fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ कोरोना भाइरसविरुद्ध अपर्याप्त तयारी र सावधानी

कोरोना भाइरसविरुद्ध अपर्याप्त तयारी र सावधानी

sampadakiya-newskarobar

विश्वव्यापी स्वास्थ्य महामारी बनेको नोबल कोरोना भाइरस (कोभिड–१९)का संक्रमण छिमेकी मुलुक भारतमा पनि जुन ढंगले विस्तार हुँदै गएको छ र नेपालले आजका मितिसम्म पनि जुन किसिमले पर्याप्त सावधानी अपनाउनमा ढिलाइ गरिरहेको छ, यसले गम्भीर चिन्ता बढाएको छ । पहिलो कुरा त विश्वमै नयाँ प्रकृतिको भाइरसका रूपमा देखापरेको यो स्वास्थ्य संकटका बारेमा सरकारको बुझाइ नै निकै हलुका भयो, जुन कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको भेलामा सार्वजनिक गरेको अभिव्यक्ति र पर्यटनमन्त्री योगेश भट्टराईले नेपाललाई कोरोनामुक्त राष्ट्र भनेर गरेको घोषणाले नै प्रमाणित गर्छ ।

यस विषयमा हामी कति लापरवाह छौं भन्ने कुरा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आजै नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएको भन्ने विषयमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन नै थप प्रमाणित गरेको छ । २५ जनाभन्दा बढी भेला नहुनु भन्ने सरकारको आफ्नै निर्देशन स्वास्थ्य मन्त्रालयले पालना गरेन नै, अरुलाई स्वास्थ्य सावधानीका लागि सुरक्षित भौतिक दूरी कायम राख्नु भन्ने ज्ञान बाँड्ने मन्त्रालयका स्वास्थ्य अधिकारीहरुसमेत जीउ टँसाएरै कुर्सीमा लापरवाहपूर्ण तरिकाले बस्दा कस्तो सन्देश जाला? त्यो पत्रकार सम्मेलनमा नै कम्तिमा १०० जनाको भीड थियो होला । यसबाट सरकारको भनाइ र गराइ ठिक उल्टो देखिन्छ ।

भाग्यले हामीलाई साथ दिएकै भन्नुपर्छ, विश्वका १६५ भन्दा बढी मुलुकमा ३ लाख ३९ हजार ६४५ जनामा देखापर्दा र १४ हजार ७१७ जनाको मृत्यु हुँदा नेपालमा अहिलेसम्म २ जनामा मात्रै यो भाइरसको संक्रमण देखा परेको छ । तर यही कारणले नै निश्चिन्त भएर बस्ने अवस्था अवश्य होइन । हाम्रो अहिलेसम्मको कोरोना भाइरसविरुद्धको तयारी निकै फितलो र अपर्याप्त नै देखियो ।
शुक्रबारमात्र प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, सोमबारबाट लामो दूरीका सवारी साधन चल्नबाट रोक लगाउने घोषणा गरे भने आइतबार डर मानिमानीकन बल्ल भारत र चीनका सीमा नाका एक सातालाई बन्द गर्ने निर्णय गरियो । जबकी, यी निर्णयहरू अलिअघि नै भइसक्नु पर्ने थियो । नेपाल–भारतबीचको खुला सीमाबाट यसबीचमा हजारौंको आवतजावत भइसकेको छ । मुलुकलाई विश्व स्वास्थ्य संकटबाट बचाउन सरकारको अरुको मुख ताकेर सीमा बन्द गर्ने कार्यमा ढिलाइ गर्नुको अर्थ आमनागरिकहरूको स्वास्थ्य जोखिम बढाउनु नै हो ।

कोरोना भाइरस संक्रमणको परीक्षणको विवरण पनि अन्योलपूर्ण नै छ । हालसम्म ५ सय १५ जनाको नमुना परीक्षण गरिएकोमा जम्मा २ जनामा मात्रै संक्रमण पुष्टि भएको तथ्य एकातिर छ भने १८५ जना परीक्षण नमुना त चीनबाट फकाइएका नेपाली विद्यार्थीहरूको नै भएको अर्को तथ्य पनि छ । यसको सोझो अर्थ के हो भने वास्तविक रूपमा संक्रमण परीक्षणका लागि मुख्य परीक्षाको घडी त्यतिखेरमात्र देखिने छ, जब एकै पटक व्यापक अनुपातमा परीक्षण गर्नुपर्ने हुन्छ । यसका लागि हाम्रो प्रयोगशाला क्षमता कतिको सक्षम छ र हामीसँग कति अनुपातमा परीक्षण किटहरू छन् भन्ने कुरामा बेलैमा ध्यान नपुगेकै हो । चीनले परीक्षण किट दिन्छु भनेर प्रस्ताव अघि बढाइसकेकाले अझै तयारी गर्न सकिने अवस्था छ ।

अर्को महत्त्वपूर्ण विषय के हो भने नेपालमा कोरोना भाइरसविरुद्धको उपचारकै लागि भनेर विशिष्ट रूपमा अस्पताल नै तोक्न ढिलाइ गरियो । यदि यसका लागि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नै चयन गरिएको हो भने त्यहाँ हुने अन्य किसिमका उपचारका लागि अन्य अस्पताललाई तोकेर त्यो अस्पताललाई नै पूर्ण रुपमा ‘डेडिकेटेड अस्पताल’मा रूपान्तरण गर्न ढिलाइ गर्नु हुँदैन ।

योसँगै जोडिएको अर्को विषय हो, स्वः क्वारेन्टाइनको । स्वस्थ्य मानिसलाई त स्वः क्वारेन्टाइन वा स्वः आइसोलेसनका विधिले संक्रमण विस्तार हुनबाट रोक्न सकिएला, यदि कोही व्यक्तिमा रुघाखोकी, ज्वरोसहित कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने ऊ आफै अस्पतालसम्म जान, उपचार गर्न उपयुक्त हुन्छ कि सरकारले कुनै तोकिएको एम्बुलेन्स, डाक्टर र स्वास्थ्यकर्मीहरूको टोली नै शंकास्पद बिमारीको घरसम्मै पुगेर, तत्कालै परीक्षण किटबाट जाँचेर अस्पताल ल्याउन उपयुक्त हुन्छ? भन्ने विषयमा सोच्न ढिलाइ गर्नु हुँदैन । अस्पतालहरूमा आइसोलेसन वार्डहरू छुट्याउनका लागि निकै ढिलोगरिमात्र सरकारले निर्देशन दियो । स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जालहरूमा आफ्ना लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) नभएको संवेदनशील मुद्दा उठाइरहेका छन् । सबैभन्दा पहिला संक्रमण सर्ने जोखिममा परिवारपछि, डाक्टर र सँगै अन्य स्वास्थ्यकर्मी नै हुन्छन् । उनीहरूका लागि पर्याप्त पीपीइ उपलब्ध गराउने व्यवस्थाका लागि तत्कालै सरकारले निर्णय लिनै पर्छ ।

कोरोना भाइरसको संक्रमण विस्तार रोक्नका लागि चीन, ताइवान, सिंगापुरर, दक्षिण कोरियालगायतका मुलुकले चालेका प्रयास हाम्रालागि अनुशरणीय हुनसक्छ । नेपालले चीनका शैलीमा पुरै क्षेत्र विशेषमा कफ्र्यु नै लगाएर संक्रमण रोक्ने कार्य गराउन सक्दैन, तर दक्षिण कोरियाले अपनाएको सीमा क्षेत्र बन्द गरी मुलुकलाई लकडाउन गर्ने, नागरिक आवगमनमा केही नियन्त्रित विधि अपनाउने र बढीभन्दा बढी नागरिकहरूको स्वास्थ्य चेकजाँच गर्ने विधिलाई यहाँ पनि अनुशरण गर्न सकिएमा यसको संक्रणम विस्तार रोक्न सकिन्छ । कोरोना भाइरसको संक्रमण विस्तार रोक्नका लागि नागरिक सचेतना बढाउनु, स्वास्थ्य सावधानी अपनाउन र घरमै बस्न उत्प्रेरित गर्नु जतिको जरुरी छ । त्यतिकै सरकारले पर्याप्त आइसोलेसन वार्डसहितको तोकिएको विशिष्टीकृत अस्पताल घोषणा, कम्तिमा पनि दुई जनाजति तत्कालै परिचालित हुनसक्ने स्वास्थ्यकर्मीहरूको टोली निर्माण, काठमाडौंभित्र तथा उपत्यका बाहिर पीपीइ, परीक्षण किटसहितको कम्तिमा २५ वटा एम्बुलेन्सको व्यवस्था गर्नु अपरिहार्य भइसकेको छ ।

प्रकाशित समय १४:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु