fbpx
Nepal Mediciti

गृहपृष्ठ स्मार्ट सिटीका विस्तृत अध्ययन प्रतिवेदन अझै बनेन

स्मार्ट सिटीका विस्तृत अध्ययन प्रतिवेदन अझै बनेन

smart city newskarobar

लामो समयदेखि चर्चामा आएको उपत्यकामा बन्ने नयाँ नगरको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर)को काम करिब अन्तिम चरणमा पुगेको सम्बद्ध सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

हरेक पटक नेता तथा विकास निर्माताहरुको भाषणमा चर्चाको विषय रहँदै आएको स्मार्ट सिटी  भनिएका नयाँ नगरको योजनाले चर्चा पाए अनुरुपको तिव्रता भने पाउन सकेको छैन । यी नगर ५ वर्षभित्र निर्माण सम्मन्न गर्ने लक्ष्य लिइए पनि डीपीआर निर्माणमा नै अढाइ बितिसकेको छ ।

निर्माणको जिम्मा पाएको उपत्यका विकास प्राधिकरणले अध्ययन प्रतिवेदन यही भदौभित्रै सार्वजनिक हुने र त्यसलगत्तैै भौतिक कार्यको थालनी हुने जनाएको छ ।

२०७४ सालमा शुरु भएको नयाँ नगर निर्माणको योजनाले अढाइ कटेपछि मात्रै अध्ययन प्रतिवेदन पाउन लागेको हो । असारमै डीपीआर सकेर साउनबाट निर्माणको काम थालनी हुने भनिए पनि भदौ लागिसक्दासमेत ४ वटै स्थानको डीपीआर प्रतिवेदन सम्पन्न हुन सकेको छैन ।

उपत्यकाका ४ स्थानमा शुरु गरिएको नयाँ नगरमध्ये हाल १० हजारका रोपनी क्षेत्रफलका २ वटा क्षेत्रको डीपीआर तयार भइसकेको छ भने, बाँकी २ स्थानको डीपीआर बनिसकेको छैन । झन्डै १ लाख रोपनी क्षेत्रफल भएको इसानको डीपीआर आउन अझै एक महिना लाग्ने र नैऋत्यको डीपीआर बनिसक्न अझै बढी समय लाग्ने उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशव नेउपानेले बताए ।

‘काठमाडौको पूर्व–दक्षिण तर्फको आग्नेय क्षेत्रको र उत्तरी क्षेत्रको डीपीआर सकियो । दक्षिण–पश्चिमअन्तर्गत नैऋत्य क्षेत्रको डीपीआर पुनः बनाउनु पर्दा ढिलो हुने भयो,’ उनले भने, ‘यस्तै आग्नेय उत्तरी क्षेत्र क्षेत्रफलको हिसाबले इसानभन्दा सानो हुँदा डीपीआर चाडै सकियो । अब १ लाख क्षेत्रफल भएको इसानको पनि एक महिनाभित्रै अध्ययन प्रतिवेदनको काम सकिनेछ ।’

निर्माणको जिम्मा पाएको उपत्यका विकास प्राधिकरण भने काम झन्झटिलो भएकाले सुस्त भएको दाबी गर्छ । डीपीआरको काम सकिएपछिमात्र भौतिक रुपमा योजनाको काम अघि बढ्ने छ ।
२०७४ सालबाटै नयाँ नगर बनाउने भन्दै चारै स्थानमा जग्गा कित्ताकाटमा रोक पनि लगाइयो, यससँर्गै ८ आनाभन्दा तलका जग्गा बेच्न सर्वसाधरणलाई प्रतिबन्ध नै गरियो तर अहिलेसम्म डीपीआरसमेत बन्नै सकेन ।

यता, नयाँ सहर बन्ने हल्लाले २ वर्ष यता ती क्षेत्रमा अप्रत्यासित रुपमा जग्गाको मूल्य पनि आकासिँदै गएको आएको छ । सरकारले ८ अनाभन्दा तलका जग्गा कित्ताकाटमा रोक लााउनु तथा भविष्यमा स्मार्ट सिटी बन्ने भनेर हल्लाकै भरमा जग्गाको भाउ बढेको हो ।

इसान नाम दिएर छुट्याइएको नयाँ नगरको क्षेत्रअन्तर्गत काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मनोहरा नदी छेउछाउका स्थानमा २ वर्षअघि जग्गा आनाको ३ देखि ४ लाखमा पाउने गरेकोमा अहिले नयाँ नगरको चर्चासँगै मुल्य आकासिएर नै २० देखि २५ लाख आनामा पुगेको छ । खासगरी यो मुल्य टुक्रे जग्गामा छ । ८ आनाभन्दा थारै जग्गा टुक्र्याउन रोक लगाएकै कारण टुक्रे जग्गाको मूल्य आकासिएको स्थानीय लिलाधर निरौलाले बताए । ।

स्मार्ट सिटीको नाम भजाउँदै जग्गा दलालहरूले नयाँ नगरभित्र पर्ने र आसपासका जग्गाको भाउ बढाउने काम गरिरहेका छन् । उनीहरू स्मार्ट सिटी क्षेत्र भित्रका तथा आसपासका जग्गा खरिद गर्न परेमा विश्वमा हालसम्म उपलब्ध सबैखाले सहरी सुविधा र सूचना प्रविधिको उच्चतम प्रयोग हुने अत्याधुनिक सहर बन्दैछ भनेर जग्गाको मूल्य दुई गुणासम्म बढाएर बेच्ने गर्छन् । यसरी स्मार्ट सिटीको नाम भजाएर विचौलियाहरुले नयाँ सहर क्षेत्रभित्र र बाहिर दुवैतिरको जग्गाको मूल्य बढाउने गरेका छन् ।

नयाँ नगरका क्षेत्रहरू

१.इसान

इसान क्षेत्र १ लाख रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा पूर्वमा भक्तपुरको नगरकोट जाने सडक तेलकोट भन्ज्याङसम्म, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी, गोठाटार हुँदै मनोहरा खोला हँुदै पुरानो ठिमीसम्म, उत्तरमा साँखुबजार र साँखु जाने मूल सडक र दक्षिणमा भक्तपुरका खरिपाटी, सिन्टीटार बाहेकका क्षेत्रहरु पर्छन् ।

२. आग्नेय

१० हजार रोपनीमा रहेको आग्नेय क्षेत्रअन्तर्गत पूर्वमा अरनिको राजमार्गको सूर्यविनायकदेखि सूर्यविनायक मन्दिरसम्म, पश्चिममा खहरे खोला, बालकोट बिरुवा सडक, पानी ट्याङकी, बालकोटकै अमरनगर थिमीसम्म र दक्षिणमा भक्तपुरको सिलामगाल, रानीकोट, अनन्तलिङ्गेश्वर फेदी, तर्खाल, पात्लेटार, बिरुवा हुँदै खहरे सम्मका क्षेत्रहरु पर्छन् ।

३. नैऋत्य

१० हजार रोपनीमै फैलिएको यस क्षेत्रभित्र पूर्वमा छ्यासीकोटदेखि साविकको सैँबु गाउपालिका हँुदै फर्सिडोल, बागमति नदीको झोलुङगे पुुलसम्म त्यस्तै पश्चिममा बागमति नदीको सीमासम्मको क्षेत्र पर्दछन् ।

४. उत्तरी क्षेत्र

उत्तरी क्षेत्रतर्फ भने पूर्वतर्फ सामाखुशी, टोखा रोड हुँदै बाइपास सडकसम्म, त्यस्तै पश्चिममा काभ्रेस्थली बाइपास जाने मूल सडकसम्म र उत्तरमा सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्यान्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थालीको मूल सडकसम्म पर्दछन् ।

प्रकाशित समय १९:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु