fbpx
Nepal Mediciti

गृहपृष्ठ रतुवामाईमा भ्रष्टाचार भएको स्थानीयको आरोप, नगर प्रमुख भन्छन्- राजनीति भयो

रतुवामाईमा भ्रष्टाचार भएको स्थानीयको आरोप, नगर प्रमुख भन्छन्- राजनीति भयो

मोरङको रतुवामाई नगरपालिकामा विकास निर्माणका काममा भ्रष्टाचार भएको स्थानीयले आरोप लगाएका छन् । नगरपालिका प्रमुख रवीन राई, इन्जिनियर र वडाध्यक्षकै मिलेमतोमा विकास निर्माणका काममा भ्रष्टाचार भएको उनीहरुको आरोप छ ।

स्थानीयको आरोप
आर्थिक वर्ष २०७५/०७६ मा स्थानीयले समिति नै बनाएर स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग कृषि संकलन केन्द्र निर्माणको योजना माग गरेका थिए । योजना माग गरेको केही महिनामै तराई मधेस समृद्धि कार्यक्रममार्फत ९४ लाख ५१ हजार ५५७ रुपैयाँ बजेट स्वीकृत गरी मन्त्रालयले नगरपालिकालाई पठायो । तर, कृषि संकलन केन्द्र निर्माण गर्नुपर्ने बजेटबाट नगरपालिकाले सार्वजनिक शौचालय, नाला र ढल निर्माण गरेको स्थानीयको आरोप छ । स्ल्याब बनाएको पनि दुई महिना नबित्दै भत्किसकेको स्थानीय नेवालाल राजवंशीले बताए ।

स्थानीय हरिप्रसाद शाहले विकासमा मेयरले राजनीति गरेको भन्दै असन्तुष्टि जनाए । ‘जुनसुकै पार्टीको सरकारले बजेट पठाएको भए पनि हाम्रै ठाउँको विकासका लागि थियो,’ उनले भने, ‘यसमा मेयरले राजनीति गर्न खोज्नुमात्रै भएको छैन, चरम भ्रष्टाचारसमेत भएको छ ।’ नगर प्रमुख राई नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

नगर प्रमुख राईले कम्युनिस्ट नेतृत्वको सरकारले बजेट पठाएर जस लिन खोजेको भन्दै सो कार्यक्रम कुनै हालतमा कार्यान्वयन गराउन नखोजेको स्थानीयको आरोप छ । ‘त्यही भएर लामो समयसम्म टेन्डर प्रक्रियामा लगिएन,’ स्थानीय अवधेशकुमार ठाकुरले भने, ‘आर्थिक वर्षको अन्त्यमा बजेट फ्रिज हुने देखिएपछि नगरपालिकाले हतार हतार सार्वजनिक शौचालय र ढल निर्माणको ठेक्का लगाएको हो ।’

अर्का स्थानीय सुरजकुमार श्रेष्ठले योजनाअनुसार नभएर अर्कै काम भए पनि बजेटअनुसार काम नभएको आरोप लगाए । ‘ठिकै छ कृषि केन्द्र बनेन, नबनोस् तर शौचालय र नाला बनाए पनि किन यति कमसल ?’ उनले प्रश्न गरे, ‘बनेको दुई महिना पूरा भएको छैन भत्किसकेको छ । यो कस्तो विकास हो ?’

झुर्कियाका जनताले अधुरो काम पूरा गर्न र न्यून गुणस्तरलाई सुधार गरेर काम पूरा गर्न माग गरेका छन् । स्थानीय रामो शर्मा, नाजिर आलम, जमारत मियाँलगायतले झुर्कियाका बासिन्दाले सो कामलाई तत्काल पूर्णता नदिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नगर प्रमुख राई के भन्छन् ?
रतुवामाई नगरपालिका प्रमुख रवीन राईले भने स्थानीयसँगै सरसल्लाह गरेर कृषि संकलन केन्द्र निर्माण अघि बढाइएको तर आयोजना सम्पन्न नहुँदै र नबुझिकन प्रश्न उठाइएको बताए । कृषि संकलन केन्द्रअन्तर्गत नै ५५९ मिटर नाला, सात कोठे शौचालय, एउटा सेफ्टी ट्यांक र सोकापेट निर्माण गरिएको उनले जानकारी दिए ।

कृषि संकलन केन्द्रका लागि माथिबाटै बजेट कम आएकाले पहिलो चरण डिपिआर पूरा गरेर नाला, ढल तथा शौचालय निर्माण गरिएको उनले बताए । ‘म आफैं भ्रष्टाचारविरोधी अभियन्ता पनि हुँ,’ उनले भने, ‘अनाहकमा यति ठूलो राजनीति भयो कि म आफैं अचम्ममा परिरहेको छु । यो तहको राजनीतिले कसरी समृद्ध नेपाल बन्छ ?’

स्थानीयलाई भड्काउन जनप्रतिनिधि नै लागिरहेको उनको आरोप छ । ‘भ्यु टावरसहित कृषि संकलन केन्द्र बनाउने गरी ५ करोडको डिपिआर भएको छ,’ नगर प्रमुख राईले भने, ‘असार २५ सम्म सम्पन्न गर्ने गरी पहिलो चरणको कामका ठेक्का लगाइएको हो, यो सबै कुरा सार्वजनिक सुनुवाइ राखेर जनतालाई स्पष्ट पार्छु ।’

स्रोतको कमी भएका कारण आयोजना निर्माणले गति लिन नसके पनि प्राविधिककै सहयोग जे काम पहिला गर्नुपर्ने हो त्यही काम गरेको उनको प्रस्टोक्ति छ । तर, दुई वर्षपछिको चुनावका लागि अहिल्यै जनता भड्काउने काम सुरु भएको प्रमुख राईले बताए ।

प्रकाशित समय १६:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु