गृहपृष्ठ आर्थिक विधेयक अघि बढाउन आग्रह
आर्थिक विधेयक अघि बढाउन आग्रह

नेपाल चेम्बर अफ कमर्शले संसदमा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् ।
अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको गुनासाे व्यक्त गरे । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्नेसम्बन्धी विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहँदा समस्या परेको उनको भनाइ छ ।
अध्यक्ष मल्लले बिमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन आग्रह गरे । ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधिसभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्रसँग सम्बन्धित सबै विधेयकलाई संघीय निर्वाचनअघि पारित गराउन सभामुखलाई आग्रह गर्दछु,’ उनले भने ।
उनले मुलुकमा व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन र उक्त गाँजा निर्यात गरेर व्यापार घाटा कम गर्न सकिने बताए । अध्यक्ष मल्लले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन सभामुखको ध्यानाकर्षण गराए ।
भेटमा सभामुख सापकोटाले संसदमा रोकिएका विधेयक अगाडि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु । बजेटसँग सम्बन्धित विधेयकहरु करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु,’ उनले भने ।
प्रकाशित समय : २०:०१ बजे