fbpx
Nepal Mediciti

गृहपृष्ठ बहसमा प्रदेश १ को नाम र राजधानी, यस्तो छ सम्भावना

बहसमा प्रदेश १ को नाम र राजधानी, यस्तो छ सम्भावना

कुन जिल्लाका दलहरु के भन्छन् ?

प्रदेश नं. १ सरकारले यसै अधिवेशनबाट प्रदेशको राजधानी र नामाकरण टुंग्याउने तयारी गरेको छ । तर, विभिन्न १४ जिल्लाका राजनीतिक दल तथा सांसदहरुले प्रदेशको राजधानी र नामाकरणका सवालमा फरक–फरक मत राखेका छन् । राजधानी दाबी गर्दै आएका जिल्लाका सांसदहरुले आफ्नै जिल्लालाई केन्द्र बनाएर राजधानी राखिनुपर्ने मत राखेका छन् भने राजधानी दाबी नगर्ने जिल्लाका दल तथा सांसदहरुले सुगमताका हिसाबले राजधानी र सबैको भावना समेटिने गरी नामाकरण गर्नुपर्ने धारणा राखेका छन् ।

के भन्छन् संखुवासभाका दल र सांसद ?
प्रदेश नं. १ को राजधानी र नामाकरणका विषयमा संखुवासभाका राजनीतिक दलबीच फरक–फरक मत देखिएको छ । संखुवासभा जिल्लाका प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपाने प्रदेशको राजधानी पूराना ठाउँमा राख्न नहुने तर्क गर्छन् । उनले प्रदेशको राजधानी बराह क्षेत्र आसपास राखिनुपर्ने र प्रदेश नं. १ को मानव सभ्यता कोसी नदीबाट सुरु भएकाले कोसी प्रदेश नै राखिनुपर्ने बताए । त्यस्तै तत्कालिन नेकपा एमाले संखुववासभाका अध्यक्ष हेमराज घिमिरेले प्रदेशको राजधानी सुनसरीको इटहरी आसपासको क्षेत्रमा बन्नुपर्ने र प्रदेशको नाम कोसी नै हुनुपर्ने बताए । संखुवासभा तत्कालिन माओवादी केन्द्रका नेता कृष्ण जिमिले केन्द्रका हिसाबले इटहरी प्रदेशको राजधानीका लागि उपयुक्त रहे पनि पूर्वाधारका दृष्टिले हालको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी बनाउनुपर्ने बताए । उनले प्रदेशको नाम प्रदेशमा बाहुल्यता रहेको किराँत समुदायको मनोभावना समेट्न भए पनि कोसी किराँत राखिनुपर्ने बताए । नेपाली कांग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ भने राजधानी जहाँ राखे पनि आपत्ति नहुने र नाम सगरमाथाको पक्षमा छन् ।

धनकुटाका दल धनकुटामै राजधानी बनाउन एकमत

धनकुटाका सबै दल नामका विषयमा त्यति चासो नराखे पनि धनकुटालाई नै राजधानी बनाउनुपर्ने पक्षमा उभिएका छन् । धनकुटाका नेकपा प्रदेश सांसद इन्द्रमणि पराजुलीले धनकुटा राजधानी र कोसी प्रदेश नाम राख्नुपर्ने बताए । त्यस्तै सोही जिल्लाकी प्रदेश सांसद लिला सुब्बाले पनि प्रदेश राजधानी धनकुटाको विकल्प नरहेको र नाम सगरमाथा राख्नुपर्ने बताइन् । तत्कालिन नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले पनि धनकुटा राजधानी र सगरमाथा नाम हुनुपर्ने बताए । धनकुटाका तत्कालिन माओवादी केन्द्रका अध्यक्ष उज्वल किराँतीले प्रदेशको राजधानी धनकुटाको विकल्प हुनै नसक्ने बताउँदै प्रदेशको नाम सबैलाई स्वीकार्य हुने कोसी राखिनुपर्ने बताए । त्यस्तै नेपाली कांग्रेस धनकुटाका सभापति अग्नि पौडेलले पनि धनकुटा नै राजधानी बन्नुपर्ने बताउँदै अन्त बनाईए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । उनले नामका सवालमा जुनसुकै भए पनि आपत्ति नहुने बताए ।

राजधानी बृहत र ठूलो क्षेत्रमा बनाइनुपर्छ- तेहथुम

राजधानीका विषयमा तेह्रथुम जिल्लाका प्रमुख दलहरुको समान मत भए पनि नामका विषयमा मत विभाजित छ । जिल्लाका नेकपा सांसद तेजमान कन्दङ्वाले इटहरी, विराटनगर र धरानभित्र चक्रपथ निर्माण गरी सबै उल्लेखित शहर समेटेर राजधानी बनाइनुपर्ने र कोसी–सगरमाथा नाम जोडेर राख्दा सबैलाई चित्त बुझ्दो हुने बताए । नेकपाकै अर्का सांसद लक्ष्मण तिबारीको धारणा पनि समान छ । नेपाली कांग्रेस तेहथुमका सभापति केदार ढुंगानाले पनि राजधानी इटहरी, विराटनगर धरानलाई समेटेर बनाउनुपर्नेमा जोड दिए ।

उदयपुरको छैन एकमत

प्रदेशको राजधानी र नामाकरणका विषयमा उदयपुर जिल्लाका नेताहरुको फरक–फरक मत रहेको छ । तत्कालिन नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत सबै कुराले पूर्ण विराटनगर रहेकाले विराटनगरलाई नै राजधानी बनाउनुपर्ने र प्रदेशको नाम कोसी उपयुक्त हुने बताउँछन् । तत्कालिन उदयपुर माओवादी केन्द्रका अध्यक्ष भीमबहादुर अधिकारीले प्रदेशको राजधानी कोसी टप्पु क्षेत्रमा राखिनुपर्ने बताउँदै प्रदेशको नाम पहिचानका आधारमा किराँत, लिम्बुवान, कोचिला समेटिने गरी राखिनुपर्ने बताए । यस्तै नेपाली कांग्रेस उदयपुरका सभापति विदुर बस्नेत सबै जिल्लाको केन्द्र इटहरी पर्ने भएकाले राजधानी इटहरी बनाइनुपर्ने र नाम सगरमाथा राख्नुपर्ने पक्षमा छन् ।

इटहरी राजधानी बनाउन ताप्लेजुङको एक मत

प्रदेश नं. १ को राजधानी इटहरीलाई बनाइनुपर्ने भन्दै ताप्लेजुङका दलहरु एकमत देखिएका छन् । नेकपा प्रदेशसभा सदस्य बलबहादुर साम्सुहाङले जिल्लाका जनताको भावनाअनुसार केन्द्र इटहरी पर्ने भएकाले राजधानी इटहरी र नाम कोसी किराँत राख्नुपर्ने बताए । त्यस्तै पूर्वमाआवादी केन्द्र ताप्लेजुङका अध्यक्ष खेमप्रसाद बुढाक्षेत्री सांसद साम्सुहाङको मतमा सहमत छन् । नेपाली कांग्रेस ताप्लेजुङ सभापति लिला बोखिम पनि नामका विषयमा चासो नभए पनि राजधानी इटहरीकै पक्षमा छिन् ।

ओखलढुंगा- नाममा एक, राजधानीमा भिन्न मत

ओखलढुंगाका दल तथा प्रदेश सांसदहरुबीच पनि प्रदेशको नाम र राजधानीका विषयमा एकमत छैन । नेकपा सांसद मोहनकुमार खड्काले भने भिन्नै प्रकारको मत राखे । उनले प्रदेशको राजधानी जहाँ राखे पनि आफूहरुलाई अपायकनै पर्ने बताउँदै र नाम सगरमाथा नै उत्तम हुने धारणा राखे । त्यस्तै तत्कालिन नेकपा एमाले ओखलढुंगाका अध्यक्ष मोहनकुमार श्रेष्ठले राजधानी इटहरी आसपासको क्षेत्रमा बन्नुपर्ने र सगरमाथा नाम हुनुपर्ने बताए । नेपाली कांग्रेस ओखलढुंगाका अध्यक्ष प्रदीप सुनुवारले सिमा नजिक विराटनगरमा राजधानी कुटनितिक दृष्टिकोणबाट समेत राख्न नहुने तर्क गर्दै नाम सगरमाथा किराँत राख्नुपर्ने बताए ।

खोटाङ भन्छ ‘इटहरी’

खोटाङका प्रमुख दलका प्रतिनिधिहरुले खोटाङ जिल्लाबासीका लागि राजधानी इटहरी पायक पर्ने भएकाले राजधानी इटहरी बन्नुपर्ने बताए । तत्कालिन एमाले खोटाङका अध्यक्ष बबि चाम्लिङले इटहरीलाई नै केन्द्र मानेर राजधानी बनाइनुपर्ने र नाम किराँत जोडेर राख्दा उपयुक्त हुने बताए । यस्तै नेपाली कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठले इटहरी सवै जिल्लाको केन्द्र पर्ने भएकाले राजधानी इटहरी र नाम सगरमाथा हुनुपर्ने मत राखे ।

सोलुखुम्बु – राजधानी इटहरी वा विराटनगर

सोलुखुम्बुबाट नेकपा र नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने नेताहरुले प्रदेश राजधानी इटहरी वा विराटनगर राख्नुपर्ने बताएका छन् । तत्कालीन एमाले सोलुखुम्बुका अध्यक्ष मानवीर राईले राजधानी इटहरी आसपास हुनुपर्ने बताउँदै राजधानी इटहरी भए राम्रो तर विराटनगर नै भए पनि आपत्ति नहुने बताए । नेकपा नेता तथा तत्कालिन माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष गम्भु शेर्पाले भने सुगमता र सबै जिल्लालाई पायक पर्ने गरी हेर्दा राजधानी इटहरी र धरानको बीचमा राखिनुपर्ने र नाममा सगरमाथामा किराँत जोड्दा प्रदेशका बाहूल्य जनताको भावना समेटिने बताए । नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतको पनि प्रदेशको राजधानी इटहरी आसपास हुनुपर्ने मत छ । नाम सगरमाथा नै हुनुपर्नेमा उनको जोड छ ।

भोजपुर भन्छ – राजधानी धनकुटा वा इटहरी

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत रहेको भोजपुरका प्रमुख दुई दलले प्रदेश राजधानी इटहरी वा धनकुटा हुनुपर्ने बताएका छन् । तत्कालिन एमाले भोजपुरका अध्यक्ष प्रेम राईले तराई पहाड सबैको सुगमताका दृष्टिबाट इटहरी राजधानी बन्नुपर्ने र किराँत सभ्यता र संस्कृतिसँग जोडिएको विषय हुनाले यसैलाई जोडेर कोसी नाम राख्नुपर्ने बताए । त्यस्तै तत्कालिन माओवादी केन्द्र भोजपुरका उपाध्यक्ष दिलकुमार राईले बोर्डर नजिक राजधानी हुन नहुने बताउँदै धनकुटा उपयुक्त हुने र नाममा किराँत जोडिएर आउनुपर्ने बताए । नेपाली कांग्रेस भोजपुर सभापति नन्दमणि राईले पनि प्रदेशको राजधानी धनकुटा र किराँत जोडेर सगरमाथा नाम राख्नुपर्ने बताए ।

इलामको मत पनि उस्तै

तत्कालीन नेकपा एमाले इलामका अध्यक्ष भक्त केसीले राजधानी इटहरी बन्नुपर्ने बताउँदै नाम कोसी प्रदेश राख्नुपर्नेमा जोड दिए । यस्तै नेपाली कांग्रेसका इलाम सभापति हिमालय कर्माचार्यले राजधानीका लागि धनकुटा उपयुक्त हुने बताए ।

दलको निर्णय नै मान्य- पाँचथर

पाँचथरका दलका नेताहरुले प्रदेशको राजधानी र नामाकरणका विषयमा पार्टीको संसदीय दलको निर्णय नै मान्य हुने बताएका छन् । पाँचथर तत्कालीन एमाले अध्यक्ष राजकुमार भण्डारी, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष हर्क नेम्वाङ, नेपाली कांग्रेस पाँचथरका सभापति महेन्द्रकुमार केरुङले नाम र राजधानीको विषय पार्टीले गरेको निर्णय नै मान्य हुने बताए ।

गोठगाउँको पक्षमा झापा

झापाका प्रमुख दुईदल नेकपा र नेपाली कांग्रेसले प्रदेशको राजधानी गोठगाउँ बन्नुपर्ने बताए । नामका सवालमा फरम मत भए पनि राजधानीका विषयमा उनीहरु एक मत छन् । नेकपा झापाका नेता तथा तत्कालीन एमाले झापा अध्यक्ष चिन्तन पाठकले राजधानी गोठगाउँ तथा नाम कोसी रहुनुपर्ने बताए । नेपाली कांग्रेस झापा सभापति रमेश बस्नेतले राजधानी गोठगाउँ उपयुक्त हुने र सगरमाथा नाम राखे सबैले अपनत्व ग्रहण गर्ने बताए ।

विराटनगरलाई राजधानी बनाउन मोरङ एकमत

नामका सवालमा भिन्न धारणा भए पनि विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउन मोरङ जिल्लाका प्राय सबै दल एक मत देखिएका छन् । पूर्वसांसद तथा नेकपा मोरङमा अध्यक्ष ऋषिकेश पोखरेलले विराटनगर आर्थिक, व्यवसायिक, शैक्षिक, स्वास्थ्य, खेलकुद तथा प्रशासनिक केन्द्रका रुपमा रहेकाले राजधानीका लागि उपयुक्त विराटनगर र प्रदेश नं. १ कोसी सभ्यता र संस्कृतिसँग जोडिएकाले कोसी नाम राखिनुपर्ने बताए । त्यस्तै संघीय समाजवादी फोरमका १ नं. प्रदेश संसदीय दलका नेता जयराम यादवले पनि प्रदेशको राजधानीका लागि विराटनगरमा जत्तिको सुविधा र पूर्वाधार अन्त नभएकाले हाललाई विराटनगर बन्नुपर्ने र नाम पहिचान र सामथ्र्यका आधारमा राखिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु पनि प्रदेशको राजधानी विराटनगर बन्नुपर्ने मतमा सहमत छन् । उनले भने ‘सवै पूर्वाधार विराटनगरमा छ । अन्य ठाउँमा राख्न पूर्वाधारमै धेरै खर्च हुने देखिन्छ । त्यसैले राजधानी विराटनगर उपयुक्त हो । नाम कोसी वा सगरमाथा राखे हुन्छ ।

सुनसरी भन्छ– इटहरी

नामका सवालमा भिन्न धारणा भए पनि इटहरीलाई प्रदेश नं. १ को राजधानी बनाउन सुनसरी जिल्लाका प्राय सबै दल एकमत देखिएका छन् । नेकपा नेता रमेश बस्नेत चारै तिरको केन्द्रका हिसाबमा इटहरी राजधानी र प्रदेशको नाम कोशी हुनुपर्ने तर्क गर्छन् । त्यस्तै नेपाली कांग्रेस सुनसरीका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र प्रदेश १ का कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला सवै जिल्लाका लागि केन्द्र इटहरी हुनुपर्ने र देशकै गौरव गर्ने सगरमाथाको नामबाट प्रदेशको राजधानी बन्नुपर्ने बताउँछन् ।

अन्य दलका सांसद र नेता यसो भन्छन्

राष्ट्रिय जनता पार्टी मोरङका अध्यक्ष मो. कादीरले प्रदेशको राजधानी विराटनगर नै बन्नुपर्ने बताए । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले इतिहासका आधारमा प्रदेशको राजधानी विजयपुर र नाम लिम्बुवान किराँत खम्बुवान बन्नुपर्ने बताए । सोही पार्टीकी प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले प्रदेशको राजधानी बीच केन्द्रमा इटहरी भएकाले हिसाबले इटहरी नै बन्नुपर्ने बताइन् । उनले नाम लिम्बुवान किराँत खम्बुवान समेटेर राख्नुपर्ने माग गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य इन्दिरा राईले राजधानी विराटनगर बन्नुपर्नेमा जोड दिएकी छन् भने राष्ट्रिय हितका लागि नाम जे भए पनि पार्टीको आपत्ति नहुने बताइन् ।

यस्तो छ प्रदेशसभाको अंक गणित

प्रदेश नं. १ का १४ जिल्लाका दल तथा नेताहरुको विभिन्न धारणा आए पनि प्रदेशको राजधानी र नामाकरण गर्ने अधिकार प्रदेशसभालाई छ । सर्वसम्मतिबाट निर्णय नभएको खण्डमा दुईतिहाई बहुमतबाट रजधानी र नामाकरणको विषय टुंगो लाग्नेछ । कुल ९३ सदस्यीय प्रदेशसभामा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) को ६७, नेपाली कांग्रेसको २१, संघीय समाजवादी फोरमको ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १÷१ सिट छ । यसरी हेर्दा दुई तिहाई नेकपा एक्लैसँग छ । त्यसकारण प्रदेशको नाम र राजधानीको विषय नेकपा संसदीय दलको निर्णयले नै टुंगो लगाउन सक्नेछ । तर, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले भने यो विषय सर्वसम्मतिले टुंग्याइने बताउँदै आएका छन् । उनले आफूहरुसँग दुई तिहाई रहे पनि अन्य दलको भावना समेटेर जाने आश्वासन दिँदै आएका छन् । वर्षे अधिवेशन अन्त्यका समयमा विराटनगरमा बसेको नेकपा संसदीय दलको बैठकले यो विषय टुंगो लगाई सकेको श्रोतको दाबी छ । यद्यपि, बैठकको निर्णय अझै सार्वजनिक गरिएको छैन ।

प्रकाशित समय १३:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु