fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोलाको पञ्चवर्षीय योजना तयार

समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोलाको पञ्चवर्षीय योजना तयार

फाइल तस्बिर

‘समृद्ध ताराखोला’ को लक्ष्यसहित जिल्लाको ताराखोला गाउँपालिकाले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । गाउँपालिकाले विज्ञ, परामर्शदातालगायतको सहयोगमा आवधिक योजनालाई अन्तिम रुप दिएको हो । पाँच वर्षका लागि योजनाबद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

योजनाको मस्यौदा छलफल तथा सुझाव संकलनका लागि सुरुमा वडा तहमा पठाइएको थियो । गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, विषयगत शाखाका प्रमुख, विज्ञलगायतको टोलीले आवधिक योजनाको मस्यौदा बनाएका थिए ।

‘पञ्चवर्षीय योजना अब कार्यान्वयनमा जान्छ,’ अध्यक्ष घर्तीले भने, ‘यो ताराखोलाको सपना र भविष्यसँग जोडिएको छ ।’ पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’ को लक्ष्यसमेत किटान गरेको छ । साना उद्योगको प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि ‘उद्योग ग्राम’ सञ्चालन गरिने उल्लेख छ । परम्परागत र सीपमूलक व्यवसायलाई उद्यमका रुपमा विकास गर्ने योजना छ । बाँझो जग्गालाई भूमि बैंकको अवधारणामा एकीकृत गरी व्यावसायिक कृषि खेतीलाई विस्तार गरिने भएको छ ।

‘खाली रहेका खेतीयोग्य जमिन निश्चित समयका लागि गाउँपालिकाले लिने र व्यावसायिक किसानलाई दिने योजना छ,’ अध्यक्ष घर्तीले भने, ‘छुट्टै कार्यविधि बनाएर यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’

एकीकृत नमुना कृषि ‘फार्म’ का लागि संघीय सरकारबाट चालु आवमा २ करोड रूपैयाँ बजेट छुट्टिएको र उक्त योजना सञ्चालनका लागि गुरुयोजना निर्माणको काम अघि बढेको जनाइएको छ । न्यून आय भएका किसानको आयआर्जन सुधारमा पनि गाउँपालिकाले सघाउने नीति लिएको छ ।

पाँच वर्षभित्र गाउँ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे, गाउँपालिकाभित्रका मुख्य सडकको स्तरोन्नति र कालोपत्रे गर्ने योजना छ । गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई विशेष जोड दिइएको छ ।

सडक बोर्डले रणनीतिक सडकका रूपमा लिएको रिजालचोक-अमरभूमि-तारा-म्याग्दी सहिद मार्गलाई गाउँपालिकाले पनि रणनीतिक सडकमार्गका रूपमा स्वीकार गरेको छ । गलकोट नगरपालिका हुँदै ताराखोला गाउँपालिका जोडिने सडक पाँच वर्षभित्र स्तरोन्नति र कालोपत्रे गरिने आवधिक योजनामा उल्लेख छ ।

पर्यटनतर्फ घरवास (होमस्टे) कार्यक्रमलाई थप व्यवस्थित र सम्भावित ठाउँमा नयाँ विस्तार गरिने उल्लेख छ । नयाँ गन्तव्य पहिचान र पर्यटनमैत्री पूर्वाधार निर्माणमा पनि गाउँपालिकाको जोड छ । शिक्षा, स्वास्थ्यका कार्यक्रमलाई पनि प्रभावकारी र परिणामुखी बनाइने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले बताइन्यो । ‘योजनाबद्ध रूपमा विकास गतिविधि अघि बढाउँछौँ,’ उनले भने, ‘स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै उद्यम विकास, रोजगारी प्रवर्द्धन र उत्पादनमा आत्मनिर्भर गाउँपालिका बनाउने हाम्रो लक्ष्य छ ।’

कृषितर्फ आलुखेती, पशुपालनमा बाख्रा, भेंडा र भैँसीपालनमा ताराखोला आत्मनिर्भर छ । वनमा आधारित उद्यम विकासको पनि उत्तिकै सम्भावना छ । ताराखोलाबाट आलु, भाँगो, अल्लोका कपडा, नेपाली हाते कागज, काठ, जडीबुटीलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ ।

आगामी पाँच वर्षभित्र पाँचवटै वडामा शुद्ध पिउने पानी, बिजुली बत्तीलगायतका आधारभूत सुविधा पुर्‍याइने उल्लेख छ । वातावरण संरक्षणतर्फ गाउँपालिकाको वडा नं २ मा पर्ने चरीखोला तालको संरक्षण गरिने भएको छ । बहुपहिचान झल्कने सांस्कृतिक संग्रहालय निर्माणको योजना पनि अघि सारिएको छ ।

पञ्चवर्षीय योजना कार्यान्वयमा जनशक्ति अभाव, भौगोलिक कठिनाइ, नागरिक सशक्तीकरणको कमीलगायत चुनौतीका रूपमा लिइएको छ । गाउँपालिकाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाईसमेत पञ्चवर्षीय योजनाबारे जानकारी गराइसकेको छ । (रासस)

प्रकाशित समय १२:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु