fbpx
corona information

गृहपृष्ठ कोभिड–१९ परीक्षण व्यापक बनाऊ

कोभिड–१९ परीक्षण व्यापक बनाऊ

sampadakiya-newskarobar

विगतमा २४ घण्टामा मात्रै लगातार ८४ जनामा नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै नेपालमा यस भाइरसको संक्रमितहरूको संख्या २१७ पुगेको छ । बुधबार विहानका केही विवरणहरूले यो भाइरस संक्रमितहरूको संख्या अझ बढ्दै जाने जोखिमका संकेत गरेका छन् । जनस्वास्थ्य विज्ञहरूको तर्कलाई आधार मान्ने हो भने नेपालमा पर्याप्त परीक्षण नभएकै कारण कोरोना भाइरसका संक्रमितहरूको संख्या कम देखिएको हो । एकबाट दुई, दुईबाट चार हुँदै अब २०० भन्दा नाघिसकेको अहिलेको अवस्थामा नेपालमा अहिलेसम्म कोभिड–१९ कै कारणले हालसम्म कसैको पनि मृत्यु नभएको वा कडा खालको संक्रमण नदेखिएको भनेर अल्प–सूचनामात्रै प्रवाहित गरिरहनुको कुनै अर्थ छैन ।

जुन तरिकाले अमेकिरी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य किसिमका मौसमी फ्लुहरूबाट हरेक वर्ष अमेरिकीमा मर्नेहरूको संख्या निकै बढी छ, त्यसका अनुपातमा यो हालको भाइरसको संक्रमण केही होइन भन्दै गर्दा अहिले अमेरिकाको मृत्युदर विश्वमै सर्वाधिक पुगिसकेको छ, त्यही तरिकाले यहाँ पनि हल्काफुल्का टिप्पणी गरेर बस्ने छुट कसैलाई पनि छैन । कोभिड–१९ को संक्रमण न ठट्टा गर्ने विषय हो, न त लापरवाही नै । बेसार, अदुवा, जिरा, मरिच खाएकै भरमा कोभिड–१९ नलाग्ने भए, यस्ता मरमसला नेपालमा भन्दा छिमेकी मुलुक भारतमा बढी खाइन्छ । त्यहाँ बुधबार बिहानसम्म ७४ हजार २८१ जनामा संक्रमण भइसकेको छ भने यसकै कारण २ हजार ४१५ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा चिन्ताको विषय नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा हालसम्म साढे ३ हजार व्यक्तिमा संक्रमण देखिएकोमा ८४ जनाको मृत्यु भएको छ भने पश्चिम बंगालमा २१०० जनामा संक्रमण देखिएकोमा १९८ जनाको मृत्यु भएको । यस्तै बिहारमा ८३१ जनामा संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म कोभिड–१९ को सर्वाधिक संक्रमण देखिएका ‘हटस्पट’ क्षेत्रहरूमा तराईसँग सीमा जोडिएका वा आसपासका जिल्लाहरू छन् । पछिल्लो समयमा प्रदेश नं २ को पर्सा र बारा जिल्ला ‘हटस्पट’ बनेको छ, जहाँमात्रै ७६ जना संक्रमित फेला परेका छन् । चिन्ताको विषय के हो भने यो देशको प्रमुख औद्योगिक करिडोरमात्र नभएर आयात–निर्यातको पनि मुख्य नाका हो ।

देशमा कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर लकडाउन अबलम्बन गरिएयता पनि वीरगन्ज हुँदै अत्यावश्यक वस्तु, खाद्यान्न र तरकारी–फलफूल आयात भइरहेको छ । ती वस्तु बोकेर उपत्यकासहित देशका विभिन्न भूभागमा चलायमान हुने ट्रक–कन्टेनरहरूबाट प्रतिदिन सयौं व्यक्ति ओहोर–दोहोर गरिरहेका छन्, जसको नियमित स्वास्थ्य परीक्षण नै हुने गरेको छैन । काठमाडौं उपत्यकामा मात्रै अहिले पास भएका सवारी साधन र पास नभएकैहरू हिडेरै पनि दैनिक ५–७ हजारका संख्यामा भित्रिइरहेका छन् । भारतमा रोजगारी, यात्रा र तीर्थ गर्न गएका हजारौ नेपालीहरू अहिले सीमा क्षेत्रमा अलपत्र छन् । त्यसैले कोभिड–१९ का जोखिम अहिले देशका सबै क्षेत्रमा फैलिएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमण युद्धक्षेत्रमा लुकाएर राखिएको भूमिगत बम (ल्यान्डमाइन)जस्तै हो, जुन कुनै पनि बेला विस्फोट हुनसक्छ भन्ने कुरा राज्यका उपल्लो निकायमा बस्नेले बुझ्ने प्रयास नै गरेनन् । अहिले देशको अर्थतन्त्र होइन, जीवन बचाउनु महत्वपूर्ण कुरा थियो भन्ने कुरा आमसञ्चार माध्यमले औंल्याइ दिँदा पनि सरकारलाई अर्थतन्त्रको पुनरुत्थानका लागि खर्च गर्नुपर्ने पैसा बचाउने मोह बढी देखियो र उद्योगधन्धा, बजार खोल्न दिने निर्णय गर्न हतारो भयो । विश्वका अन्य मुलुकहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को कम्तिमा ५ देखि २५ प्रतिशतसम्म आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याइरहँदा नेपालमा पनि अर्थमन्त्री यदि राहत माग्यौ भने कर बढाइ दिन्छु भनेर धम्की दिन व्यस्त छन् । योभन्दा असंवेदनशील कुरा के हुन्छ ।

अर्थमन्त्रीले सार्वजनिक सञ्चार माध्यमहरूमा दिएका अभिव्यक्ति र लकडाउनलाई सीमित रूपमा भन्दै खुला गर्न देखाइएको हतारोले के पुष्टि हुन्छ भने सरकारलाई नागरिकको जीवनभन्दा राज्यकोषमा जम्मा हुने राजस्व प्यारो छ । यो असंवेदनशील चरित्र छाड, जीवन रहे, अर्थतन्त्र फेरि बहाल हुने नै छ । राज्यका सबै बल प्रयोग गरेर, यदि क्षमता पुग्दैन भने विदेशी सहयोग गुहारेर भए पनि परीक्षणको दायरा बढाएर नागरिकको जीवन रक्षा गर्न सरकार नचुकोस् ।

प्रकाशित समय १२:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु