fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ स्मार्ट टेलिकमको खर्चमा प्रचण्डको सिंगापुर भ्रमण

स्मार्ट टेलिकमको खर्चमा प्रचण्डको सिंगापुर भ्रमण

Prachanda Sponcer_NewsKarobar

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर गरेको उपचार खर्च राज्यकोषबाट नलिएको सार्वजनिक वक्तव्य दिए । उनको उपचार सिंगापुरजस्तो महँगो देशको महँगो अस्पतालमा निःशुल्क त भएको थिएन । खर्च कसले बेहोर्‍यो भन्ने चर्चा बढ्दै जाँदा यती समूह र एनसेल प्रालिले बेहोरेको तथ्य फेला पर्‍यो ।

यो विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेतमा ‘हटकेक’ बनिरहेका बेला पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि व्यापारीबाट पैसा लिएर विदेश भ्रमण गर्ने गरेको तथ्य फेलापरेको छ । नियमित आम्दानीको ठूलो स्रोत नभएका यी नेताको वैभवशाली जिन्दगी र विदेश यात्राका खर्च चल्छ कसरी ? भन्ने प्रश्न उब्जिइरहेका बेला एउटा दूरसञ्चार कम्पनीको खर्चबर्चमा विदेश उडेको प्रमाण भेटिएको हो ।

विकिलिक्सले सार्वजनिक गरेको काठमाडौंस्थित अमेरिकी राजदूतावासको एक डिप्लोमेटिक केबलअनुसार नेकपा अध्यक्ष प्रचण्ड स्मार्ट टेलिकमको प्रायोजनमा सिंगापुर गएका थिए । हालका अमेरिकी राजदूत र्‍यान्डी बेरी, नेपालस्थित अमेरिकी दूतावासमा चार्ज डे अफेयर्स हुँदा पठाइएको उक्त केबलमा प्रचण्ड आफ्ना सहयोगी कृष्णबहादुर महरा र व्यापारी दिनेश मानन्धरसँग सिंगापुर गएको र त्यहाँ उपचाररत नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहित केही भारतीय र चिनियाँ नेताहरूलाई भेटेको उल्लेख छ ।

‘प्रचण्डको सिंगापुर भ्रमणका लागि स्मार्ट टेलिकमले बिजनेस क्लासका टिकट, बीएमडब्लू गाडीको भाडा र फोर सिजन्स होटलको खर्च व्यहोरेको मानन्धरले दूतावासका कर्मचारीलाई बताए,’ डिप्लोम्याटिक केबलमा भनिएको छ । मानन्धरले प्रचण्डसहितका तत्कालीन माओवादीको डेलिगेसनको सिंगापुर भ्रमणका लागि यहाँबाट सबै बन्दोबस्ती मिलाएका थिए ।

‘बिजनेस क्लास’को टिकट, सिंगापुरको पाँचतारे होटलको खर्च र बीएमडब्लूको भाडासहित प्रचण्डसहितको टोलीको सिंगापुरे भ्रमणमा निकै ठूलो खर्च भएको देखिन्छ । यसका लागि स्मार्ट टेलिकमले २०६६ सालमा गरेको प्रायोजनको लागतबापत पछि उसले सस्तो लागतमा लाइसेन्स प्राप्त गरेको खुलेको छ ।

पूर्वप्रशासक रामेश्वर खनाल यस्तो किसिमको प्रायोजनमा नेताहरूको विदेश भ्रमणलाई नीतिगत भ्रष्टाचारको एउटा स्वरुप मान्छन् । ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने यसरी निजी कम्पनीको स्पोन्सरसिपमा गरिने भ्रमण वा ठूला उपहार प्राप्तिलाई भ्रष्टाचार नै मानिन्छ,’ उनले भने, ‘कुन नेता कसको प्रायोजनमा विदेश भ्रमणमा गयो भन्ने कुरा राजनीतिक इमानदारीसँग जोडिएको हुन्छ ।’

नेताहरूले आफूलाई कुन निजी कम्पनीले किन प्रयोजन गरेको छ भन्ने कुरा कहिल्यै खुलाउँदैनन् । जब मिडियामा यसको खुलासा हुन्छ, पहिला त ‘होइन’ भनेरै तर्किने गर्छन् । प्रमाणिक तथ्य आएपछि ‘यसले के फरक पार्छ त !’ भनेर तर्क गर्ने गरेको पूर्वप्रधानमन्त्री एवं नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल ‘माता मुन’का संस्थाबाट पटक–पटक कोरिया भ्रमण गएको प्रकरणबाटै पुष्टि हुन्छ ।

नेपाली नेताहरू निजी क्षेत्रका कम्पनी वा स्वार्थप्रेरित विदेशी संस्थाका लगानीमा विदेश जाने गरेको यो पहिलो घटना भने होइन । नेकपाबाहेक नेपाली कांग्रेसकै नेताहरू पनि यस्तो भ्रमणमा युरोपसम्म पुग्ने गरेका छन् । अहिले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उपचारको बहानमा भारत भ्रमणमा छन्, उनको भारत भ्रमणको खर्च स्पोन्सर कसले गरेको हो भन्नेचाहिँ खुलेको छैन ।

नेताहरूमाथिको प्रायोजित खर्चको विषय विदेश भ्रमण वा उपचारमा मात्र जोडिएको छैन । चुनावका बेला नेतालाई ठूलो रकम सहयोग गर्ने उद्योगी व्यापारी समानुपातिक सांसद हुँदै मन्त्री बनेका थुप्रै उदाहरण छन् ।

प्रकाशित समय १५:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु