गृहपृष्ठ नेपालीहरूमा बढ्दै छ विदेश मोह

नेपालीहरूमा बढ्दै छ विदेश मोह

बिदेशिने नेपाली एक लाखले बढे

Nepalese visiting abroad_NewsKarobar

हालैका दिनमा नेपालीहरूको विदेश मोह व्यापक रूपमा बढ्न थालेको छ । पासपोर्ट प्रक्रिया उदार बनाइएपछि वैदेशिक रोजगार र अध्ययनका लागिमात्रै होइन, घुमफिरका लागि समेत बिदेशिने क्रम बढ्न थालेको छ ।

गत वर्ष सन् २०१९ मा मात्र १३ लाख ७५ हजार ७०२ नेपाली बिदेशिएका छन्, यसमा स्थलमार्ग हुँदै नेपाल बाहिर गएका ७ हजार ७७१ नेपालीको संख्या जोड्दा गत वर्ष बिदेशिने नेपालीको संख्या १३ लाख ८३ हजार पुग्छ ।

तीर्थयात्रा, अध्ययन र पर्यटनका लागि भारत घुम्न जाने नेपालीहरूको अभिलेख प्रायःजसो अध्यागमन विभागले राख्दैन । यसैगरी, भारतबाट नेपाल आउने यस्तै यात्री पनि कमैमात्र अभिलेखित हुन्छन् ।

हवाई माध्यमबाट मात्र बिदेशिएका नेपालीको संख्या सन् २०१८ को तुलनामा झन्डै ९ प्रतिशतले बढी हो । सन् २०१८ मा १२ लाख ६७ हजार ७२५ जना नेपालीहरू बिदेशिएका थिए ।

सन् २०१९ मा नेपालबाट बिदेशिएका नेपालीहरूमध्ये ३ लाख ३ हजार महिला, ९ लाख ४१ हजार पुरुष र झन्डै ८२ हजार अन्य छन् ।

अध्यागमन विभागले कुन प्रयोजनका लागि कति नेपाली बिदेशिए भन्ने शीर्षकगत विवरण भने प्रकासित गरेको छैन । गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीका लागि ५ लाख १६ लाख नेपालीहरू बिदेशिएका थिए भने चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ५ महिनामा वैदेशिक रोजगारीकै लागि २ लाख १९ हजार नेपाली बिदेशिएका छन् ।

यस तथ्यांकलाई समायोजन गरेर हेर्दा सन् २०१९ मा वैदेशिक रोजगारीमा ५ लाख १५ हजार र अध्ययनका लागि करिब ७० हजार नेपाली बिदेशिएका देखिन्छ ।

यसबाहेक बाँकी ८ लाख नेपाली घुमफिर, व्यवसाय, बसोबास र अन्य प्रयोजनकै लागि नेपालबाट बाहिरिएका हुन् ।वार्षिक औसत ५ हजारको हाराहारीमा नेपालीहरू डीभी परेर अमेरिका जाने गरेका छन् ।

साढे १२ लाख नेपाल आए

सन् २०१९ मा विभिन्न कारणले बिदेशिएका नेपालीहरूमध्ये १२ लाख ६२ हजार २३६ जना नेपाल फर्केका छन् । यो सन् २०१८ को तुलनामा करिब १ प्रतिशत बढी हो । उक्त वर्ष १२ लाख ५२ हजार जना विदेशबाट फर्केका थिए ।

वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये कति फर्किए भन्ने छुट्टै अभिलेख नहुँदा त्यसबारे स्पष्ट तथ्यांक नभएकाले सरकारले भर्खरैबाट शीर्षकगत रूपमा विदेशबाट फर्किएका नेपालीको अभिलेख राख्न सुरु गरेको छ ।

घुम्नेले गर्ने खर्च घट्यो

संंख्यात्मक रूपमा बिदेशिने नेपालीहरूको संख्या बढेको देखिए पनि नेपालीले बिदेश यात्रामा गर्ने खर्च भने गत वर्षको तुलनामा घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिनामा बिदेशिने नेपालीहरूले गरेको खर्च अघिल्लो वर्षको यही अवधिमा भन्दा २३.७ प्रतिशतले घटेको छ ।

गत वर्षको मंसिर मसान्तसम्म विदेश घुम्न जाने नेपालीहरूले ४१ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ खर्च गरेकामा यस वर्ष ३१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ खर्च गरेका छन् ।

गत आर्थिक वर्षभरिमा नेपालीहरूले घुमफिरमा ८९ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेका थिए, यो नेपालले पर्यटनबाट कमाएको आम्दानीभन्दा बढी हो । गत वर्ष नेपालले पर्यटनबाट ७५ अर्ब ८० करोड रुपैयाँ कमाएको थियो ।

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु