बारेमा विवेकले टिक लगाउनुपर्नेछ, जहाँ परिवारका अन्य सदस्यको पनि शिक्षाको कुरा गरिएको छ ।

सरकारले दिएको अनुदानमा सीप सिकेर विदेश जान भने पाइने छैन । यसलाई रोक्न गाउँपालिकाले राहदानीबाट कडाइ गर्नेछ ।

गाउँपालिकाले शिक्षामा सबैको पहुँच पुर्‍याउन स्थानीय शिक्षा नीति बनाएको छ । जसअनुसार गाउँपालिकाका सबै विद्यालयको सिकाइमा र पूर्वाधारमा एकरुपता कायम गर्नेछ । शिक्षकको सिकाउने तरिका र व्यवहारमा परिवर्तन ल्याउनेछ । विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउन शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ भन्नेमा गाउँपालिका स्पष्ट छ ।

शिक्षकले पढाउँदा विद्यार्थीलाई डर देखाउन, तर्साउन, पिट्न या दण्ड दिन पाउने छैनन् । अर्कोदिन बच्चा स्कुल आउन उत्साहित हुने वातावरण सिर्जना गर्नुपर्नेछ । कक्षाकोठाको सफाइ र वातावरणमा पनि विशेष ध्यान दिनुपर्नेछ ।

विद्यार्थीलाई एकअर्कालाई सहयोग गर्ने, खराब कुरा नगर्ने, समान व्यवहार गर्ने, आदर गर्ने, जात, धर्म, लिंग र रंगका आधारमा विभेद गर्न नहुने जस्ता कुरा सिकाउनुपर्नेछ ।

शिक्षकका माध्यमबाट बच्चाको आचरण र व्यवहारमा व्यापक परिवर्तन ल्याउने गाउँपालिकाको नीति छ । गाउँपालिकाका पनि कुनै पदाधिकारी या कर्मचारीले कसैमाथि असमान वा विभेदपूर्ण क्रियाकलाप गर्ने छैनन् । कार्यक्रममा मोबाइल खेलाएर बस्न पाउने छैनन् । एकले अर्काका कुरा सुन्नेछन् । समयको ख्याल गर्नेछन् । विभिन्न बैठकमा बच्चाहरूलाई सहभागी गराउनेछन्, जसले बच्चामा नेतृत्व क्षमताको विकास हुनेछ । खेलकुदमा पनि बच्चालाई सहभागी गराउनेछन् ।

बच्चाको खाजाका लागि स्थानीय उत्पादन प्रयोग गरिनेछ । स्थानीय आलु, पिँडालु, तरुल, इस्कुस आदिको व्यापक भण्डारण गरी शिशु र कक्षा १ का विद्यार्थीका लागि खाजा खुवाउने व्यवस्था गरिनेछ ।

०००

फारामको अर्को बुँदामा स्वास्थ्य र अपांगतासम्बन्धी प्रश्न छ । गाउँपालिकाले गाउँमा भएका सबै प्रकारका अपांगता भएका व्यक्तिहरुको विवरण अद्यावधिक गरिरहेको छ । अपांगता भएका व्यक्तिलाई सरकारी सुविधा उपलब्ध गराउन सहज होस् भनेर एकीकृत तथ्यांक राख्न लागिएको हो । त्यस्तै पालिकाबासीको स्वास्थ्यमा व्यापक परिवर्तन ल्याउने तयारीमा गाउँपालिका छ । यसका लागि गाउँपालिका स्वास्थ्य कोष निर्माण गरिएको छ । कोषबाट पालिकाबासीको सामूहिक बिमा गर्ने योजना बनाएको छ । कोषमा आयका आधारमा पालिकाबासीले सानो‑सानो योगदान गर्नुपर्नेछ । योगदान नगद मात्र नभएर जिन्सी पनि गर्न सक्ने व्यवस्था छ, जसको नगद सोधभर्ना गाउँपालिकाले गर्नेछ । उपचार नपाएर कोही पनि मर्नु नपरोस् भन्ने उद्देश्यले यसरी सामूहिक बिमा गरिएको हो ।

विवेक र सिर्जनाले अझै धेरै प्रश्नको जवाफ दिनु छ, जसले उनको र उनको परिवारको सहज जीवनको आधार तयार पार्नेछ । अरु गाउँबासी पनि यसरी नै उपस्थित हुनुपर्नेछ । त्यसपछि हरेकले भन्नेछन्‑ वाह ! मेरो वडा कार्यालय !!

प्रकाशित समय ११:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु