fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ ‘जग्गाको अपचलन होइन, खर्च उठाउन जग्गा बिक्री’

‘जग्गाको अपचलन होइन, खर्च उठाउन जग्गा बिक्री’

  • बैतेश्वर जग्गा प्रकरण

बैतेश्वर गाउँपालिकाको जग्गा विवाद छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाले गठन गरेको छानबिन समितिले जग्गाको अपचलन नभएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

स्थानीयले दान गरेको जग्गा अपचलन भएको भन्दै सार्वजनिक रुपमा प्रश्न उठेपछि बैतेश्वरले भदौ २३ गते गठन गरेको थियो । प्रतिवेदनमा गाउँपालिकाको स्थायी केन्द्र निर्माणका लागि २८ जना जग्गादाताबाट १३ हजार २५१ वर्गमिटर जग्गा प्राप्त भएकोमा ११ हजार ३९३ वर्गमिटर जग्गा कार्यालय निर्माण हुने क्षेत्रमा ठूलो परिमाणमा दान गर्ने दातालाई सोधभर्ना गरिएको उल्लेख छ ।

निजी जग्गाधनीबाट प्राप्त जग्गामा गाउँपालिकाले वरपर सडक ट्रयाक निर्माण गरी घेराबारसमेत हालेको छ । ‘सुरुमा ७० रोपनी जग्गा प्राप्त होला भन्ने आधारमा बाहिर पनि खुसीका साथ भनियो,’ गाउँपालिका अध्यक्ष छवि लामाले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘तर अहिले ४४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास भइसकेको छ ।’ केन्द्रभित्रकै ७ रोपनी जग्गा दर्ता छैन, तीन रोपनी अलैनी जग्गा छ । केही जग्गा मान्छे बाहिर भएकाले पास हुन बाँकी छ ।

भित्री घेराको जग्गा गाउँपालिकाको नाममा पास गर्न गाउँपालिकाले नै लागेको खर्च व्यहोरे पनि बाहिरी घेराका सट्टा जग्गा व्यक्ति–व्यक्तिका नाममा लग्दा रजिस्ट्रेसन पास, यातायातलगायतका खर्च लागेकाले आन्तरिक रुपमा व्यवस्थापन गरेको उनले बताए । १ हजार ९ वर्गमिटर जग्गा भने रजिस्ट्रेसन र नामसारी जस्ता शीर्षकमा गाउँपालिकाको बजेट खर्चिन नमिल्ने भएपछि जग्गा बिक्री गरेर खर्च उठाएको उल्लेख गरिएको छ । ‘एउटै परिवारमा दाजुभाइको अंशबण्डा गर्दा त कति समस्या हुन्छ, जग्गा सबैले रोजेको हुँदैन,’ उनले भने, ‘यहाँ बाहिरी घेरामा सबैले रोजेकै ठाउँमा जग्गा नपाउँदा पनि सानोतिनो गुनासो आएको छ ।’ बाहिरी घेरामा पछि सट्टामा दिने जग्गासमेत केही अगुवा भन्नेहरुले नै जग्गा नदिएर खोल्साखोल्सीमा जग्गा दिन खोजेको उनले बताए ।

समितिका अनुसार जग्गादाताबाट प्राप्त भएको जग्गा गाउँपालिकाको नाममा ल्याउन गाउँपालिकाले खर्च व्यहोरेको छ । बाहिरी घेरोको जग्गा पुनः चक्लाबन्दी गरी भित्री घेरामा गाउँपालिकाको नाममा जग्गादाताहरुलाई ७५ प्रतिशत सोधभर्ना गरिएको छ । बाहिरी घेराको जग्गा लिएर पुनः नागरिकलाई सोधभर्ना गर्दा निजी जग्गा किनबेच हुने भएको र त्यसको खर्च सरकारी कोषबाट गर्न नमिल्ने व्यवस्था छ । जग्गादाताकै नाममा रजिस्ट्रेसन पास गर्न झन्डै १० लाख रकम खर्च भएको ६ नं. वडाका अध्यक्ष एवं संयोजक घिसिङले बताए ।

उनका अनुसार सबै निर्णय गाउँकार्यपालिकाद्वाारा गठित जग्गा व्यवस्थापन समितिले प्रचलित नियमअनुसार नै गरेको जनाए । त्यसरी बिक्री गरिएको १ हजार ९ वर्गमिटर जग्गा स्थानीय सीता आचार्य र निर्मला घिसिङलाई ६ सय वर्गमिटर र मनमाया दाहाल, लालकुमारी तामाङ र कमला तमाङलाई ४०९ वर्गमिटर बिक्री गरी प्राप्त रकमले जग्गासम्बन्धी खर्च व्यवस्थापन गरिएको हो ।

स्थानीयले भने उनीहरु वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिका आफन्त रहेको बताएका छन् । छानबिन समितिले जारी गरेको विज्ञप्तिमा जग्गा व्यवस्थापन समितिका सदस्यहरु बालकुमार दाहाल र पदमबहादुर दाहालको नाममा नपुग जग्गा दाताहरुलाई उपलब्ध गराउन ८४९ वर्गमिटर बाँकी रहेको जनाइएको छ । उक्त जग्गा पहिलो घेरामा ठूलो परिमाणमा दान दिने दाताहरुलाई सोधभर्ना गर्न राखिएको भए पनि दाताहरुबीच सहमति भइनसकेकाले बाँकी रहेको हो ।

गाउँपालिकाले जग्गा कित्ताकाट गर्न रोक लगाएकाले तत्काल खर्च उठाउन संयुक्त नाममा पास गर्नुपरेको उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । बाहिरी घेराको जग्गा व्यवस्थापनका लागि बालकुमार र पदम दाहाल गाउँपालिकाले नाममा एकमुष्ट ल्याएर पुनः कित्ताकाट गरी २५ प्रतिशत कटाएर ७५ प्रतिशत जग्गा जग्गाधनीलाई फिर्ता गरिएको हो ।

गाउँपालिका केन्द्रवरपर तत्काल बस्ती बसाउनका लागि पहिला जनप्रतिनिधिका आफन्तले नै स्थानीयसँग जग्गा किनबेच सुरुवात गरेका थिए । ‘जनप्रतिनिधिहरुले जग्गा किनबेच गर्न मिल्दैन ?’ अध्यक्ष लामाले उल्टै प्रश्न गरे । लामाकी श्रीमती आइती तमाङले पदमबहादुर दाहालबाट २५५ वर्गमिटर जग्गा खरिद गरेकी थिइन् ।

पत्रकार सम्मेलनमा उपस्थित भएका केही जग्गादाताहरुले भने सोधभर्ना गर्ने भनिएको जग्गा व्यवस्थापन समितिका सदस्यहरुले स्वार्थ राख्दै वितरण गरिएको आरोप लगाएका छन् । जग्गा दाता पदम दाहालले आफूहरुको एउटै परिवारबाट ठूलो परिमाणमा जग्गा दान गरे पनि कमजोर जग्गा दिन खोजेकाले अहिलेसम्म जग्गा लिन नसकिएको बताए । उनले भने, ‘हामीले यति फराकिला पाटा दियौं तर त्यसको सट्टा पाखो आकारको जग्गा दिन खोजियो ।’

अर्का जग्गादाता हरिबहादुर दाहालले व्यवस्थापन समितिका सदस्यहरुकै कारण यो समस्या आएको बताए । गाउँपालिकाले उचित सम्मान हुनेगरी जग्गा वितरण गर्नुपर्ने उनको माग छ । जग्गा व्यवस्थापन समितिका सदस्य बालकुमार दाहालले भने गाउँपालिकामा प्राप्त भएको जग्गा समानुपातिक रुपमै वितरण गरिएको बताए ।

गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जनप्रतिनिधिका आफन्तले जग्गा किनबेच गर्न नपाउने व्यवस्था नरहेकाले पैसा हालेर किनेको बताए । नाङ्गा डाँडामा बस्ती विस्तार गर्नका लागि पहिला जनप्रतिनिधिका आफन्तले जग्गा किनबेच गरेका हुन् ।

नेकपाको छानबिन प्रतिवेदन केही दिनमै

बैतेश्वर जग्गा प्रकरणमा छानबिन गर्न नेकपा वैतेश्वर गाउँपालिका कमिटिले पनि छानबिन समिति गठन गरेको थियो । सात सदस्यीय समितिले आवश्यक अध्ययन गरी जिल्ला पार्टी कमिटीलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रकाशित समय १३:४७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु