fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ उखुमा झेल : साक्षी बसेका उद्योगमन्त्रीकै अगाडि बेइमानी

उखुमा झेल : साक्षी बसेका उद्योगमन्त्रीकै अगाडि बेइमानी

फाइल तस्बिर

पुसको कठ्यांग्रिँदो जाडोमा न्यायको भिख माग्दै काठमाडौं छिरेका सर्लाहीका उखु किसानको मुहारमा एक महिनापछि फेरि निराशा छाएको छ । एक महिना काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरेका किसानलाई अन्तिममा सरकारले न्याय दिलाउने आश्वासन दियो तर पूरा गर्न सकेन । गत पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री लेखराज भट्टलाई साक्षी राखेर माघ ७ गतेसम्म न्याय दिलाउने सम्झौता गरेको सरकारले अन्ततः न्याय दिन सकेन ।

लामो समयदेखि आफ्नो उखुको मूल्य नपाएपछि उद्योगीविरुद्ध आन्दोलनमा उत्रेका किसानहरुलाई न्याय दिलाउन सरकारका तर्फबाट उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराई र आन्दोलनकारी किसानका तर्फबाट उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता भएको मिति सकिँदा पनि न्याय नपाएपछि पीडित किसान फेरि आन्दोलनमा उत्रने भएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।

कति रकम पाए, कति बाँकी छ ?
सम्झौता हुने बेलासम्म हितेश गोल्छा र विशाल अग्रवालको श्रीराम सुगर मिलले ४२ करोड, राकेश अग्रवालको अन्नपूर्ण र इन्दिरा सुगर मिलले ५० करोड, स्व. मनीष अग्रवालको लुम्बिनी सुगर मिलले १० करोड, वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिलले २० करोड तथा राम थापा र जगदीश अग्रवालको बागमती सुगर मिलले ११ करोड गरी कृषकको १ अर्ब ३३ करोड भुक्तानी गर्न बाँकी थियो ।

उद्योग मन्त्रालयका अनुसार सरकारले म्याद तोकेपछि केही उद्योगीले भने किसानको बक्यौता भुक्तानी गरेका छन् । हिमालय सुगर मिल, इन्दुशंकर चिनी मिल, इष्टर्न सुगर मिल, रिलायन्स सुगर मिल (बैंक खाता नभएका किसानको मात्र बाँकी), भागेश्वर सुगर मिल र एभरेस्ट सुगर मिल एन्ड केमिकल प्रालिले किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरेका छन् । एभरेस्टले बैंक खाता नभएका किसानको बाहेक ७ करोड ९३ लाख ८ हजार ६२७ रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै केही मिलले आधा रकममात्र भुक्तानी गरेका छन् । आधा भुक्तानी गर्नेमा महालक्ष्मी सुगर मिलले २१ करोड ४० लाख ५८ हजार २२६ रुपैयाँबाट ११ करोड ५० लाख भुक्तानी गरेको छ । किसानले पाउनुपर्ने अन्नपूर्णको ४२ करोडबाट ३ करोड ९० लाखमात्र भुक्तानी गरेको छ । त्यस्तै इन्दिरा मिलले ७४ लाखमात्र भुक्तानी गरेको जनाएको छ ।

किसानसँगको सम्झौताअनुसार श्रीराम सुगर मिलले अहिलेसम्म २६ करोड ७७ लाख ७८ हजार ६२३.१२ रुपैयाँ भुक्तानी गरेको छैन ।

के गर्दैछ मन्त्रालय ?
उद्योगमन्त्री, राज्यमन्त्री र सचिवको उपस्थितिमा भएको बैठकमा किसानलाई भुक्तानी गर्नुपर्ने मिलबाट असुल गराउन मातहतका निकायलाई निर्देशन दिएको र विभिन्न कारण देखाएर बन्द रहेका उद्योग पनि सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए ।
उनका अनुसार सबैभन्दा बढी बक्यौता दिन बाँकी अन्नपूर्ण र इन्दिरा मिलका मालिक राकेश अग्रवालले विद्युतलाई दिनुपर्ने रकम पनि रोकेर कृषकलाई दिलाउनका लागि ऊर्जा मन्त्रालयलाई पत्राचार गरेको छ ।

सरकारले भने २०७५ भन्दायता ९२ करोड रुपैयाँ अनुदान स्वरुप कोष तथा लेखा नियन्त्रण कार्यालयमा भुक्तानी गरेको गरेको रकम पुस २३ गतेसम्म सुनसरी, सिराहा, नवलपरासी र कञ्चनपुरका किसानलाई २३ करोड अनुदान उपलब्ध गराएको जनाएको छ ।

कृषकको बक्यौता भुक्तानी गर्नुपर्ने भन्दै केही उद्योग भने सम्पर्कमा पनि आएका छैनन् । सम्पर्कमा नआउने मिलहरुमा बाबा बैजुनाथ चिनी उद्योग, बागमती खाँडसारी चिनी मिल्स (बक्यौता ८ करोड ४१ लाख ४१ हजार ५८१ बाँकी), महाकाली सुगर मिल ६२ हजार १०७ रुपैयाँ बक्यौता र लुम्बिनी चिनी मिल सम्पर्कमा नै नआएको उद्योग मन्त्रालयले जनाएको छ ।

पीडित किसानद्वारा चरणबद्ध आन्दोलनको घोषणा
उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले सरकारले आफूहरुलाई खेलौना बनाएको बताए । सरकारसँगै सम्झौता गर्दा पनि ताकेको मितिसम्म आफ्नो माग पूरा नगरी लाचारी बनेको बताएका छन् ।

न्युज कारोबारसँग उनले भने, ‘हामीले भोलिसम्म सरकारको जवाफको प्रतीक्षा गरेका छौं । भोलिसम्म सरकारले कुनै जवाफ नदिए आन्दोलनमा जाने घोषणा गरिसकेका छौं ।’

उनका अनुसार सर्लाहीमा आज पत्रकार सम्मेलन गरिएको थियो । ‘पत्रकार सम्मेलनमै हामीले सबै कुरा भनिसकेका छौं,’ उनले भने, ‘हामी १० गते कालोपट्टि बाँधेर विरोध गर्छौं । ११ देखि १७ गतेसम्म गाउँगाउँमा जागरण अभियान गर्ने र १८ गते केन्द्रित भेला भई त्यसपछि पैसा नपाएका र अन्य समर्थक काठमाडौंमा आन्दोलन गर्ने तयारीमा छौं ।’ अब पनि पैसा नदिए काठमाडौंबाट फिर्ता नआउने उनले बताए ।

के छ उखु किसानले मूल्य पाउने मापदण्ड ?
सरकारले तोकेको मूल्यअनुसार किसानलाई प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ ६५ पैसा दिनुपर्छ । यो ४ सय ७१ रुपैयाँमा सरकारले दिने ६५ रुपैयाँ अनुदान थपिएपछि किसानले प्रतिक्विन्टल ५ सय ३५ रुपैयाँ पाउनुपर्ने हुन्छ । तर, मिल सञ्चालकले कम्पनी घाटामा गएको वा अन्य बहाना बनाउँदै ३५ रुपैयाँ छोडेर प्रतिक्विन्टल ५ सय दर तोकेका छन् तर उद्योगीले आफैंले तोकेको मूल्य पनि ५÷६ वर्षदेखि कृषकलाई दिएका छैनन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले सरकारले आफ्ना माग पूरा गरिदिने भन्दै आन्दोलन स्थगन गराएर पैसा असुल नगरिदिएको भन्दै भुक्तानी नभएसम्म फेरि आन्दोलन गर्ने चेतावनी दिए ।

उद्योग विभागका अनुसार १४ वटा उद्योगमध्ये ६ वटा उद्योगले सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् । बाँकी आठवटा उद्योगले दिन बाँकी रहेको जानकारीमा विभागले जनाएको छ ।

तीनवटा मिलको सम्पूर्ण कारोबार रोक्का
ठूलो परिणाममा कृषकको बक्यौता रकम नदिने उद्योगलाई उद्योग मन्त्रालयले कारबाही गरेको छ । लामो समयदेखि भुक्तानी नगर्ने र तोकिएको मूल्य पनि नदिने अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी उद्योगलाई सम्पूर्ण कारोबार बन्द गर्नको लागि पत्राचार गरिएको छ ।

मन्त्रालयका प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा किसानलाई भुक्तानी दिने प्रयोजनबाहेक अन्य आर्थिक कारोबार रोक्का गर्न सबै निकायलाई पत्राचार गरेको उल्लेख छ ।

किसानको सर्लाही-काठमाडौं संघर्ष
सर्लाहीका चिनी मिल सञ्चालकहरुले वर्षौंदेखिको कृषकको पैसा नदिएपछि असुल गराउन धेरै पटक मिलमा धर्ना बसे । तर कुनै पैसा पाउने कुनै टुंगो लागेन । त्यसपछि पटक पटक जिल्ला प्रशासनमा धर्ना बसे, त्यहाँ पनि कुुनै टुंगो लागेन ।

२०७० सालदेखि मिल सञ्चालकले उखुको मूल्य नदिएपछि सरकारलाई गुहार्दै पैसा असुल गराउन २०० जना किसान काठमाडौंमा आए । काठमाडौंमा पनि धेरै निकायमा धाए तर न्याय पाएनन् । त्यसपछि एक महिना माइतीघरमा धर्नामा बसे ।

सर्लाहीका ३७ वर्षीय कृषक हरिश्याम रायको नेतृत्वमा काठमाडौं आएका कृषक पानी परेको बेलामा पनि आगो बालेर धर्नामै बसिरहे । अन्तिममा सरकारले प्रहरीलाई प्रयोग गरेर जाडोमा आगो नै निभाएको थियो ।

घरमा परिवार छाडेर न्याएको संघर्ष गरिरहेका किसानले अन्तिममा राज्यले पैसा असुल गराउने भन्दै पुस १८ गते माघ ७ गतेभित्र पैसा फिर्ता गराउने गरी सम्झौता ग यो र किसानले पनि आन्दोलन स्थगन गरे । तर, माघ ७ बित्दा पनि उनीहरुले न्याय नपाएपछि राज्यले गरेको सम्झौता झुट सावित भएको छ ।

प्रकाशित समय १७:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु