fbpx
Nepal Mediciti

गृहपृष्ठ लोकसेवा परीक्षामा सधैं अब्बल २३ वर्षे युवा

लोकसेवा परीक्षामा सधैं अब्बल २३ वर्षे युवा

shyamsundar mahato-news karobar

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आठ जना शाखा अधिकृत कार्यरत छन् । यी आठ शाखा अधिकृतमध्ये एक हुन्, श्यामसुन्दर महतो ।

ओठमाथि भर्खर जुँगाको रेखी बस्दै गरेका महतो प्रशासन सेवातर्फ कार्यरत छन् । मुख्यमन्त्री कार्यालयमा कार्यरत अन्य शाखा अधिकृत र कर्मचारीभन्दा उमेरमा उनी कान्छो भए पनि काम, कर्तव्य र दायित्वबोधको दृष्टिले भने अब्बल छन् । महतोको मेहनत, इमानदारी र कुशल कार्यसम्पादन क्षमताको उनका सहकर्मीसमेत प्रशंसा गर्छन् । जसका कारण उनले अलग्गै पहिचान बनाएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका– १ (साविक लक्ष्मीनिवास गाविस– ३) का बासिन्दा महतो सामान्य परिवारमा जन्मिएका हुन् । उनी पढाइमा भने सानैदेखि तीक्ष्ण थिए ।

गाउँकै लक्ष्मी माविबाट उत्कृष्ट अंकसहित एसएलसी उत्तीर्ण गरेका उनले जनकपुरधामको मिलिनियम क्याम्पसबाट २०७० सालबाट ‘प्लस टु’ पूरा गरे । प्लस टुमा ७३ प्रतिशत अंक प्राप्त गरेका उनी ‘जनकपुर अञ्चल टप’ भएका थिए । २०७३ सालमा राजर्षिजनक क्याम्पसबाट बीएड गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा एमए उत्तीर्ण गरेका छन् । बुवा कपिलदेव र आमा लिलादेवीको दुई छोरामध्ये कान्छो उनी हाल जनप्रशासनमा स्नातकोत्तर र एलएलबी दोस्रो वर्षमा अध्ययनरत छन् ।

स्वअध्ययन, लगाव र आत्मविश्वासका कारण उनले १९ वर्षकै उमेरमा ६ वर्षअघि लोकसेवा आयोगले लिएको परीक्षामा खरिदार तहमा उत्तीर्ण गरी जिल्ला हुलाक कार्यालय धनुषाबाट सरकारी सेवा प्रारम्भ गरेका थिए ।

२०७४ सालमा नायब सुब्बा र शाखा अधिकृतको लिखित परीक्षामा नाम निकाल्न सफल उनी अन्तिम नतिजा प्रकाशन हुँदा सुब्बाको ५ नम्बर वैकल्पिक र शाखा अधिकृतको १० नम्बर वैकल्पिकमा थिए ।

shyamsundar mahato-news karobar

कहिल्यै पनि लोकसेवा आयोगको तयारी कक्षा नलिएका उनले स्वअध्ययनको भरमा २०७५ सालमा नायब सुब्बामा खुला प्रतिस्पर्धामा नाम निकालेर सामान्य प्रशासन मन्त्रालयमा २८ दिन काम गरेका थिए ।

त्यसपछि २०७५ सालमा उनले २३ वर्षकै उमेरमा शाखा अधिकृतको लिखित र मौखिक परीक्षा उत्तीर्ण गरे । २०७५ कात्तिक ४ गते नियुक्ति लिएका उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा २०७५ चैत १८ देखि कार्यरत छन् ।

उनको कामप्रतिको लगाव र इमानदारी देखेर प्रदेश २ सरकारले एक महिने सेमिनारका लागि चीन पठाएको थियो । उनी कार्यालयमा पनि सबैको प्रिय छन् ।

भविष्यमा आफू एक कुशल प्रशासकको रुपमा देशको सेवामा लागिरहने उनी बताउँछन् । ‘लोकसेवाको तयारी कक्षा कहिल्यै लिइनँ । घरमै स्वअध्ययन गरेँ,’ उनी भन्छन् । पढाइप्रतिको लगाव, आत्मविश्वास र लगनशीलता भए लोकसेवाको परीक्षा उत्तीर्ण गर्न कठिन नभएको उनको अनुभव छ । पढाइसँगै लेखन शैली र विवेकको प्रयोग गर्नु पनि लोकसेवा परीक्षाको लागि महत्वपूर्ण हुने उनको सुझाव छ ।

प्रकाशित समय १४:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु