fbpx
corona information

गृहपृष्ठ जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए पक्की घर

जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए पक्की घर

सांकेतिक तस्बिर

झापाको दमक नगरपालिका ३ का अध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिले आफ्नो पारिश्रमिक तथा सेवा सुविधाबापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । बाघखोर चोकबाट करिब किलोमिटरनजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरी घर हस्तान्तरण गरे । उनले पीडित लामिछानेको परिवारमा रहेका अन्य सदस्यसमेत शारीरिक अशक्त रहेकाले सहाराविहीन अवस्था महसुस गर्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाको ‘कोही एक्लो छैन’ भन्ने अभियानलाई सार्थक बनाउन घर निर्माण गरिदिएको बताए ।

लामिछाने परिवारको आफ्नै स्वामित्वमा रहेको करिब ११ धुर जमिनमा जनप्रतिनिधिले चार लाख १५ हजारको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफ्लेले ६५ हजारभन्दा बढी मूल्यबराबरको प्राविधिक खर्च उपलब्ध गराएपछि २० दिन लगाएर घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिए ।

पाँचथर पुर्ख्यौली घर भएका लामिछानेको परिवार करिब ४० वर्षदेखि दमकमा बसोबास गर्दै आएको छ । वृद्धाका पति भीमनारायणको धेरै अघि निधन भइसकेको छ । तीन छोरामध्ये जेठो छोरा अघनबहादुर लामो समयदेखि रोजगारीका लागि भारततिर छन् ।

बुबाको निधनपछि दुःखमा परेको परिवारको भविष्यका लागि भनेर भारततिर पसेका उनी अहिलेसम्म घर फर्किएका छैनन् । ‘म‑यो, बाँच्यो, कहाँ, छ, छैन अहिलेसम्म खोजखबर आएको छैन । देख्ने सुन्नेहरु पनि कोही छैनन्,’ वृद्धा धनमायाले भक्कानिँदै भनिन् ।

माइलो छोरा हरिकृष्णको पनि सात वर्षअघि मृत्यु भयो । कान्छो छोरा अभिचन्द्र शारीरिक अशक्तताले आफन्तको शरणमा छन् । माइली बुहारी इन्दिरा र शारीरिक रूपमा अशक्त एक छोरीका साथमा उनी छिन् । अरु तीन सबल छोरीहरु भने घरजममा छन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ताको माध्यमबाट नै ६ जनाको परिवारको गुजारा चलाउनुपर्ने बाध्यता रहेको पीडित परिवारको दुःखेसो छ । (रासस)

प्रकाशित समय ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु