fbpx
corona information

गृहपृष्ठ कोभिड १९ का कारण विश्वभरका पर्यटकीय क्षेत्र सुनसान

कोभिड १९ का कारण विश्वभरका पर्यटकीय क्षेत्र सुनसान

विश्वभर पर्यटन क्षेत्रमा साढे चार खर्ब डलर क्षति हुनसक्छ : डब्लुटिओ

नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण सोमबारसम्म २०८ देशमा फैलिँदा विश्वभरका पर्यटन क्षेत्र सुनसान बनेका छन् । कोरोनाका कारण सर्वाधिक पर्यटक पुग्ने इटालीको रोममा रहेको कोलोसियमदेखि विश्वकै आकर्षक टापुहरु सुनसान बनेका हुन् ।

कोरोना उद्गमस्थल चीनको वुहान तीन महिनापछि तंग्रिँदै गर्दा अमेरिकी र युरोपेली मुलुकमा कोरोनाभाइरसको प्रभाव भयावह भन्दै गएको छ । कोरोना फैलिन नदिन अधिकांश देशमा लकडाउन गरिएको छ । घरमै बस्नुपर्ने यो परिस्थितिमा एक देशबाट अर्को देश जाने सम्भावना शून्य छ ।

यससँगै वाह्य पर्यटन आवागमन ठप्प भएको हो । अहिले इटालीको रोममा रहेको कोलोसियम ‘मुर्दाघर’ जस्तै बनेको छ । जहाँ सन् २०१९ मा विश्वकै सर्वाधिक ७० लाख मानिस पुगेका थिए । त्यस्तै फ्रान्सको पेरिसमा रहेको लुभर म्युजियम, इटालीकै रोममा रहेको भ्याटिकन म्युजियम, अमेरिकाको न्यु योर्क सिटीमा रहेको स्ट्याचु अफ लिबर्टी, फ्रान्सको पेरिसमा रहेको आइफल टावर, स्पेनको बार्सिलोनामा रहेको ब्यासिलिका अफ द साग्रदा फ्यामेलिया, ल्युजियानाको न्यु अर्लिन्स र नेदरल्यान्डको आम्सट्रडममा रहेको आन फ्रान्स हाउसहरू पनि सुनसान छन् ।

विश्वका प्रमुख पर्यटकीय गन्तव्य टापुहरूमा ह्वेलसहितका सामुद्रिक जीवहरू विचरण गर्न थालेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । आकर्षक टापुहरु टहिटीको बोरा बोरा, क्रोएसियाको हेवर, अस्ट्रेलियाको कोकोस किलिङ, ग्रिसको स्यान्तोरिनीदेखि इन्डोनेसियाको बालीसम्म सुनसान छन् । जहाँ विगत वर्षहरूमा यसबेला लाखौँ पर्यटक रमाइरहेका हुन्थे ।

विश्व पर्यटन संगठन (डब्लुटिओ)का अनुसार कोभिड १९ बाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । यसको सम्भावित प्रभाव मूल्यांकन गरी त्यसलाई पहिलेकै अवस्थामा फर्काउन डब्लुटिओले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग छलफल पनि गरेको जनाइएको छ ।

आवागमनमा ३० प्रतिशत ह्रास हुने अनुमान

डब्लुटिओले सन् २०१९ को तुलनामा सन् २०२० मा वाह्य पर्यटक आवागमनमा २० देखि ३० प्रतिशत ह्रास आउने पूर्वानुमान गरेको छ । तर, कोरोना महामारीको विश्वव्यापी प्रभाव र संक्रमणमा अनियन्त्रित वृद्धिदरका कारण पर्यटक आवागमनमा त्योभन्दा निकै ठूलो प्रभाव पर्ने देखिएको छ ।

सन् २०१९ मा एक अर्ब ४६ करोड १० लाख मानिस एक देशबाट अर्को देश पुगे । वाह्य पर्यटक आवागमनको यो तथ्यांक १० वर्षअघिको तुलनामा करिब दोब्बर हो । सन् २०१० मा ८९ करोड २० लाख पर्यटक विश्वका विभिन्न देश पुगेका थिए । सन् २०२० मा गत वर्षको तुलनामा ४० करोड कम मानिसले अर्को देश भ्रमण गर्ने डब्लुटिओको प्रारम्भिक अनुमान छ ।

साढे चार खर्ब डलर क्षति हुनसक्छ : डब्लुटिओ

कोरोनाका कारण सन् २०२० मा पर्यटन क्षेत्रले चार खर्ब ५० अर्ब डलरबराबरको क्षति व्यहोर्ने अनुमान डब्लुटिओको छ । सन् २००९ मा विश्वव्यापी आर्थिक मन्दीका कारण पर्यटन क्षेत्रमा ८८ अर्ब डलर क्षति पुगेको थियो ।

क्षतिको यो पूर्वानुमानलाई विभिन्न हिसाबले हेरिएको छ । आउँदो जुनदेखि महामारी ५० प्रतिशत नियन्त्रणमा आउनसक्ने र शतप्रतिशत नियन्त्रणमा आउन सक्ने अवस्थाका आधारमा क्षतिको विवरण अनुमान गरिएको छ । कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न पूर्ण रूपमा बन्द भएको अवस्थालाई नियन्त्रणको अवस्थाका रुपमा हेरिन्छ । अक्सफोर्ड इकोनोमिक्सको अध्ययनअनुसार कोरोना महामारीबाट विश्वले पूर्णतः मुक्ति पाउन भने १२ महिनादेखि १६ महिनासम्म लाग्न सक्छ ।

पर्यटनमा आश्रित अर्थतन्त्र रसातलमा झर्ने खतरा

कोरोनाको विश्वव्यापी प्रभाव तीव्र गतिमा फैलिएसँगै आवागमन शून्यमा झारिएको छ । यसले पर्यटन आयमा आश्रित देशहरुको अर्थतन्त्र रसातलमा झर्ने खतरा बढेको विभिन्न अध्ययनले देखाएका छन् । सन् २०१९ मा विश्वव्यापी रुपमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २९ खर्ब अमेरिकी डलरबराबर थियो ।

चीनको वुहानमा डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोरोना नियन्त्रणमा आउन अब कम्तीमा दुई महिना लाग्ने अक्सफोर्ड इकोनोमिक्सको अनुमानथ्यअनुसार पनि पर्यटन आयमा आश्रित देशहरूको अर्थतन्त्र नराम्ररी थला पर्ने अनुमान गर्न सकिन्छ । जुनदेखि कोरोना नियन्त्रणमा आएमा करिब ६ महिनामात्र केही मात्रामा उनीहरूको अर्थतन्त्र चलायमान हुन सक्छ ।

जिडिपीमा योगदानका हिसाबले पर्यटन क्षेत्रको योगदान सबैभन्दा बढी भएको मुलुक माल्दिभ्स हो । सन् २०१८ को तथ्यांकअनुसार माल्दिभ्सको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ५९.६ प्रतिशत छ । विश्वव्यापी कोरोनाको प्रभावसँगै माल्दिभ्सको अर्थतन्त्र डामाडोल हुने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् । त्यस्तै थाइल्यान्डको जिडिपीमा पयर्टन क्षेत्रको योगदान १२.६ प्रतिशत छ भने ग्रेनाडाको ४० प्रतिशत र क्रोएसियाको १९.९ प्रतिशत छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले भने नेपालको जिडिपीमा पर्यटन क्षेत्रको योगदान करिब ३ प्रतिशत हाराहारी मात्र रहेकाले ठूलो क्षति नहुने दाबी गर्दै आएका छन् । तर, पर्यटन क्षेत्र पूर्णरुपमा प्रभावित भए नेपालले ६३ अर्बभन्दा ठूलो नोक्सानी व्यहोर्नेछ ।

पर्यटनजन्य गतिविधि अवरुद्ध हुँदा विश्वभरिकै रोजगार बजारमा प्रभाव परेको छ किनभने यकिन अध्ययन प्रतिवेदन नभए पनि हरेक १० मध्ये ९ रोजगारी पर्यटन क्षेत्रबाटै सिर्जना हुने बताइन्छ ।

प्रकाशित समय १५:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु