fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ जुद्ध गुरुङ : प्रकृति संरक्षणमा अब्बल

जुद्ध गुरुङ : प्रकृति संरक्षणमा अब्बल

juddha gurung

गण्डकी प्रदेशले सन् २०१९‐२०२२ लाई पर्यटन वर्षको रुपमा मनाउँदै गर्दा २० लाख पर्यटक प्रदेश उतार्ने लक्ष्य लिएको छ । पोखरा, अन्नपूर्ण हिमशृंखलासहितका धेरै पर्यटकीय क्षेत्रको यो प्रदेश देशकै मुख्य पर्यटकीय गन्तव्य हो । तर, २० लाख पर्यटक उतार्ने लक्ष्य आफैंमा चुनौतीपूर्ण छ । यही चुनौतीपूर्ण कामको जिम्मेवारीसहित अगाडि लम्किरहेका छन्, जुद्धबहादुर गुरुङ । पर्यटन विज्ञको रुपमा प्रदेशले गुरुङलाई पर्यटन भ्रमण वर्ष संयोजकको जिम्मेवारी सुम्पिएको हो ।

गुरुङको परिचय पर्यटन विज्ञको रुपमा मात्र सीमित छैन । प्रकृति संरक्षण र पर्यटनको क्षेत्रमा फरक अवधारणा बनाउने सन्दर्भमा गुरुङ नेपालमा प्रसिद्ध छन् । विभिन्न समय र कार्यक्रममार्फत उनले आफ्नो क्षमतालाई उजगार गरिसकेको छन् ।

सन् २००९ मा नेपालले जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान खिच्न कालापत्थरमा मन्त्रिपरिषद बैठक गर्‍यो । समुद्र सतहबाट ५ हजार ४ सय मिटर उचाइमा बसेको यो बैठक जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान खिच्न सफल पनि भयो । अन्तर्राष्ट्रिय मिडियाले समेत निकै चासो दिएको बैठक उनै संरक्षणविद् जुद्धबहादुर गुरुङको अवधारणामा बसेको थियो । त्यति मात्र होइन, नेपालमा खुला चिडियाखानाको अवधारणा ल्याउने व्यक्ति पनि हुन् गुरुङ ।

गण्डकी प्रदेश सरकारले पोखरामा बनाउन लागेको प्रदेश स्तरीय जुलोजिकल पार्कको डिपिआर बनाउने टोली प्रमुखको जिम्मेवारीसमेत उनैले पाएका छन् । काठमाडौंको बागमती जलधार क्षेत्रमा महत्वकांक्षी मानिएको एकैदिन एक लाख बिरुवा रोप्ने योजना उनकै पहलकदमीमा मुख्य १२ राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएर सम्पन्न भइसकेको छ ।

प्रकृति संरक्षण र पर्यटन क्षेत्रमा गुरुङले यो स्थान सजिलै हासिल गरेका भने होइनन् । गहन मेहनत, लामो अध्ययन अनुसन्धान र खोेजपछि विज्ञताको यो चुलीमा पुगेका हुन् उनी । त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र प्रथम श्रेणीमा र प्राकृतिक स्रोत व्यवस्थापन तथा दिगो कृषि कार्यक्रममा नर्वेबाट उनले स्नातकोत्तर गरेका छन् । तीन दर्जनभन्दा बढी खोज तथा अनुसान्धान गरिसकेका उनी प्रकृति क्षेत्रका अग्रणी खोजकर्तामध्येमा पर्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र प्रथम श्रेणीमा र प्राकृतिक स्रोत व्यवस्थापन तथा दिगो कृषि कार्यक्रममा नर्वेबाट उनले स्नातकोत्तर गरेका छन् ।

वागमती नदीको पानीमा पाइने जलचरसम्बन्धी अध्ययन, वेगानास ताल वरपर पाइने ओतको नेपालमा पहिलो वैज्ञानिक अध्ययन, नागार्जुन क्षेत्रको सालकको नेपालमा पहिलो वैज्ञानिक अध्ययन, घान्द्रुक क्षेत्रमा वनमान्छेसम्बन्धी नेपालको पहिलो सर्वे, अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमाली थरको बासस्थान छनोट, जनसंख्या तथा संरक्षण व्यवस्थापन सम्बन्धी अध्ययन हुन् ।

यसबाहेक उपल्लो मुस्ताङमा मानिसमा पाइने परजीवी फित्तेजुका, बहुपति प्रथा, सुनौला गिद्ध, जडिबुटीको तथ्यांक संकलन, फिरन्ते जीवनशैलीका जाति डोक्पासम्बन्धी अध्ययन तथा नेपालमा पर्यटन विकासका लागि चुनौतीसम्बन्धी अध्ययन, बहुपति विवाह प्रथाको १० वर्षपछिको स्थिति अध्ययन, अध्ययन टोली प्रमुख, रुपन्देहीको गैडाहावा तालको एकीकृत तालबेँसी व्यवस्थापन कार्ययोजना, नेपालका तालहरुको अभिलेखीकरण वा गणन कार्यक्रम टोली सदस्य, अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन कार्ययोजना, पोखरामा एकीकृत तालबेँसी व्यवस्थापन योजना टोली सदस्य, प्राकृतिक स्रोतहरुबाट प्राप्त राजस्वको हिस्सा स्थानीय तहका सरकारलाई बाँडफाँडको विधि निर्माण गर्ने कार्यदल प्रमुख, आयोजना प्रमुख, दिपाङ ताल जैविक विविधता तथा सुशासनसम्बन्धी अध्ययन र रुपन्देहीको रामापिथेकस प्राणी उद्यानको सम्भाव्यता अध्ययन टोली सदस्य बनेर अनुसन्धान खोजमा उनले आफ्नो योग्यता प्रमाणित गरिसकेका छन् ।

सार्वजनिक पदमा रहेर प्रकृति संरक्षण र सम्वर्धनमा समेत उनले लामो योगदान पुर्‍याएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषमा उनले सदस्य सचिव, संरक्षण अधिकृत र प्राणीशास्त्रीको रुपमा काम गरे । उनी सदस्यसचिव रहँदा कोषले ठूलो आर्थिक पाटो निकै सुधार गरेको थियो । विगतमा २४ करोड राजस्व संकलन गरिरहेको कोषले उनको कार्यकालमा वार्षिक ६६ करोडसम्म राजस्व संकलन गर्‍यो । गौरीशंकर संरक्षण क्षेत्रको विस्तार, बाँके राष्ट्रिय निकुञ्ज स्थापना र पर्सा वन्यजन्तु आरक्षणमा संरक्षण कार्यक्रम विस्तार ग¥यो । कोषको कार्यकालपश्चात संरक्षण विकास फाउन्डेसनको संस्थापक सदस्यमात्र नभई सन् २०१७ देखि सभापतिको जिम्मेवारी समाल्दै आएको छ । यसै संस्थामा उनी सिमसार विकास संयोजक थिए् । नेपाल स्वास्थ्य विज्ञान सस्थानमा उपप्रध्यापक र पाटन सयुक्त क्याम्पसमा सहायक प्राध्यापक रहिसकेका छन् ।

गुरुङ लेखन क्षेत्रमा समेत उत्तिकै सक्रिय छन् । उनले लेखेका करिब आधा दर्जन वातावरणसम्बन्धी पुस्तकभन्दा प्रकाशित भइसकेका छन् । तीमध्ये दुईवटा प्लस टु तहको पाठ्यक्रममा छन् । वातावरण शिक्षाको अवधारणा र वातावरणीय शिक्षा उच्च माध्यमिक शिक्षा परिषदको कक्षा ११ र १२ मा पढाइ हुन्छन् । यसबाहेक उनले विभिन्न पाठ्यक्रमका गरी आठवटा पुस्तक लेखिसकेका छन् भने स्नातक तहमा पढाइ हुने पुस्तक प्रकाशोन्मुख छन् । पुस्तक लेखनबाहेक उनका दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा पनि वातावरण संरक्षणसम्बन्धी धेरै लेखरचना प्रकाशित भएका छन् ।

पोखरामा पर्यटक उत्तार्ने योजना
गण्डकी प्रदेश सरकारबाट चार वर्षे पर्यटन भ्रमण कार्यक्रममा संयोजकको जिम्मवारी पाएपछि गुरुङ अहिले कार्यक्रम सफल बनाउन योजनासहित खटिरहेका छन् । २० लाख पर्यटक उतार्नका लागि उनले पहल गरिरहेका छन् । प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराउन सेल्स मिसन नामक अन्तरप्रदेश भ्रमण कार्यक्रम हालै सम्पन्न भइसकेको छ । यसमा जि टु जि अर्थात् गभर्मेन्ट टु गभर्मेन्ट, बि टु बि अर्थात् बिजिनेस म्यान टु बिजिनेस म्यान र सि टु सि कस्टमर टु कस्टमर कार्यक्रम सातै प्रदेशमा सम्पन्न भसकेको छ । उनी नेपालीहरुमा आफ्नै देश घुम्नुपर्ने संस्कार विकास गराएर पर्यटनलाई चलायमान बनाउनुपर्ने बताउँछन् । यसका लागि प्रत्येक टोल विकास संस्थालाई परिचालन गर्ने लक्ष्य छ उनको । उनी माध्यमिक तहका विद्यार्थीलाई देशको प्रमुख ऐतिहासिक क्षेत्रको बारेमा जानकारी गराउन चाहन्छन् । यसले पर्यटनमा दीर्घकालीन प्रभाव पार्ने गुरुङको ठहर छ ।

लाउरेको रुपमा बाबु मलेसियामा हुँदा उनी जन्मिए, बुबाको अवकाशपश्चात् बाल्यकाल पर्वत जिल्ला मोदी गाउँपालिका चित्रेमा बित्यो । पशुपति माध्यमिक विद्यालयबाट एसएलसी दिएपछि उनी परीक्षा फल प्रकाशित नहुन्जेल गाउँका युवालाई एकत्रित गरी गाउँघरमा सांकृतिक कार्यक्रम सञ्चालन गर्थे । सांस्कृतिक कार्यक्रममा संकलित रकम पर्वत, स्याङ्जा र कास्कीको संगम तथा प्रसिद्ध धार्मिक स्थाल पञ्चासे तालको वरपर ढुंगा छापेर यात्रुका लागि सहज बनाउने काम गरे । तालदेखि सिद्धथानसम्म लगभग ५ किमी पदमार्गमा सिँढी बनाउने कामको उनले नेतृत्व गरे ।

पर्वत चित्रे स्थायी घर भएको गुरुङसँग अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको विद्यार्थी राजनीति गरेबापत एक वर्ष जेल बसेको इतिहास पनि छ । बुवा धनबहादुरले आफू बेलायती आर्मी भए पनि ‘नाम कमाउने काम गर्नुपर्छ’ भनेपछि उनले कहिल्यै लाहुरे हुने कोसिस गरेनन् । जीवनमा आफूले गरेको काममा उनलाई गर्व लाग्छ । अहिलेका गुरुङ युवायुवतीलाई जागिरे मानसिकता त्याग्न आग्रह गर्छन् र भन्छन्, ‘आफूले अरुलाई जागिर खुवाउने तहमा सोचेर सोहीअनुरुप आफूलाई सक्षम बनाउनुप¥यो, आफू सक्षम भए पैसा तपाईंको पछि लागेर आउँछ ।’

प्रकाशित समय १३:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु