fbpx
Nepal Mediciti

गृहपृष्ठ पतिपत्नीको नाता साँच्चै सात जन्मसम्म रहन्छ त !

पतिपत्नीको नाता साँच्चै सात जन्मसम्म रहन्छ त !

Sushila-basnet-newskarobar नवविवाहिता सुशीला पतिका साथ ।

पति र पत्नीको नाता सात जन्मसम्म कायम रहने हिन्दु धर्मको मान्यता छ । साँच्चै पतिपत्नीको नाता सात जन्मसम्मै रहन्छ भन्ने कुरामा अहं प्रश्न उठ्न सक्छ ।  आखिर यो मान्यता कसरी स्थापित भयो । भारतीय अनलाइन बेवदुनियामा अनिरूद्ध जोशी यसरी विश्लेषण गर्छन्-

सनातन हिन्दु धर्ममा सात परिक्रमा र सात वचनको प्रचलन छ । इच्छासिद्धिका लागि पीपल, यज्ञ वा देवता विशेषको सात परिक्रमा लगाइन्छ । सम्भवत: यसैका अनुसार पतिपत्नीको नाता सात जन्मसम्म रहने धारणा प्रचलन आएको हुनुपर्छ ।

हिन्दु धर्ममा तलाक र नाता कायम नगरी सम्बन्धमा रहने अथवा विवाह नगरी युवायुवती एकै ठाउँमा बस्ने जस्तो विकृत प्रचलन छैन । यसकारण पनि कुनै व्यक्तिको जससँग विवाह हन्छ, त्यसैसँग मृत्युपर्यन्त पवित्रतम जीवन व्यतीत गर्ने आम प्रचलन छ ।

पुनर्जन्मको सिद्धान्तअनुसार हाम्रो नाता सम्बन्ध सुरूबाटै एक चक्रका रूपम चल्दछ । कोही मित्र हुन्छ, कोही शत्रु हुन्छ भने कोही प्रेमी हन्छ । कोही पति हुन्छ भने कोही पत्नी हुन्छे । कोही माता या पिता हुन्छन्, कोही भाइ-दाइ वा बहिनी-दिदी हुन्छन् । ज्योतिषीका अनुसार कुण्डलीमा पनि यस्ता कयौं योग हुन्छन् । कसैका छोरा-छोरी वा स्वास्नी यसभन्दा अघिको जन्ममा कुन नातामा थिए भन्ने योग हेरेर जान्न सकिन्छ ।

पुनर्मिलन मनको गतिबाट हुन्छ । परिवारको पूर्ण सहमतिमा सम्पन्न गरिएको ब्रह्म विवाहमा प्रेम, विश्वास, समर्पण, अपनत्व, सम्मान र नाताको महत्व बुझिन्छ । यस्ता संस्कारी पति र पत्नीका मनले एक-अर्काका लागि ऊर्जा प्रदान गर्छन् । उनीहरू एक-अर्काप्रति प्रेम, अनुराग र आशक्तिले युक्त भए भने उनीहरूको नाता यस जन्ममा मात्र होइन अर्को जन्ममा पनि अलग हुन सम्भव छैन । त्यही चित्तको गतिले पुनः अर्को जन्ममा पनि एक बनाइदिन्छ । स्त्री-पुरुष एक-अर्काबाट नजिक नभए पनि प्रेम गर्छन् भने निश्‍चय नै उनीहरूको प्रेमले अर्को जन्ममा पुन: कुनै न कुनै प्रकारले एकै ठाउँमा रहने बनाइदिन्छ । यो सबै प्रकृति प्रदत्त कुरा हो । भनिएको पनि छ- जस्तो मति उस्तै गति, जस्तो गति उस्तै जन्म ।

भगवान् शिवले पत्नी सतीसँग गहिरो प्रेम गर्ने हुनाले सतीबिना एक पल पनि उनलाई सन्तेष हुँदैनथ्यो । उसैगरी माता सतीले पनि पति शिवप्रति यति प्रेम खन्याउँथिन् कि शिवको अपमान सहन नसकेर उनका पिताले गरेको यज्ञमा आत्मदाह गरिन् । सच्चा प्रेमका कारण सतीले त्यसपछिको जन्ममा पुनः भगवान् शिवलाई पाउन सकिन् । सती पार्वतीका रूपमा जन्म लिएर पूर्वजन्मको कुरा स्मरण गरी पुनः उनैकी अर्धांगिनी बन्न सकिन् । भगवान् शिव पनि अन्तरयामी हुनाले यी सबै कुरा जान्दथे ।

विवाह पति र पत्नीका बीच जन्म-जन्मान्तरको सम्बन्धबाट सम्पन्न भएको हुन्छ । यसलाई कुनै परिस्थितिमा पनि बदल्न सकिन्न । अग्निलाई सातपटक परिक्रमा गरी ध्रुव तारालाई साक्षी मानेर दुई शरीर, मन तथा आत्मा विवाहको माध्यमबाट एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दु विवाहमा पति-पत्नीबीच शारीरिक सम्बन्धलाई भन्दा बढी आत्मिक सम्बन्धलाई महत्व दिइन्छ । यस्तो सम्बन्ध धार्मिक रीतिपूर्वक सम्पन्न भएका विवाह र विवाहका समयमा अग्नि परिक्रमा गर्दा गरिएका संकल्प वचनमा विश्वास राख्नाले सम्भव हुन्छ ।

बाल्यावस्थामा धर्म, अध्यात्म र दर्शनबारे अध्ययन नगरेका व्यक्तिका लागि विवाह एक संस्कार मात्रै हुन जान्छ । हिन्दु दर्शनका अनुसार विवाह एक बन्धन वा सम्झौता मात्र होइन, विचारपूर्वक ज्योतिषीको परामर्शमा प्रारब्ध अनि वर्तमानलाई ध्यानमा राखेर बनाइएको आत्मीय नाता हो ।

दौडधुपको जीवनमा पतिपत्नीले समय निकालेर एकअर्कालाई थाहा नदिई जीवनसाथीका आँखामा गहिरोसँग हेरौं ।

अघिल्लो जन्मका पतिपत्नीहरूले पहिलो भेटमै भनौं विवाहका कुरा चल्दा नै एक–अर्कालाई सम्मानका भावले हेर्न थाल्छन् । विवाहअघि नै दुवैको मन सकारात्मक हुन जान्छ । यो दौडधुपको जीवनमा पतिपत्नीले समय निकालेर एकअर्कालाई थाहा नदिई जीवनसाथीका आँखामा गहिरोसँग हेरौं ।

कहिलेकाहीँ एकपटक देख्दैमा कुनै स्त्री वा पुरूषप्रति अनौठो प्रेमभाव उत्पन्न हुन जान्छ । यस्तै कसैलाई देख्दा उसप्रति घृणा उत्पन्न हुन जान्छ । हिन्दु दर्शनका अनुसार हाम्रो चित्त व अन्तस्करणमा लाखौं जन्मका स्मृतिहरू संरक्षित भएर रहेका हुन्छन् । हामीले त्यतातिर कम ध्यान दिन्छौं वा सम्झने प्रयास गर्दैनौं । यो थाहा पाउन अलि बढी साधना आवश्यक हुन्छ । पूर्वजन्मको स्मृतिका कारण हामीलाई कुनै व्यक्ति वा स्थान पहिल्यै देखेको आभास हुन जान्छ । हामीलाई पहिलोपटक भेटिएको मानिस पनि पूर्वपरिचित जस्तो र पहिलोपटक पुगेको स्थान पनि परिचित जस्तो आभास हुन्छ ।

व्यक्तिको अनुहार परिवर्तन भए पनि उसलाई देखेर मानिसलाई आनन्दको अनौठो अनुभूति हुन्छ । कयौं पटक हाम्रो सम्बन्ध अत्यन्त गहिरो भएपछि उसैका साथ जीवन चलाउने आकांक्षा अंकुरित हुन जान्छ । कुनै व्यक्तिप्रति आकर्षण बढ्नुको कारणचाहिँ खोज्नु अत्यावश्यक हुन जान्छ ।

मानिसका चित्तभित्र चार प्रकारका मन हुन्छन् । चेतन मन, अचेतन मन, अवचेतन मन र सामूहिक मनले हामीलाई निर्देश गरिरहन्छन् । अवचेतन मनलाई ब्रह्माण्डीय मन भनिन्छ । यसमा व्यक्तिका अगाडि र पछाडिका सबै जन्मका स्मृतिहरू र सञ्चित कर्महरू सञ्चित रहन्छन् । योगीहरू यही मनलाई सक्रिय बनाएर त्रिकालदर्शी कहलिन्छन् । हामी कहिलेकाहीँ हाम्रो अघिल्लो जन्मको साथीसँग भेट हुन्छौं । उसको सम्पर्कमा आउनासाथ उसको चित्तसँग जोडिन्छौं अथवा उसको र हाम्रो आभामण्डल जोडिँदाबित्तिकै आनन्दको अनुभूति हुन्छ अनि सहजै एकअर्काप्रति समर्पण एवं प्रेमपूर्ण भावले विभोर भइन्छ । हाम्रो मनमा त्यो व्यक्तिप्रति दया, प्रेम, करुणा र उससँग कुरा गर्ने भाव उत्पन्न हुन जान्छ । उससँगको भेटले तपाईंभित्र कस्तो भाव आउँदै छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । कतै शारीरिक सुन्दरताका कारण मात्रै आकर्षण भएको हो कि ?

प्रकाशित समय १३:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु