fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ कोरोनाबारे भ्रम फैलाउने भक्तपुरबाट पक्राउ

कोरोनाबारे भ्रम फैलाउने भक्तपुरबाट पक्राउ

DIG Thapa_NewsKarobar

विश्वव्यापी स्वास्थ्य संकट बनेको कोरोना भाइरसबारे सामाजिक सञ्जालमा विभिन्न खालका भ्रम फैलाउने २० वर्षीय विवेक थापामगरलाई प्रहरीको साइबर ब्युरोले भक्तपुर, सिपाडोलबाट पक्राउ गरेको छ ।

राजधानीको नर्भिक अस्पताल, शिक्षण अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका नाम जोडेर फेसबुक, टिकटक, ट्वीटरसहितका सामाजिक सञ्जालमा अफबाह फैलाउने बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।

‘नेपाल प्रहरी कुनै पनि किसिमका अपुष्ट खबर, सन्देश, भिडियो नबनाउन, नलेख्न, शेयर नगर्न, रिट्वीट र लाइक नगर्न, म्यासेन्जरमा नफैलाउन सबैमा अपिल गर्दछ ।’

‘नर्भिक अस्पतालसँग जोडेर अफवाह फैलाउनेको हामीले पहिचान गरिसकेका छौं, उक्त व्यक्तिलाई ट्रयाक गर्न प्रहरी परिचालित भइसकेको छ,’ नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापाक्षेत्रीले न्युज कारोबारसँग भने ।

नर्भिक अस्पतालले आफ्नो अस्पतालमा यस्ता कुनै पनि बिमारी पत्ता नलागेको बताएको छ । अस्पतालका अध्यक्ष वसन्त चौधरीले भने–‘भाइरल भएको न्युज अत्यन्तै भ्रामक हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । साइबर क्राइम युनिटले उक्त व्यक्तिको पहिचान गरी कारबाही अगाडि बढाएको छ । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं ।’

यस्तै, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडका कारण निकै ठूलो संख्यामा मृत्यु भएको भन्दै अफवाह फैलाउने व्यक्तिलाई समेट ‘ट्रयाक’ गरिसकिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

‘हाम्रो प्रारम्भिक अनुसन्धानले उक्त भिडियो विदेशमा बसेर अपलोड गरेको पाइएको छ । फेसबुक र ट्वीटरमा ल्याइ फैलाउनेहरूबारे अनुसन्धान गर्दैछौं,’ थापाले भने ।

मुलुकी ऐन अपराध संहित २०७४ को परिच्छेद २ को दफा ७० बमोजिम यसरी अफवाह फैलाउनेलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने तथा थप विद्युतीय कारोबार ऐनको साइबर अपराधसम्बन्धी व्यवस्थाअनुसार थप सजायको भागिदार हुनुपर्ने उनले बताए ।

‘यस्तो संवेदनशील अवस्थामा सामाजिक सञ्जालमा कुनै पनि अफवाह फैलाउनुसाइबर अपराधमात्र होइन, सार्वजनिक अशान्ति पनि फैलाउनु हो,’ डिआईजी थापाले भने ।

‘नेपाल प्रहरी कुनै पनि किसिमका अपुष्ट खबर, सन्देश, भिडियो नबनाउन, नलेख्न, शेयर नगर्न, रिट्वीट र लाइक नगर्न, म्यासेन्जरमा नफैलाउन सबैमा अपिल गर्दछ । यस्ता अफवाह फैलाउनेहरूबारे कुनै सूचना भए नेपाल प्रहरीको १०० वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइ दिनुहोला,’ थापाले आमनागरिकहरूसँग विशेष आग्रह गदै भने ।

यसैबीच प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी   सम्बन्धित अस्पतालसँग जानकारी माग गर्दा र बुझ्दा समेत यो खबरमा कुनै सत्यता नरहेको भन्दै यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन अनुसार दण्डनीय भएको बताएको छ ।

 

प्रकाशित समय १५:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु