fbpx
newskarobar-job-vacancy
NIC ASIA- magh 1

गृहपृष्ठ विकसित देशमा जस्तै सामाजिक सुरक्षा बलियो बनाउँछौं : कपिलमणि ज्ञवाली

विकसित देशमा जस्तै सामाजिक सुरक्षा बलियो बनाउँछौं : कपिलमणि ज्ञवाली

kapilmani-gyawali-newskarobar

२०७५ मंसिर ११ गते तामझमका साथ सामाजिक सुरक्षा योजना कार्यक्रम लागू भएको घोषणा गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको आरम्भ भएको उद्घोष गरेका थिए । कोषमा कार्यकारी निर्देशकको पदस्थापन हुनै आठ महिना लाग्यो । साउन १५ देखि वित्तीय क्षेत्रमा ३० वर्षको अनुभव हासिल गरेका कपिलमणि ज्ञवालीले कोषको नेतृत्व सम्हालिरहेका छन् । अन्य कर्मचारी बल्ल पदस्थापन हुँदै छन् । कोष यतिबेला पहिलो स्थापना दिवस मनाउने तयारीमा जुटेको छ । कोषले यो अवधिमा के गर्‍यो ? आगामी योजना के छन् ? , कोषमा संकलन हुने ठूलो रकमको व्यवस्थापन कसरी हुँदै छ ? यी र यस्तै विषयमा कार्यकारी निर्देशक ज्ञवालीसँग डीआर आचार्यले गरेको कुराकानी :

 

सामाजिक सुरक्षा कोष स्थापना भएको मंसिर ११ गते एक वर्ष पूरा हुँदैछ, यो अवधिमा के-के काम भए ?

हामी यसबीचमा कोषको कानुनी आधार र यसका पूर्वाधार व्यवस्थापनमा जुट्यौं । ऐन पहिल्यै बनेका थिए । हामीले यसबीचमा नियम, विनियमहरु बनायौं । आन्तरिक संगठनको संरचनालाई पनि यसले क्लियर गरिसकेको छ । अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) सर्भे बनिसकेकाले आवश्यक दरबन्दीअनुसारका कर्मचारी पनि रिक्रुट भइरहेका छन् । सिस्टम चलाउन आवश्यक पर्ने क्षमतायुक्त सर्भर र सफ्टवेयर अपरेसनमा आइसकेको छ । साउनबाट सुरु भएको संस्था र श्रमिक दर्ता प्रक्रियाले अलिकति गति लिएको छ । फलस्वरुप संस्था १० हजारभन्दा बढी र योगदानकर्ता १ लाख १० हजार हाराहारी पुगेका छन् ।

अब यो महिनाभित्र कोषलाई आवश्यक सम्पूर्ण कर्मचारी आइसक्छन् । हामीले ५० भन्दा इन्टर्नहरुलाई मोबिलाइज गरेर देशभर सेवा सहज बनाइरहेका छौं । यसबीचमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका स्किमबारे जानकारी गराउन मिडियामा टक प्रोग्राम तथा सरोकारवालाहरुसँग छलफललगायतका कार्यक्रम गरेर जनचेतना अभिवृद्धि गर्दै गएका छौं । सामाजिक सुरक्षाका बारेमा निरन्तर जानकारी गराइरहेका छौं ।

स्किमका बारेमा धेरै चासो थिए । साउन १ गते २३ वटा बुँदालाई समेटेर स्किम परिमार्जन गरिएको छ । अहिले पनि कुनै–कुनै स्किम परिमार्जनका लागि चासो आएका छन्, त्यसलाई पनि सम्बोधन गर्ने गरी कोष अघि बढेको छ । हाम्रो अर्जुनदृष्टि भनेको जनचेतना बढाउने, संख्या बढाउने र हाम्रो आन्तरिक संरचना सुदृढ गर्दै लैजान हो ।

 

तपाईं कोषको कार्यकारी निर्देशक भएर आउनुभएको साढे ३ महिना भयो, कति उत्साहित हुनुहुन्छ ?

म साउन १५ मा आउँदा योगदानकर्ताको संख्या ३० हजार र रोजगारदाताको संख्या ४ हजार हाराहारी थियो । तीन महिनाको अवधिमा करिब ७० हजार योगदानकर्ता र ६ हजार रोजगारदाता थपिएका छन् । म आउँदा यहाँ प्रयोग भइरहेको सिस्टम युजर फ्रेन्ड्ली थिएन । सिस्टमका बारेमा धेरै गुनासा थिए । अब सिस्टमका विषयमा कुनै पनि गुनासो नआउने अवस्था सिर्जना गरेका छौं । सामाजिक सुरक्षाका बारेमा धेरैभन्दा धेरै जानकारी गराउन दैनिक दुई–तीन वटा क्लास लिइरहेका छौं । रिसेप्सनलाई प्रभावकारी बनाएका छौं र कल सेन्टर स्थापना भएको छ । हामी औद्योगिक प्रतिष्ठानहरुमा पनि गएका छौं । तीन महिनाको बीचमा दुई–तीन सय कार्यक्रममा सहभागिता जनाएका छौं ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल होटल संघ, वैदेशिक रोजगारीका छाता संगठन, श्रमिक आपूर्ति संस्थाहरु, प्याब्सन, एनप्याब्सन, हिसान, आईक्यान, मुद्रण व्यवसायी, विज्ञापन एजेन्सीहरु, सहकारी, निर्माण व्यवसायी, यातायात व्यवसायी, एनजिओ, आइएनजिओका संगठनहरु, बैंकर्स संघलगायतका २०–२५ वटा संस्थासँग छलफल गरेका छौं ।

हामी केन्द्रीय कार्यालय काठमाडौंमा मात्र भए पनि हाम्रा प्रतिनिधिहरु सातै प्रदेशमा छन् । हामीले योग्य बनाएर उहाँहरुलाई पठाएका छौं । मिडियामा जानका लागि हामीले श्रव्यदृष्य सामग्री पनि तयार गर्‍यौं । जिंगलहरु बनायौं । लगातार सोधिने प्रश्न (एफएक्यू) तयार गरेर वेबसाइटमा पनि राखेका छौं । यहाँ आएर बुझ्ने र बुझेका कुरा अरुलाई बुझाइदिने प्रकारको उत्साह पनि देखिएको छ । यसबीचमा बोर्डले लगानी कार्यविधि पनि स्वीकृत गरेर मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयबाट पनि मन्त्रिपरिषदमा स्वीकृतिका लागि गइसकेको छ । रणनीतिक योजना तयार गर्ने अन्तिम चरणमा छौं । सूचना प्रविधि नीति, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर, खरिद नीतिलगायतका नीतिहरु बनिरहेका छन् ।

म आएपछिको अर्को महत्वपूर्ण काम भनेको रकम संकलनको सुरुवात हो । हामीले साउन २९ बाट कलेक्सन सुरु गर्‍यौं । कोषमा अहिले १४ करोड रुपैयाँभन्दा बढी संकलन भइसकेको छ । रियल टाइम रिकन्सिलेसन हुनेगरी कलेक्सन सुरु भएको छ । योगदानकर्ता आफैंले आफ्नै प्रतिष्ठानमा बसेर कनेक्ट आईपीएसको माध्यमबाट रकम जम्मा गर्न सक्नुहुन्छ । समग्रमा छोटो अवधिमा काम धेरै भएका छन्, धेरै भइसकेका छन् । अहिले नयाँ जोश जाँगरसहित सिनियर अनुभवी स्टाफहरु आउनुभएको छ । म अत्यन्तै उत्साहित छु ।

kapilmani-gyawali

साढे ३ महिनाको अवधिमा कोष सञ्चालनमा के-के व्यवधान देख्नुभयो ? के-के समाधान गर्नुभयो ?

स्किमका विषयमा एउटा कट्टी रकम बढी भयो भन्ने कुरा उठ्यो । ३१ प्रतिशतभित्रको २८.३३ प्रतिशत कट्टी अलि बढी भयो भन्नेछ । अर्को, बीचमा पैसा झिक्न नपाउने, ६० वर्षपछि मात्र झिक्न पाउने भन्ने व्यवस्थामा पनि गुनासो छ । धेरै तलब खानेले यहाँ जम्मा गर्दा ३६ प्रतिशत तिर्नुपर्‍यो अनि रिटायर्डमेन्टको बेलामा निकाल्दा अर्को १५ तिर्दा ५१ प्रतिशत जाने भो भन्ने गुनासो आएको छ । अनावश्यक हल्ला पनि भइरहेका थिए । यी कतिपय समाधान भइसके, केही प्रक्रियामा छन् ।

 

मंसिर १४ गतेको समयसीमा दिएर कोषमा आबद्ध हुन आग्रह गर्नुभएको छ, निजी क्षेत्रका सबै उद्योग प्रतिष्ठान आइसक्नेमा कति विश्वस्त हुनुहन्छ ?

म देशभरका शतप्रतिशत आउँछन् भन्नेमा विश्वस्त छैन किनकि हामी आफैं सबै ठाउँमा पुगिसकेका छैनौं । त्यो लेभलको क्षमता हाम्रै बनिसकेको छैन । दूरदराजमा भएका संस्था अब केही दिनभित्रै आबद्ध भइसक्छन् भन्ने अपेक्षा पनि राख्नु हुँदैन तर धेरै ठूलो संख्यामा आबद्धता रहन्छ भन्नेमा म विश्वस्त छु ।

 

मंसिर १४ सम्म पनि आबद्ध नहुनेलाई कस्तो कारबाही हुन्छ ?

पटक-पटक समय थपिरहनु राम्रो हुँदैन । यो कानुनी राज्यको बर्खिलाप पनि हुन्छ । उद्योग प्रतिष्ठानका जे–जति छाता संगठनहरु छन्, तिनले जाने भनेर सहमति जनाइसकेका छन्, उनीहरुमा आबद्ध संस्थाहरु कुनै पनि हालतमा समयसीमाभित्र आबद्ध भइसक्नुपर्छ, हुन्छन् । जम्मा भएको रकममा कर छुट प्रक्रिया पनि अघि बढेको छ, यसले थप मोटिभेट गर्नेछ । हामी अहिले नेगेटिभ मोटिभेसनमा जाँदैनौं । पहिला जनचेतना अभिवृद्धि गराउनमै केन्द्रित हुन्छौं । स्किमहरुलाई सकेसम्म कन्ट्रिब्युटर फ्रेन्डली बनाउँछौं । त्यति गर्दा पनि नआउनेलाई ऐनअनुसार आबद्ध गराउनुको विकल्प हुँदैन ।

 

कोषमा कति श्रमिक आबद्ध होलान् ? कुनै तथ्यांक निकाल्नुभएको छ ?

कोषको योजनाअनुसार सबै चरण पार गरिसक्दा ३० लाखभन्दा बढीको आबद्धता भइसक्छ । तर पहिलो चरणमा ५ लाखभन्दा बढी आबद्ध हुने अनुमान छ ।

 

कोषमा १ लाख श्रमिक आबद्ध हुँदा न्यूनतम् पारिश्रमिकका हिसाबले पनि ४० मासिक ४० करोड जम्मा हुन्छ, ५ लाख आबद्ध हुँदा मासिक २ अर्ब जम्मा हुन्छ, लगानी व्यवस्थापनको कस्तो योजना बनाउनुभएको छ ?

मैले अघि पनि भनेँ, लगानी कार्यविधि चाँडै मन्त्रिपरिषदबाट पारित हुँदै छ । कार्यविधि पारित भएर आएपछि सबै क्षेत्रमा लगानीको ढोका खुल्नेछन् । परियोजना कर्जा, जमानत कर्जा, संस्थागत कर्जा, योगदानकर्तालाई शैक्षिक कर्जा, घर कर्जा, सामाजिक सुरक्षा कर्जा, सरकारी ऋणपत्र खरिद, बैंकहरुमा मुद्दति निक्षेप, बैंक तथा वित्तीय संस्था या अन्य संस्थाको सेयर खरिद, म्युचुअल फन्ड, कमर्सियल क्षेत्रमा कम्प्लेक्स बनाएर भाडामा दिन पनि सकिन्छ । १२ किसिमका क्षेत्र समेटेर लगानी परिचालन गर्ने गरी कार्यविधि बनाइएको छ ।

 

सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिक दुवैको हित प्रवर्धन गर्ने भए पनि उद्योग प्रतिष्ठानहरु कोषमा सहजै आबद्ध हुन किन चाहेनन् ?

केही कुरा हामीले बुझाउन सकेनौं होला तर त्योभन्दा धेरै चाहिँ उद्योग प्रतिष्ठानका आफ्नै आन्तरिक समस्या छन् । उद्योग प्रतिष्ठान र श्रमिकहरुबीच केही मिलाउनुपर्ने कुराहरु देखिएका छन् । पुराना कारोबारहरुको त सेटलमेन्ट हुनुपर्‍यो नि ! त्यसले पनि केही ढिलाइ भएको हो । अरु समस्या छैन ।

 

सामाजिक सुरक्षा कोषको दायरा एकदमै फराकिलो छ, यसले असंगठित क्षेत्रका मजदुरको आबद्धता पनि परिकल्पना गरेको छ ? कति सम्भव छ ?

सम्भव छ । हामी डेटा व्यवस्थापन चुस्त बनाउँछौं, सबै स्थानीय तहमा बैंकहरु छन् । गाह्रो छैन । दुई वर्षपछिको कनेक्टिभिटी र पहुँच झन् सहज हुन्छ । पहिला हामी संगठितलाई एउटा लेभलमा ल्याउँछौं । स्किमहरु पनि अन्योलरहित हुन्छन् । त्यसपछि असंगठित क्षेत्रमा जान, कन्ट्रिब्युसन कलेक्सनका लागि सबै किसिमका पूर्वाधार तयार गरिसक्दा र कानुनहरु परिमार्जन गरिसक्दा थप दुई वर्ष लाग्न सक्छ ।

 

वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा योजनाले समेट्छ कि समेट्दैन ?

समेट्दैन । मृत्युको केसमा त सम्भव होला, त्यसबाहेकका अन्य कुनै स्किमले समेट्न सकिँदैन । त्यसकारण यो स्वदेशमा काम गर्नेलाई मात्र हो । सामाजिक सुरक्षा योजनाको मूल ध्येय आन्तरिक रोजगार र स्वरोजगार प्रवर्धन गर्ने हो । निजी स्तरको रोजगारीप्रति विश्वास बढाउने हो । स्वदेशमा सामाजिक सुरक्षाको स्थिति सुदृढ गराउने हो । अन्ततः वैदेशिक रोजगारीमा जाने क्रम घटाउने र आन्तरिक रोजगारी बढाउने हो ।

 

हामी प्रविधिको प्रयोग र सुरक्षामा निकै कमजोर छौं, डेटा संकलन र सुरक्षामा कोष कति चुस्त छ ?

डेटा संकलन, व्यवस्थापन र सुरक्षामा हामी अत्यन्तै चुस्त छौं । म आफैं पनि आईटी चिफ भएर लामो समय काम गरिसकेकाले यसको बहुपक्षीय व्यवस्थापनमा म अभ्यस्त छु । उद्यपि, म एक्लै पूर्ण हुन्न । मेरो लिंकलाई अधिकतम उपयोग गर्छु, गरिरहेको छु । बाँकी त मसँग बलियो टिम छ । डेटा सेक्यिुरिटी अत्यन्तै महत्वपूर्ण छ, त्यसअनुसारका हाम्रा हार्डवेयर, सफ्टवेयरहरु एकदमै सुरक्षित छन् ।

 

अन्त्यमा, सामाजिक सुरक्षा योजनामा किन सहभागिता जनाउने ?

नेपालका लागि योगदानमा आधारित सामाजिक सुरक्षा नितान्त नौलो हो । विश्वव्यापी रुपमा हेर्ने हो भने एक-डेढ सय वर्ष अगाडिबाटै सामाजिक सुरक्षाका काम सुरु भएको देखिन्छ । यसमा रोजगारीमा भएकाहरुको श्रम ऐनमा व्यवस्था भएअनुसार श्रमिकको पारिश्रमिक रकम कट्टी गर्नुपर्ने र रोजगारदाताले थपेर जम्मा गर्नुपर्ने व्यवस्था छ । अन्य कोषहरुमा जम्मा गर्नु ऐच्छिक छ, यसमा अनिवार्य छ । यो कोषमा नआउँदासम्म प्रतिष्ठानहरुले बिमा एकातिर गर्नुपर्ने, सञ्चय कोष अर्कोतिर जाने, ३३ प्रतिशतको अर्को संस्था लगेर जम्मा गरेर मल्टिपल डोरहरुमा जानुपर्ने थियो ।

यो संस्थाको मेन स्पिरिट भनेको कामको दौरानमा हुने र दैनिक आउन सक्ने दुःखबिमारका कुराहरुलाई यसले हेल्थ इन्स्योरेन्सको रुपमा सपोर्ट गर्छ । कुनै पनि समयमा कुनै पनि कारण भएको दुर्घटनाको उपचारलाई क्यारी गर्छ । दुर्घटना, आश्रित परिवार, वृद्धावस्था सुरक्षा योजना, रिटायर्डमेन्टपछि आम्दानीको आजीवन निरन्तरताको ग्यारेन्टी गर्छ । ब्रेड विनर (कमाएर खुवाउने) व्यक्तिसँग धेरै आश्रित हुन्छन् । त्यस्तो व्यक्तिले असामयिक ज्यान गुमाउनुपरेमा सामाजिक सुरक्षा योजनाले आश्रित परिवारलाई सपोर्ट गर्छ ।

मानिसको जीवनको एउटा चक्र छ । र, ऊ बच्चादेखि वृद्धावस्थासम्मको पूरा जीवन अवधिको सुरक्षा चाहन्छ । यसमा राज्यसँग उसको अपेक्षा रहन्छ । मानिसको जीवनमा आउने उतारचढावलाई वित्तीय हिसाबले व्यवस्थापन गर्न सामाजिक सुरक्षा योजनामा आबद्ध हुनैपर्छ । विश्वका समृद्ध मुलुक किन सबैको रोजाइमा पर्छ भने त्यहाँ सामाजिक सुरक्षाको स्थितिको राम्रो छ । हामी पनि सोसल सेक्युरिटी राम्रो बनाउने अभियानमा छौं ।

प्रकाशित समय ११:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु