fbpx
corona information

गृहपृष्ठ काठमाडौं महानगर ४ मा विकासको काम द्रुत गतिमा

काठमाडौं महानगर ४ मा विकासको काम द्रुत गतिमा

काठमाडौँ महानगरपालिका ४ का अध्यक्ष मोहन विष्टले वैशाख ४ गते न्युजकारोबारसँगको अन्तर्वार्तामा भनेका थिए‑ विकास हेर्न हाम्रो वडा आउनुपर्छ । उनलाई कति गरियो भन्ने पूर्ण जानकारी नभए पनि वडा नम्बर ४ घुम्ने जोकोहीले पनि चिल्ला र सफा सडक देख्नेछ । विकासको यो एउटा पूर्वाधार हो ।

ढल व्यवस्थापन र सहायक सडकमा बिच्छ्याइएका ब्लकका कारण वडाबासी वडाका कामप्रति सन्तुष्ट छन् । यहाँका सानातिना विकासका काम र स्थानीयका गुनासामा पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्का जुझारु प्रदेश सांसद नारायण सिलवालको चासो रहन्छ ।

बागमती प्रदेशका सांसद सिलवालसहितको टोलीले बिहीबार पनि वडाको विकास कार्य र आयोजनाको निरीक्षण गरेको छ । उनीहरूले स्थानीयबासीसँग वडाका कामका विषयमा प्रतिक्रिया मागेका थिए । ‘वडाले अहिलेसम्म राम्रो काम गरेको छ,’ श्यामबहादुर हमालले भने, ‘वडाध्यक्षको पहलमा भएको विकास आयोजनाबाट हामी सन्तुष्ट छौं ।’

स्थानीय अलिन देवकोटाले छाडा कुकुरको समस्या समाधान गर्न जनप्रतिनिधिलाई आग्रह गरे । ‘यहाँ छाडा कुकुरले धेरै दुःख दिएका छन्,’ उनले भने, ‘वडाले कुकुर व्यवस्थापनको काम गरोस् ।’

जनप्रतिनिधिले स्थानीयबासीका गुनासा र विकासका बाँकी काम छिट्टै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । संसद सिलवालले जनताको काम छिटो सक्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । ‘जनताको मियो भनेको जनप्रतिनिधि हो,’ उनले भने, ‘जनता र जनप्रतिनिधि मिले मात्र विकासले गति लिन्छ । यसलाई मैले नमुना वडाको रुपमा लिएको छु । प्रदेशबाट के सहयोग गर्नुपर्छ, त्यसका लागि म पहल गर्छु ।’

जवाफमा अध्यक्ष विष्टले वडाको ८० प्रतिशत काम सकिएको बताए । ‘वडाले विकास निर्माणका ८० प्रतिशत काम सकेको छ बाँकी काम पनि छिट्टै सकाउँछौं  । वडाबासीकै सहयोगले गर्दा विकासका काम द्रुत गतिमा भएको हो । वडा सदस्यहरुको भूमिका पनि उत्तिकै छ । अझै साथ र सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने ।

 

वडाले खेलकुदको विकासका लागि बालुवाटारमा ब्याटमिन्टन कोर्ट निर्माण गरिरहेको छ । युवालाई लक्षित गरेर ब्याटमिन्टन कोर्ट बनाउन लागिएको विष्टले जानकारी दिए ।

वडाको शीतलमार्ग, लम्टङ्गिन मार्ग र बक्ररेखा गल्लीमा ब्लग बिच्छाउने काम भइरहेको छ । त्यस्तै डोचामार्ग, अनेक गल्ली, दीपकुमारी मार्ग र हरिमार्गमा ढल हाल्ने तथा ढुंगा बिच्छयाउने काम भइरहेको छ । विशाल मिलन केन्द्र, प्रगति टोल, वंशिधर मार्ग, गोमती मार्ग, सुखी मार्ग र गैरीमार्गमा ढलान र ब्लग बिच्छाइएको  अध्यक्ष विष्टले बताए ।

प्रकाशित समय ११:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु