fbpx
Nepal Mediciti

गृहपृष्ठ सावधान ! जलभण्डार रित्तिँदा उपत्यका धसिँदैछ

सावधान ! जलभण्डार रित्तिँदा उपत्यका धसिँदैछ

Groundwater_NewsKarobar

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्या र सहरीकरणसँगै यहाँ नियमित खानेपानीको आपूर्ति हुन नसक्दा भूमिगत पानीको दोहन बढ्न थालेसँगै उपत्यकाको तल्लो सतहमा खोक्रोपन बढ्न थालेको छ । यो क्रम बढ्दै जाँदा उपत्यका भासिने क्रम बढ्न थालेको विज्ञहरूले बताएका छन् ।

भूगर्भविद् डा. अनन्त गजुरेलका अनुसार काठमाडौं उपत्यका हरेक वर्ष १४ सेन्टिमिटरका दरले धसिन थालेको छ, यो डरलाग्दो संकेत हो । २०७२ सालको भूकम्पका बेला गोंगबु क्षेत्र तरलीकरण भएका कारण त्यहाँका भवनहरू धस्सिएका थिए । यदि त्यस्तै भूकम्प वा अन्य प्रकोप फेरि आएको खण्डमा उपत्यकाका धेरै ठाउँ धस्सिने खतरा बढेको छ ।

साप्ताहिक पत्रिका हिमालमा प्रकाासित त्रिचन्द्र क्याम्पसका भूगर्भ विभागका प्रमुख डा. गजुरेलका अनुसार उपत्यकाको भूसतह प्रतिवर्ष ३ देखि १६ सेन्टिमेटिरसम्म धसिंदै गएको छ । उपत्यकाका विभिन्न स्थानमा जमिन धसिने दर फरक फरक भएको डा. गजुरेलसहितको टोलीले सन् २०१४ देखि गरेको अध्ययनले देखाएको छ । उनका अनुसार छाउनीमा प्रतिवर्ष १३ सेन्टिमिटर र लाजिम्पाटमा १६ सेन्टिमिटरसम्म धस्सिएको छ ।

यसअघि जाइकाका लागि गरिएको एक अध्ययनले उपत्यकाको जलभण्डार कम्तिमा ३ देखि १८ सेन्टिमिटरसम्म रित्तिइसकेको देखाएको थियो । न्यूरोडदेखि त्रिपुरेश्वर क्षेत्रमा सबैभन्दा बढी जलसतल रित्तिएको उक्त अध्ययनमा उल्लेख थियो ।

दैनिक निकालिन्छ २५ करोड लिटर

उपत्यकाभित्र बढ्दो पानीको आवश्यकता पूरा गर्नका लागि सरकारी, निजी र व्यावासायिक क्षेत्रबाट दैनिक १० करोड लिटरभन्दा बढी पानी जमिनमुनिबाट निकाल्ने गरेको पाइएको छ ।

उपत्यकामा हाल दैनिक ३६ करोड ६० लाख लिटर खानेपानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वर्षायाममा १३ करोड १० लाख लिटरमात्र पानी उपलब्ध गराउन सकेको छ । सरकारको औपचारिक आपूर्ति प्रणालीबाट आपूर्ति हुन नसकेपछि आमनागरिकहरू निजी क्षेत्र (व्यावसायिक आपूर्तिकर्ता), इनार, ढुंगेधाराजस्ता परम्परागत स्रोतबाहेक आफ्नै बोरिङ गरेर पानी उपभोग गर्न बाध्य छन् ।

निजी क्षेत्रका आपूर्तिकर्ता र पानी उद्योगहरूको करिब ६० देखि ७० प्रतिशत स्रोत पनि जमिनमुनिको पानी नै हो । केयूकेएलको जडित क्षमता १३ करोड लिटर भए पनि सुक्खायाममा उसले पनि ६ करोड ५३ लाख लिटरमात्र आपूर्ति गर्दै आएको छ, यसको मुख्य स्रोत पनि जमिनमुनिकै पानी हो । उपत्यकामा पानी आपूर्ति गर्न केयूकेएलले ४० भन्दा बढी स्थानमा डिपबोरिङ गरेको छ, जसबाट दैनिक करोडौं लिटर पानी तानिन्छ ।

व्यावसायिक रूपमा पानी आपूर्तिकर्ताहरूले बाहेक होटल र उपत्यकाभित्र सञ्चालित उद्योगहरूले पनि ठूलो क्षमताको डिप बोरिङबाट पानी तान्ने गरेका छन् ।

यसै वर्षदेखि आइपुग्ने भनिएको मेलम्चीको निर्माण अझै सम्पन्न नहुँदा अझ केही समय उपत्यकावासीले भूमिगत पानीकै भर पर्नुपर्ने अवस्था छ । मेलम्ची आए पनि तत्काल त्यसले उपत्यकाको आधामात्र पानीको आवश्यकता पूरा गर्नसक्छ । मेलम्ची आयोजनाबाट सुरूमा १७ करोड लिटर पानी आउने भनिए पनि सुन्दरीजल केन्द्रका प्रशोधन क्षमता साढे ८ करोड लिटरमात्र भएकाले बाँकी पानी तत्काल बागमतीमा बगाइनेछ ।

‘रिचार्ज’ घट्योे, संकट बढ्दो

उपत्यकाभित्र बढ्दो मानव बसोबास र वरिपरिका मुख्य जलसञ्चय केन्द्रहरूमा भएको व्यापक अतिक्रमणका कारण उपत्यकामा पानीको पुनर्भरण (रिचार्ज) कम हुँदै गइरहेकोप्रति विज्ञहरूले चिन्ता जनाएका छन् ।

उपत्यकाभित्र सडक र सहरीकरण विस्तारका नाममा यहाँ नदीहरूको मूल बग्ने बाटो रोकेर पर्खाल लगाएर नालीजस्तो बनाउनु, हरियाली मास्नु, परम्परागत पोखरीहरू मास्नुजस्ता कारणले जमिनमुनि पानी पुनः भरिने क्रममा अवरोध पुगेको पूर्वखानेपानी सचिव भीम उपाध्यायले उल्लेख गरेका छन् ।

उपत्यकाको पानीका स्रोत संरक्षण गर्ने र जमिनमुनिको पानीलाई पुनर्भरण गर्ने हो भने उपत्यकाका चारै भन्ज्याङका वनक्षेत्र बचाउनु पर्ने तथा तिनीहरूबाट बहने नदी–खोला र अन्य जलसतह बचाउनका लागि चारैतिर पोखरी बनाउनु पर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

प्रकाशित समय १७:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु