fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ डाक्टर कुर्दै बित्छ दिन

डाक्टर कुर्दै बित्छ दिन

सुदूरपश्चिमकै रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत अधिकांश चिकित्सकले अस्पताल समयमा बाहिर समय दिन थालेपछि सेवाग्राही मर्कामा परेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेसहित अधिकांश चिकित्सक आफ्नै क्लिनिक सञ्चालन गरेर काम गरिरहेका छन् भने धेरै चिकित्सकले बाहिरका क्लिनिकमा समय दिने गरेका छन् ।

अस्पताल समयमै पनि चिकित्सकले बाह्य क्लिनिकमा समय दिन थालेपछि सेवाग्राहीले चिकित्सक खोज्दै भौंतारिनुपर्ने बाध्यता छ । अतिरिक्त सेवामा कार्यरत चिकित्सकका लागि १० बजेदेखि ३ बजेसम्म अनिवार्य समय तोकिए पनि चिकित्सक १ बजेपछि भेटिँदैनन् । आकस्मिक कक्षमा दुई जना चिकित्सक अनिवार्य गरे पनि एचए तथा स्टाफ नर्समात्रै भेटिन्छन् ।

चिकित्सकले अस्पतालमा समय नदिने गुनासो विगतबाटै उठे पनि यसको समाधान हालसम्म हुनसकेको छैन । चिकित्सकले अस्पताललाई पूरा समय नदिँदा सेवाग्राहीले सामान्य सेवा लिन पनि हप्तौं अस्पताल धाउनुपर्ने बाध्यता छ । प्रदेशका नौ वटै जिल्लाका बिरामीको गन्तव्य हो सेती अस्पताल । सोही सेती अस्पतालमा भएको सेवासमेत बिरामीले नपाउँदा महँगो शुल्क तिरेर निजी क्लिनिकमा उपचार गर्नुपर्ने बाध्यता छ ।

बाजुराको पाण्डुसैनबाट श्रीमतीको उपचारका लागी सेती अस्पताल पुगेका देवी लुहारले हालसम्म उपचार सेवा पाएका छैनन् । पेटको पत्थरी भएपछि श्रीमतीलाई पाँच दिनअघि उनले सेती अस्पताल पुर्‍याएका थिए । पाँच दिनदेखि रगत जाँच र पिसाब जाँच गर्नमै ठिक्क भएको उनी बताउँछन् ।

पाँच दिन अस्पताल धाउँदासम्म उपचार हुने नहुनेसमेत स्पष्ट नभएपछि उनी चिन्तित छन् । आर्थिक अवस्था कमजोर भएका लुहार छोराछोरी एक्लै घरमा छोडेर सेती अस्पताल पुगेका थिए । यता श्रीमतीको उपचारको ठेगान छैन उता छोराछोरी भोकभोकै बस्न बाध्य भएको भन्दै लुहारले दुखेसो पोखे ।

त्यस्तै धनगढीको फूलबारीबाट खुट्टाको हड्डीसम्बन्धी समस्या लिएर बिहानै सेती अस्पताल पुगेका जितबहादुर अधिकारीले पनि साँझसम्म सेवा पाउन सकेनन् । बिहान १० बजेदेखि लाममा बसेका अधिकारीले डाक्टरको पर्खाइमा ३ बजेसम्म कुरे तर डाक्टर भेटिएनन् । यो समस्या के कारण आएको हो त्यो थाहा नभए पनि बिरामीले समयमा उपचार पाए राम्रो हुने अधिकारीले बताए ।

दार्चुलाको नौगाड गाउँपालिका ५ बाट शरीर दुखाइको समस्या लिएर सेती अस्पताल पुगेका गगन टमाटाले नि पाँच दिनसम्म उपचार पाउन सकेनन् । आफूलाई अस्पतालको बारेमा धेरै जानकारी नभए पनि प्रदेशकै ठूलो सरकारी अस्पतालको नाम सुनेकाले सेती अस्पताल पुगेको उनले बताए । तर, पाँच दिनसम्म धाए पनि उपचारबारे पत्ता नलागेको उनले बताए ।

यसबारे अस्पताल प्रशासनमा बुझ्न खोज्दा मेडिकल सुपरिटेन्डेन्टसँगै सूचना अधिकारी पनि भेटिएनन् । अस्पताल विकास समितिका अध्यक्ष दुर्गा जोशी भने कार्यकक्षमै भेटिए । सो गुनासोको सम्बोधन गर्न मेडिकल सुपरिटेन्डेन्टसँगै सबै चिकित्सकलाई आग्रह गरिएको अध्यक्ष जोशीले बताए । त्यसको जिम्मा मेडिकल सुपरिटेन्डेन्टको भए पनि आफूले उनीहरुलाई उपचारमा सहज गर्न आग्रह गरिरहेको अध्यक्ष जोशीले बताए ।

प्रकाशित समय १६:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु