fbpx
corona information

गृहपृष्ठ बेलकाकी उपमेयरले दुई तिहाइको आफ्नै सरकारलाई धिक्कारिन्

बेलकाकी उपमेयरले दुई तिहाइको आफ्नै सरकारलाई धिक्कारिन्

Rajkumari_NewsKarobar

उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले आफूले पदबाट राजीनामा दिइ नसकेको बताएकी छिन । सामाजिक सञ्जाल फेसबुकमा ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण  गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु’ लेखेपछि उनले राजीनामा दिएको हल्ला चलेको थियो ।

‘मैले पदबाट राजीनामा दिइसकेकी छैन, जनतासँग माफी मागेको हो । नगरपालिकामा भएको भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदा सुनुवाइ नभएपछि यो घोषणा गर्नु परेको हो,’ चौधरीले भनिन्।

उनले नगरपालिकामा पंखादेखि स्क्याभेटर खरिदसम्म भ्रष्टाचार भइरहेको विषयमा आफूले डेढ वर्षदेखि बारम्बार आवाज उठाए पनि त्यसका सुनुवाइ नहुँदा आफू यो कदम उठाउन बाध्य भएको बताइन् ।

‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण  गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको छु,’ चौधरीले फेसबुकमा लेखेकी छिन् ।

यद्यपि, उनले राजीनामा भने दिइनसकेको बताइन्। ‘मैले नेकपा बेलका नगर कमिटीमा नगरपालिकामा भएको मनोमानी र भ्रष्टाचारका विषयमा उजुरी गरेँ, नगर कमिटीले कार्यपालिकामा कुरा राख्ने भने पनि केही कदम उठाएन,’ उपमेयर  चौधरीले भनिन, ‘कम्प्युटर सहायक अप्रेटर सन्तोष पौडेलले गरेका भ्रष्टाचारका विषयमा मेयरले ढाकछोप गर्दै आउनु भयो ।’

तर,  नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ति) भने सन्तोष पौडेलका बारेमा कुनै उजुरी नपरेको, गुनासो नसुनिएको एकै पटक कारबाहीका माग हुँदा आश्चर्यचकित भएको बताए ।

‘पौडेल खरिद शाखाका कर्मचारी पनि होइनन्, साधारण कम्प्युटर टाइप गर्ने कर्मचारी हुन् । उनीबारे प्रश्न उठेपछि मैले प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई आवश्यक प्रक्रिया पुर्‍याइ करार नवीकरण नगर्न भनेकै छु,’ मेयर थापाले भने, ‘कार्यपालिकाको बैठकको मेयर बस्नेमात्र होइन, सबै जनप्रतिनिधि बसेका ठाउँमा छलफल हुने ठाउँ हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि भने प्रश्न उठेको हो ।’

मेयर थापाका अनुसार प्रमुख प्रशासकीय अधिकृत जोशीले नगरपालिकाका चार जना कर्मचारीले दुर्व्यवहार गरेको आरोप लगाएपछि उनीमाथि प्रश्न उठेको थियो । सम्बन्धित कर्मचारीले माफी दिने भनिसकेपछि विषय टुंग्याउनेसम्म निर्णय भएको मेयर थापाले बताए ।

कार्यपालिका बैठकमा स्वास्थ्य शाखाका कर्मचारी कमल चौधरी, कम्प्युटर शाखाका कर्मचारी सन्तोष पौडेललगायतले दुर्व्यवहारको आरोप लगाएपछि प्रमुख प्रशासकीय अधिकृत जोशी बिहीबारै विदा लिएर हिँडेका छन्।

‘नगरपालिकामाथि कुनै प्रश्न उठेमा, नगरपालिकाका कुनै खरिदमा प्रश्न उठेको भए खुला छानबिन होस्, म आफै पारदर्शिताका पक्षधर हुँ,’ मेयर थापाले भने, ‘कुन विषयमा कुन क्षेत्रमा भ्रष्टाचार भएको छ भन्ने आरोप आएको छ, ती विषयमा सार्वजनिक सुनवाइ गरेर म जवाफ दिन तयार छु ।’

 

प्रकाशित समय ११:५४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु