fbpx
corona information

गृहपृष्ठ अब निजी विमान राख्न पाइने

अब निजी विमान राख्न पाइने

Private jet_NewsKarobar

अब विदेशमा जस्तै धनाढ्यहरूले निजी विमान राद्यखन पाउने भएका छन् । नेपालको हवाई क्षेत्रलाई उदारीकरण गरिएको दुई दशकपछि पहिलो पटक निजी विमान राख्ने पाउने व्यवस्था गर्न लागिएको हो ।

राष्ट्रिय हवाई नीति–२०७६ को प्रारम्भिक मस्यौदामा– ‘कुनै संस्था वा व्यक्तिले निजी प्रयोजनका लागि विमान दर्ता गरी सञ्चालन गर्न चाहेमा व्यापारिक उडान गर्न नपाउने गरी हवाई उडान सुरक्षा र हवाई सुरक्षासमेतका प्रावधानहरूसहितका आवश्यक सर्त तोकी अनुमति प्रदान गर्न सकिने’ उल्लेख छ ।

व्यक्ति वा निजी कम्पनीहरूको आफ्नो प्रयोजनका लागि निजी वायुसेवा राख्ने चलन विकसित मुलुकहरूमा मात्र होइन, छिमेकी मुलुक भारतमा समेत भित्रिएको सन्दर्भमा नेपालमा समेत यसको अनुशरण गर्न लागिएको हो ।

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसियसन (आयटा)का अनुसार भारत विश्वकै नवौं ठूलो निजी जेट बजार हो, जसले विश्वव्यापी निजी जहाज बजारको करिब १२ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२६ सम्म भारतले निजी जहाज बजारमा बेलायतलाई उछिनेर तेस्रो स्थानमा आइपुग्ने प्रक्षेपण गरिएको छ ।

यो नीतिको कार्यान्वयनमा भएमा कुनै पनि संस्था अथवा व्यक्तिले आफ्नै निजी विमान राख्न पाउने छन् । केकस्तो प्रकृतिका निजी विमान राख्न पाउने भन्ने विषय भने नीति कार्यान्वयनका लागि बन्ने कानुन र कार्यविधिहरूले तोक्नुपर्ने हुन्छ ।

प्रायःजसो व्यक्तिगत विमानहरू साना आकारका र सिंगल इन्जिनका हुने गर्छन । नेपालमा पछिल्लो समयमा बढ्दै गएका नव–अर्बपतिहरू र अर्बौंका कारोबार गर्ने निजी कम्पनीहरूको संख्यासँग निजी जहाजको माग यहाँ पनि बढ्नसक्ने अनुमान गरिएको हो ।

निजी वा व्यावसायिक जहाजका नाममा थोत्रा जहाज भित्र्याएर हवाई आकासलाई जोखिममा पार्नसक्ने सम्भावनालाई पनि हवाई नीतिले रोक्न खोजेको छ ।

हवाई नीतिले १५ वर्षभन्दा पुरानो वायुयानको आयात अनुमति नदिने उल्लेख गरेको छ । ‘प्रेसराइज्ड वायुयान’ हकमा भने १५ वर्षभन्दा पुरानो वा ‘इकोनोमिक डिजाइन लाइफ’को ५० प्रतिशत पूरा गरेको अथवा ३५ हजार ‘प्रेसराइजेसन साइकल’ पूरा गरेकोमध्ये जुन पहिला हुन्छ, त्यस्तो वायुयान आयात गर्न नदिइने उल्लेख छ ।

हवाई नीतिले नेपालमा वायुसेवा सञ्चालन, प्रशिक्षण, मर्मत सम्भार तथा यात्रु सेवासुविधा प्रदायक क्षेत्रमा विदेशी लगानी खुला गर्ने प्रस्तावित गरेको छ । जसअनुरुप अन्तर्राष्ट्रिय वायुसेवमा ८० प्रतिशतसम्म, आन्तरिक वायुसेवामा ४९ प्रतिशतसम्म, प्रशिक्षण, मर्मत सम्भार संस्था तथा यात्रु सेवासुविधा प्रदायक उद्योगामा ७५ प्रतिशतसम्म विदेशी लगानी गर्न स्वीकृति दिइने प्रस्तावित गरिएको छ ।

विदेशी लगानी भए पनि नेपालमा दर्ता भएको वायुसेवा सञ्चालन संस्थाको मुख्य व्यावसायिक कारोबार स्थल नेपालमै रहने र वायुयान सञ्चालन नियन्त्रणमा नेपाल वा नेपालीमा रहने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।

अब नयाँ आन्तरिक वायुसेवा कम्पनी सञ्चालन गर्दा तथा विद्यमान वायुसेवाहरूले वायुयान थप गर्न इजाजत लिँदा काठमाडौं बाहिरकाका हब विमानस्थलबाट सञ्चालन आधार (अपरेसन बेस) बनाएरमात्र अनुमति पाउनेछन् ।

अहिले सञ्चालनमा रहेका प्रायः सबै आन्तरिक वायुसेवा कम्पनीहरूले काठमाडौंलाई नै पार्किङ आधार बनाउँदा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएपछि यो नीति अघि सारिएको हो ।

प्रकाशित समय १४:५९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु