fbpx
Nepal Mediciti

गृहपृष्ठ भगवान भक्तको पेसा होइन, भक्ति हेर्नुहुन्छ

भगवान भक्तको पेसा होइन, भक्ति हेर्नुहुन्छ

brihaspati-newskarobar

सदना नाम गरेको एक कसाई थियो । ऊ अत्यन्त इमान्दार थियो । ऊ भगवानको नाम संकीर्तनमा लिप्त थियो । उसले मासु बेच्दा पनि भगवानको नाम गुनगुन गर्दथ्यो । जीवन चलाउने कुनै उपाय नभेटेर उसले अरू कसाईले काटेको मासु ल्याएर बेच्ने गरेको थियो ।

एकदिन ऊ आफ्नै धुनमा कतै जाँदै थियो । उसको खुट्टामा एउटा ढुंगा ठोक्कियो । ऊ रोकियो र उक्त ढुंगा टिपेर गोजीमा राख्यो । उसले यो ढुंगा मासु तौलन काम लाग्ने सोच्यो ।

पसलमा फर्केपछि उसले त्यो ढुंगा मासु तौलने काममा उपयोग ग-यो । केही दिनमै उसलाई लाग्यो यो कुनै साधारण ढुंगा होइन । उसले जति जोख्नु थियो ढुंगा त्यत्ति तौलको हुन्थ्यो । बिस्तारै सदना कसाईसँग जति जोख्न आवश्यक छ उत्ति वजको हुने ढुंगा छ भन्ने कुरा फैलियो । एक सेर होस् कि एक धार्नी त्यो ढुंगाले चाहेजति जोख्थ्यो ।

सदनासँग जति आवश्यक छ त्यति तौलन मिल्ने ढुंगा छ भन्ने कुरा बिस्तारै बिस्तारै फैलन लाग्यो । कसैलाई १ सेर चाहियो भने तराजुमा ढुंगा एक सेर भारको हुन्थ्यो भने २ सेर तौलनु पर्दा त्यही ढुंगा २ सेर वजनको हुन्थ्यो । सदनालाई अब अरू ढकको आवश्यकता परेन । जति तौलन परे पनि ढक फेर्नुपर्ने अवस्था रहेन ।

यो चमत्कारका कारण सदनाकाहाँ मासु किन्नेको भीड बढ्यो । उसको व्यापार निकै चम्कियो । यो कुरा एक सदाचारी ब्राह्मणकहाँ पनि पुग्यो । ब्राह्मण यस्तो अशुद्ध ठाउँमा जाँदैनथे । यो चमत्कारजनित ढुंगाका कुरा सुनेर ब्राह्मणलाई पनि एकपटक सदनाकहाँ गएर त्यो ढुंगा हेर्ने इच्छा भयो ।

ब्राह्मण सदनाकहाँ पुगेर अलि परैबाट कसाईले मासु तौलँदै गरेको हेर्न थाले । त्यो ढुंगाले विविध परिमाण तौलेको देखेर ब्राह्मण आश्चर्य मान्दै थिए । भीड घटेपछि ब्राह्मण कसाईको नजिकै गएर मासु तौलेको हेर्न थाले । ब्राह्मणलाई आफ्नो पसलमा आएको देखेर सदना कसाई प्रसन्न र आश्चर्यचकित भयो । बडो नम्रतापूर्वक सदनाले ब्राह्मणलाई बसालेर सोध्यो— मैले हजुरको के सेवा गरुँ ।
ब्राह्मण बोले— तिम्रो यो चामत्कारिक ढुंगा हेर्न तिम्रो पसलमा आएको हुँ । यही ढुंगाले मलाई तानेर तिम्रोमा ल्याएको हो । ब्राह्मणले सदनालाई यो ढुंगा भगवानस्वरूप पवित्र शालिग्राम भएको बताए । शालीग्रामजीलाई यसरी मासुसँग तौलनु राम्रो काम होइन । यसो गर्नु महापाप हो उनले सम्झाए ।

सदना अत्यन्त सरल प्रकृतिको भक्त थियो । ब्राह्मणका कुरा सुनेर उसलाई अनजानमा पाप गरेको आभास भयो । अनुनय विनय गर्दै सदनाले उक्त शालिग्राम उनै ब्राह्मणलाई दिँदै भन्यो— तपाई ब्राह्मण हुनुहुन्छ । हजुरले यिनको सेवा गरेर प्रसन्न राख्नुहोस् । मैले गर्नुपर्ने कुनै सेवा भए अवश्य भन्नुहोला ।

ब्राह्मणले उक्त शालिग्राम शिलालाई अत्यन्त सम्मानका साथ घर ल्याए । घर आएर ब्राह्मणले श्रीशालिग्रामजीलाई स्नान गराए, पञ्चामृतले अभिषेक गरेर पूजाअर्चना सुरु गरे । केही दिनपछि ब्राह्मणलाई स्वप्नमा श्रीशालिग्रामजी आएर भने— हे ब्राह्मण, म तिम्रो सेवाले प्रसन्न छु । मलाई त्यही सदना कसाईकहाँ लगेर छोड ।

स्वप्नमै ब्राह्मणले कारण सोधे । भगवानले भने— तिमीले मेरो पूजा गरेकामा खुसी छु । जुन भक्तले हरबखत मेरो नामको निरन्तर गुणगान र कीर्तन गर्छ मैले आफैंलाई बेचिदिन्छु, उसैको हुन्छु । सदनाले तिमीले जस्तै मेरो पूजा अर्चना गर्दैन तैपनि उसले हरेक पल मेरो नामसंकीर्तन गरिरहन्छ । यही मलाई प्रिय लाग्छ । त्यसैले म ऊ कहाँ गएको हुँ ।

भोलिपल्ट सबेरै ब्राह्मण शालिग्रामसहित सदनाकहाँ गए । उसलाई प्रणाम गरे । शालिग्रामले स्वप्नमा भनेको कुरा बताउँदै सदनालाई शालिग्रामजी फर्काइदिए । ब्राह्मणका कुरा सुनेर सदना कसाईका आँखा रसाए । मनमनै सदनाले मासु बेच्ने कार्यलाई छोड्ने विचार गरे । अब सदनाले भगवान शालिग्राम ठाकुरलाई मेरो कीर्तन राम्रो लाग्छ भने अब म निरन्तर यिनकै कीर्तन नै किन नगरुँ ।

यो पनि पढ्नुहोस्

यसरी भयो पशुपतिनाथको उत्पत्ति

प्रकाशित समय १२:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु