fbpx
corona information

गृहपृष्ठ ठोरी गाउँपालिकाले परीक्षा भएको सात महिनासम्म नतिजा सार्वजनिक गरेन

ठोरी गाउँपालिकाले परीक्षा भएको सात महिनासम्म नतिजा सार्वजनिक गरेन

परीक्षा भएको सात महिना बितिसक्दा पनि पर्साको ठोरी गाउँपालिकाले एमआईएस अपरेटर र फिल्ड सहायक पदको नतिजा प्रकाशनमा बेवास्ता गरेको छ । एमआईएस अपरेटर र फिल्ड सहायक पदमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाले ठोरीका लागि करारमा भर्ना अनुमति दिएका दुवै पदको नतिजा प्रकाशनमा गाउँपालिका कार्यालयले बेवास्ता गरेको हो ।

गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले भने एकजनाले ‘परीक्षामा सरिक हुन नपाएको’ भन्दै निवेदन दिएका कारण अन्तिम परीक्षाफल प्रकाशन गर्न नसकिएको बताए । ‘परीक्षा भएको भोलिपल्ट नै विभागमा निवेदन दिएको रहेछ, सहीकारण परीक्षाफल रोकिएको हो,’ उनले भने । तर, ‘विभागले गाउँपालिकालाई जेठ ३० गते पत्र नै पठाएर तत्काल अन्तिम नतिजा सार्वजनिक भनेको छ नि ?’ भन्ने प्रश्नमा उनले जिल्ला प्रशासन कार्यालयसँग पनि कुरा भइरहेको बताउँदै टारे ।

गाउँपालिकाको सेवा इकाइमा दुवै पद रिक्त हुँदा सेवाग्राही मर्कामा परेका छ्न् । नतिजा पर्खिरहेका परीक्षार्थीहरू पनि पटक पटक गाउँपालिका पुग्ने गरेका छन् । गाउँपालिकाका अधिकृत धर्मराज थापाले असार १ गते नतिजा हुन्छ भने पनि नभएको एक परीक्षार्थीले बताए ।

राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागले जेठ ३० गते अन्तिम नतिजा प्रकाशनका लागि ताकेता गरेको छ । पत्र पाउनेबित्तिकै गाउँपालिका कार्यालयले असार १ गते जानकारी गराउने भन्दै विभागले अनुरोध गरे पनि असार १ गते जानकारी गराइएन । सोमबार यसबारे सोध्दा गाउँपालिका अध्यक्ष श्रेष्ठले अझै केही समय लाग्ने र परीक्षामा सहभागी हुन नपाएका परीक्षार्थीको विषयमा टुंगो लागेपछि मात्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने जिकिर गरे ।

स्थानीय बासिन्दा र परीक्षार्थीले भने नतिजा प्रकाशनमा राजनीति भइरहेको आरोप लगाएका छन् । ‘कसले के आरोप लगाउँछ भन्दा पनि नियम संगत जानुपर्ने भएकाले रोकिएको हो,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यसमा राजनीति भएको छैन, हुनुपर्ने पनि छैन ।’

प्रकाशित समय १४:४३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु