fbpx
corona information

गृहपृष्ठ जनकपुरधाम उपमहानगरपालिकाका पाँच वडाका अध्यक्ष धर्नामा

जनकपुरधाम उपमहानगरपालिकाका पाँच वडाका अध्यक्ष धर्नामा

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्रको कार्यशैलीको विरोधमा जनकपुरका पाँच जना वडाध्यक्षसहितका जनप्रतिनिधि आन्दोलित भएका छन् । मंगलबार बिहान १० बजेदेखि कार्यालयको मुख्य गेटमै धर्नामा बसेका उनीहरुले नाराबाजी गरिरहेका छन् ।

धर्नामा वडा नं. ७ का अध्यक्ष जानकीराम साह, वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नं. १० का अध्यक्ष मिथिलेश कर्ण, वडा नं. ९ का अध्यक्ष परमेश्वर साह र वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साहलगायतका जनप्रतिनिधि बसेका छन् । असन्तुष्ट वडाध्यक्षहरुले कालोपट्टी बाँधेर नगरको हरहिसाबमा पारदर्शिताको माग गरेका छन् । उनीहरुले नगरको हिसाबकिताबमा भ्रष्टाचार भएको भन्दै उनीहरुको राजीनामा माग गरेका छन् ।

यसअघि असार ८ गते साँझसम्म जनकपुरधाम उपमहागरपालिकाको सभाकक्षमा बसेको बोर्ड बैठकमा जनप्रतिनिधिहरुबीच भएको विवादले उग्ररुप लिएपछि बैठक कक्षका एक दर्जनभन्दा माथि कुर्सी असन्तुष्ट वडाध्यक्षहरुले तोडफोड गरेका थिए । उनीहरुले माइन्युटसमेत च्यातेका थिए ।

नगरको योजना तर्जुमा समितिको छलफल बैठकमा प्रमुख साह र उपप्रमुख मिश्रलगायतका वडाध्यक्ष र चार जना असन्तुष्ट वडाध्यक्षबीच नगरको योजना र खर्चको हिसाबकिताब पारदशिताको सवालमा हात हालाहाल हुँदा वडा नम्बर १० का ५५ वर्षीय अध्यक्ष मिथिलेश कर्ण भुइँमै लडेका थिए ।

नगर प्रमुख साहले योजना तर्जुमाको माइन्युटमा जबर्जजस्ती हस्ताक्षर गर्न च्यातिएको वडा नं. ७ का अध्यक्ष जानकीराम साहले बताए । योजना तर्जुमाबारे २४ घण्टा पहिले नै जानकारी गराउनुका साथै अध्ययनका लागि प्रतिवेदन दिनुपर्ने भए पनि एक्कासि हस्ताक्षर गर्न लगाएपछि विरोध गर्दा प्रमुखका मान्छेहरुले दुव्र्यवहार गरेको वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साहले दाबी गरे ।

जनकपुरधाम उपमहागरपालिकाले निर्माण गरेको बैठक सञ्चालनसम्बन्धी कार्यविधिसम्बन्धी १२ नम्बर बुँदाको १ मा २४ घण्टा पहिले जानकारीसहित अध्ययनका लागि प्रतिवेदन दिनुपर्ने उल्लेख छ । तर, नीति तथा कार्यक्रम अध्ययन गर्न नै नदिई सिधै बोर्ड बैठकमा उपलब्ध गराइएकाले अलोकतान्त्रिक विधिको विरोध गरेको वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंहले बताए ।

वडाध्यक्ष जानकीराम साहले माइन्युट च्यातेपछि असन्तुष्ट वडाध्यक्षहरुलाई प्रहरी बोलाएर नगरको मुख्यगेटमा ताला लगाएर भित्र बन्दी बनाएर राखेको वडा नं. ९ का अध्यक्ष परमेश्वर साहले गुनासो गरे ।

उपप्रमुख मिश्रले भने बोर्डको बैठक सुरु हुनै नदिएर वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले माइन्युट च्यात्ने, बैठक कोठाको कुर्सी तोडफोड गर्ने र होहल्ला गरी बैठक भाँड्नेलगायतका काम गरेको बताइन् । बैठक सुरु भएपछि सम्पूर्ण हरहिसाब सम्पूर्ण कार्यपालिका सदस्य तथा जनप्रतिनिधिलाई उपलब्ध गराउने योजना रहेको भए पनि बैठक सुरु हुनै नदिएर वडाध्यक्षहरुले गैरक्रियाकलाप गरेकाले कारबाही गरिने उनले स्पष्ट पारिन् ।

प्रकाशित समय १३:४८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु